सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट गणतन्त्र दिवस, २०७६ को अवसरमा दिनुभएको शुभकामना सन्देश

बाह्रौँ गणतन्त्र दिवसको सुखद अवसरमा ज्ञात अज्ञात अमर शहीदहरूप्रति श्रद्धासुमन व्यक्त गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना प्रकट गर्दछु ।

निर्वाचित जनप्रतिनिधिमूलक संस्थाहरू गणतान्त्रिक मूल्य मान्यता बमोजिम जनभावनाको कदर गर्दै संविधान र कानूनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न कटिबद्ध छन् । विश्वमा लोकप्रिय तथा समृद्ध पद्धतिको रूपमा रहेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो शासन प्रणालीका रूपमा मात्र नभई जीवनपद्धतिका रूपमा समेत स्थापित र संस्थागत हुँदै गएको छ । यो सबैका निम्ति गौरवको विषय हो ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अवलम्बन भएपश्चात देशमा सुशासन, द्रुततर आर्थिक-सामाजिक विकाससहित समृद्धि हासिल हुन्छ भन्‍ने आम नेपालीको अपेक्षा साकार पार्नु हामी सबैको सामूहिक उत्तरदायित्व हो । सामाजिक न्याय र समानतामा आधारित समाजवादउन्मूख अर्थतन्त्र निर्माण गर्ने संबैधानिक संकल्प पूरा गर्ने दिशामा सरकार अग्रसर बनेको परिवेशमा समृद्धि हासिल गर्ने अभिभाराले मुर्तरूप लिनेछ भन्‍नेमा म विश्वस्त छु । यस प्रसंगमा मुलुकको समग्र विकास र समृद्धिका लागि आ-आफ्नो क्षेत्रबाट योगदान पुर्‍याउन सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक आव्हान गर्न चाहन्छु ।

यस ऐतिहासिक दिवसले सबै नेपालीलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता प्रवर्द्धनसहित समृद्ध नेपाल सुखी नेपालीको साझा राष्ट्रिय संकल्प सार्थक बनाउन प्रेरणा र उर्जा मिलोस् भन्‍ने शुभेच्छासहित गणतन्त्र दिवस, २०७६ का अवसरमा पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद !

२०७६ साल जेठ १५ गते बुधबार ।