सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले ईद (ईद-उल-फित्र) पर्व,२०७८ कोअवसरमा दिनुभएको शुभकामना सन्देश

ईद (ईद-उल-फित्र) पर्व,२०७८ को शुभकामना सन्देश

इस्लाम धर्मावलम्बीहरूको महान् चाड ईद (ईद-उल-फित्र) पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

रमजानको तीस दिने उपवासपछिको रातमा खुर्पेचन्द्रमा देखिएको भोलिपल्ट मनाइने ईद अर्थात् ईद-उल-फित्र नेपाल लगायत विश्‍वभरिकै मुस्लिम समुदायको महान् पर्व हो । ईदमा विशेष नमाज समर्पण गरिसकेपछि आपसमा शुभकामना र आशीर्वचन आदानप्रदान गरिनुका साथै मिष्ठान्न परिकार समेत खाने र खुवाउने परम्परा रहिआएको छ ।

हाम्रो देशमा विशेषगरी नेपालगञ्ज, भैरहवा, गोरखा, काठमाडौँ, सप्तरी, मोरङ, सुनसरी लगायतका जिल्लाहरूमा यो चाड मनाइन्छ । आपसी सद्‌भावको चाडको रूपमा मनाइने ईदले सबै नेपाली बीच बन्धुत्वको भावना बढाउन, सामाजिक सद्‌भाव अभिवृद्धि गर्न तथा सहकार्यको बाटोमा उन्मुख हुन सहयोग पुग्ने विश्वास लिएको छु ।

सांस्कृतिक एवं सामाजिक विविधता हाम्रो देशको मौलिक पहिचान हो । यही विविधता बीचको एकताले नै नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाएको छ भन्ने मलाई लागेको छ ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरस (COVID-19) दोस्रो नयाँ स्वरुपमा नेपालमा पनि देखा परेकोले यसबाट बच्नका लागि भिडभाड नगरी  नेपाल सरकारले जारी गरेका जनस्वास्थ्यसम्बन्धी मापदण्डहरूको पालना गरी ईद (ईद-उल-फित्र) मनाउनका लागि विशेष  आग्रह गर्न चाहन्छु ।

अन्तमा, यस पर्वले सबै नेपालीहरू बीच आपसी एकता, मित्रता, सहयोग र सद्‌भाव अभिवृद्धि गरी समृद्ध समाज निर्माण गर्न मद्दत पुगोस् भन्ने कामना गर्दछु ।

धन्यवाद ।

२०७८  वैशाख ३१ गते शुक्रबार