सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा दिनुभएको शुभकामना सन्देश

वसन्त पञ्चमी तथा सरस्वती पूजा शुभकामना सन्देश

विद्या, बुद्धि, कला र संगीतको उन्नयनसँग गाँसिएको मौलिक पर्वका रूपमा मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

वसन्त पञ्चमीलाई सरस्वती प्रकट भएको दिन अर्थात् सरस्वती जयन्ती मानेर सरस्वतीलाई विद्याकी देवीका रूपमा पूजा–आराधना गर्ने प्रचलन वैदिक कालदेखि नै चलिआएको छ । ऋग्वेदमा वाग्देवी अर्थात् वाणीकी देवी मानिएकी सरस्वती भएजस्तै बौद्ध सभ्यतामा ज्ञानका बुद्धलाई मन्जुश्रीका रूपमा उपासना गरिन्छ । ज्ञानका स्रोत मानिने पुस्तकसहित संगीतका वाद्ययन्त्र तथा रङ्ग–कलाका साधनलाई समेत सरस्वतीकै स्वरूप मानेर पूजा गर्ने परम्परा छ । वसन्त पञ्चमीले एकातिर ज्ञानमा अन्तर्निहित शक्तिको पहिचान गरी त्यसलाई उत्सवमय बनाउँछ भने अर्कोतिर मानवजातिलाई असल र खराब छुट्याई असल मात्रलाई ग्रहण गर्ने आन्तरिक प्रकाशको खोजी गर्न निरन्तर उत्प्रेरित गर्दछ ।

नेपालका धेरै सांस्कृतिक पर्व र परम्परा जस्तै वसन्त पञ्चमी पनि प्रकृतिसँग अन्योन्याश्रित रूपले जोडिएको छ । जाडोयाम सकिएर वसन्त ऋतुको आगमन हुँदा प्रकृतिले नवीनता पाउँछ । स्रस्टाहरू वसन्त ऋतुलाई सिर्जनाको प्रतीक मान्दछन् । किसानका निम्ति वसन्त पञ्चमी नयाँ बाली लगाउन प्रकृतिले दिएको अवसरका रूपमा लिइन्छ । त्यसैले पर्यावरणको दिगो संरक्षण गर्दै मानव विकासको अवधारणालाई मूर्तरूप दिन आजका दिनले प्रेरणा प्रदान गर्दछ भन्ने मलाई लागेको छ ।

सरस्वतीपूजाको सबैभन्दा ठूलो सन्देश बाल्यावस्थादेखि नै शिक्षालाई विशेष जोड दिनु हो । विद्याले व्यक्तिको सामर्थ्य अभिवृद्धि गर्छ, सच्चरित्र दिन्छ । त्यसैले आजको दिन बालबालिकालाई विद्यारम्भ गराउँदा दिगो शिक्षा प्राप्त हुने जनविश्‍वास छ । अतः सरस्वतीपूजालाई अक्षरारम्भ गराउने दिवसका रूपमा समेत लिइन्छ ।

वर्तमान सन्दर्भमा प्रारम्भिक बाल विकास तहदेखि, विद्यालय हुँदै विश्‍वविद्यालयसम्म नै शिक्षाको सामयिक सुधारका सवालहरू साझा राष्ट्रिय चासोका विषय हुन पुगेका छन्  । त्यसैले शैक्षिक संस्थाहरूको सुधार, प्राध्यापक तथा शिक्षकहरूको सीप अभिवृद्धि र वृत्तिविकास, जीवनोपयोगी शिक्षा नीतिको निर्माण तथा अनुसन्धानमुखी शिक्षाको माध्यमबाट नागरिकको चौतर्फी व्यक्तित्व विकासमा राष्ट्र, अभिभावक र शैक्षिक संस्थाहरूले गर्नुपर्ने समवेत प्रयासतर्फ हामीले आफूलाई निर्देशित गर्नुपरेको छ ।

आज हाम्रा सामु सर्वसुलभ, गुणस्तरीय र व्यावसायिक शिक्षाका माध्यमबाट प्रतिस्पर्धी जनशक्ति विकास गर्ने, शिक्षामा लगानी अनुसारको प्रतिफल निकाल्ने र नवप्रवर्तनका लागि युवा पुस्तासँग राज्यले हातेमालो गरेर अघि बढ्नुपर्ने ठूलो चुनौती विद्यमान छ । समयले दिएको यस हाँकलाई स्वीकार्दै दिगो सामाजिक आर्थिक समृद्धिको नयाँ मार्ग पहिल्याउन आजको दिन हामी सबैले प्रण गर्नैपर्दछ ।

प्रकृति, संस्कृति र सभ्यताको त्रिवेणीका रूपमा रहेको वसन्त पञ्चमीलाई नेपालमा राजकीय महत्त्व प्राप्त छ । आजको दिन गरिने वसन्त श्रवण र सरस्वतीपूजा केवल औपचारिकता होइन, हाम्रो जीवनलाई सदैव ऊर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गरिहने पर्व हो । यसको गरिमालाई हामी सबैले आत्मसात गर्नुपर्दछ । सरस्वतीपूजा र वसन्त पञ्चमीको यस अवसरमा ज्ञान र शिक्षाको उन्नयनबाट नेपाली राष्ट्रिय जागरणको शक्तिशाली उद्बोधन हुन सकोस् भनी पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद ।

२०७८ माघ २३ गते  आइतबार