सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यूबाट भेट

आज मिति २०७४ साल मंसिर २८ गते बिहीबारका दिन  सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति कार्यालय शीतलनिवासमा भेट गर्नुभयो । भेटका अवसरमा सम्माननीय प्रधानमन्त्रीले हालै सम्पन्‍न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको परिणाम र समानुपातिकतर्फको मतगणाना भइरहेको विषयमा जानकारी गराउनु भयो ।

सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले नेपालको संविधान कार्यान्वयनमा महत्वपूर्ण कोशेढुंगाको रुपमा रहेको निर्वाचन निर्दिष्ट समयभित्रै शान्तिपूर्णरुपमा ठूलो जनसहभागिताका साथ उल्लासमय वातावरणमा सम्पन्‍न भएकोमा नेपाल सरकार, निर्वाचन आयोग, राजनितिक दल, निजामती, नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान, सशस्त्र प्रहरीलगायत सम्पूर्ण राष्ट्रसेवक तथा आममतदातालाई हार्दिक धन्यवाद दिनुभयो ।

सम्माननीय राष्ट्रपतिज्यूले सम्पन्‍न निर्वाचनबाट मुलुकमा राजनीतिक स्थिरता हुने कुरामा विश्‍वास व्यक्त गर्दै सामाजिक आर्थिक रुपान्तरणसहित समृद्धि हासिल गर्ने जनआकांक्षालाई सफल पार्न सबै राजनीतिक दलबीच सहमति र सहकार्यको निरन्तरतामा जोड दिनुहुँदै यस पुनीत कार्यमा आमजनताको रचनात्मक सहयोग र समर्थन रहने अपेक्षा गर्नुभएको छ ।

(कुल प्रसाद चुडाल)

प्रवक्ता