सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यूबाट भेट

आज मिति २०७४ साल चैत्र २७ गते मंगलबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीज्यूले  भेट गर्नुभयो । उक्त भेटमा सम्माननीय प्रधानमन्त्रीज्यूले आफ्नो हालै सम्पन्न भएको मित्रराष्ट्र गणतन्त्र भारतको राजकीय भ्रमणका अवसरमा भएका उपलब्धिका साथै समसामयिक विषयमा जानकारी गराउनु भयो । उक्त भेटका अवसरमा माननीय परराष्ट्र मन्त्री लगायत उच्च पदस्थ पदाधिकारीहरुको समेत उपस्थिति थियो ।  (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूको आधिकारिक ट्वीटर एकाउन्ट सञ्‍चालन

आज मिति २०७४ साल चैत्र २६ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको आधिकारिक ट्वीटर एकाउन्ट एट प्रेसिडेण्टअफएनपी  (@PresidentofNP)  को नाममा  सञ्‍चालन भएको छ । पहिलो ट्वीटमा उहाँले “सम्पूर्ण बालबालिकालाई शिक्षाको पहुँचमा पुर्‍याउने नेपाल सरकार र सम्बद्ध सबै पक्षको प्रयासको सराहना गर्दै सफलताको शुभकामना !” उल्लेख गर्नुभएको छ । (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट सम्माननीय प्रधानमन्त्रीज्यूको कार्यभार तोक्नु भएको

आज मिति २०७४ साल चैत्र २३ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीज्यू मित्रराष्ट्र गणतन्त्र भारतको राजकीय भ्रमणको सिलसिलामा सम्वत् २०७४ साल चैत्र २३ गते शुक्रबार भारतको नयाँदिल्लीतर्फ प्रस्थान गर्नु हुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय रक्षा मन्त्री श्री ईश्वर पोखरेलज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ ।      (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७४ चैत्र २१ गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सर्वोच्च अदालतका सम्माननीय कायम मुकायम प्रधान न्यायाधीश श्री दिपकराज जोशीज्यूले नेपालको संविधानको धारा १३८ बमोजिम सर्वोच्च अदालतको आर्थिक वर्ष २०७३/०७४ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको  छ । (छविन्द्र पराजुली) प्रवक्ता