सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले विश्‍व पानी दिवस, २०२४ (२२ मार्च) को अवसरमा दिनुभएको शुभकामना सन्देश

विश्‍व पानी दिवस, २०२४ (२२ मार्च) को शुभकामना सन्देश

पानीका स्रोतहरूको संरक्षण गर्दै पर्यावरण सन्तुलनमा योगदान गर्न प्रेरणा मिलोस् भन्ने कामनासहित विश्व पानी दिवस, २०२४ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

समस्त जीवन र जगतको अस्तित्व रक्षा गर्ने प्रकृतिप्रदत्त वरदानका रूपमा रहेको पानीको महत्त्व‚ संरक्षण र दिगो प्रयोगका बारेमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९३ देखि हरेक वर्ष मार्च २२ लाई विश्व समुदायले पानी दिवसका रूपमा मनाउँदै आएको छ । नेपालमा यस वर्ष ‘शान्ति र समृद्धिको लागि पानी’ भन्ने नाराका साथ विभिन्न जनचेतनामूलक कार्यक्रमसहित विश्व पानी दिवस मनाइरहेका छौँ ।

पानी र प्रकृतिसँग प्राणी जगतको अस्तित्व गाँसिएको छ । पृथ्वीमा जीवको उत्पत्ति नै पानीभित्र भयो । प्राचीन मानव सभ्यताहरू नदीकिनारमा विकास भए । वर्तमान अवस्थामा आइपुग्दा जीवनको अस्तित्व जोगाउन प्रकृति र पानीको संरक्षण गर्नु मानव सभ्यताकै निमित्त चुनौती भएको छ ।

भूमिगत जलस्रोत महत्वपूर्ण प्राकृतिक सम्पदा हो‚ जसले पारिस्थितिक प्रणालीलाई दिगो राख्न‚ नदीहरूको बहावलाई व्यवस्थित गर्न‚ जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न र सुरक्षित पिउने पानी परिपूर्ति गर्न मद्दत गर्दछ । बढ्दो शहरीकरण र भौतिक पूर्वाधार निर्माणका क्रममा भएका प्राकृतिक विनाश, जलवायु परिवर्तन एवं प्रदूषणका कारण यस्ता स्रोतहरू नष्ट भइरहेका छन् ।

भूमिगत जलस्रोतको अतिदोहन र शहरी क्षेत्रमा निर्माण गरिएका पक्की संरचनाका कारण पुनर्भरणमा अवरोध उत्पन्न भएका कारण जमिनमुनिको पानीको सतह निरन्तर घटिरहेको छ । साथै, अव्यवस्थित मानव वस्ती र बढ्दो औद्योगीकरणका कारण भूमिगत जलस्रोत प्रदूषित हुँदै गएको छ । भविष्यमा आउनसक्ने जलसंकटको चुनौतीलाई मध्यनजर गर्दै भूमिगत जलस्रोतको पुनर्भरणका लागि जलाधार क्षेत्रहरूको संरक्षण गर्ने तथा ग्रामीण भेगहरूमा आहाल‚ पोखरी र तालतलैयाहरूको निर्माण गर्नेजस्ता परम्परागत विधिको संवर्द्धन गर्नु पर्दछ । शहरी क्षेत्रमा वर्षात्‌को पानीमार्फत पुनर्भरणको विकल्पसहितका पूर्वाधार निर्माण गर्न सम्बद्ध सबैले अग्रसरता लिनुपर्दछ । साथै प्राचिन एवम् आधुनिक प्रविधिको मिश्रण गरेर जलाशययुक्त योजनाको तर्जुमा पनि गर्न आवश्यक छ भन्ने मलाई लागेको छ।

अन्त्यमा पानीको संरक्षण र सदुपयोगमार्फत दिगो विकासका लक्ष्य परिपूर्ति गर्न विश्व पानी दिवसले प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्दछु ।

जय नेपाल !

२०८० साल चैत्र ९ गते शुक्रबार ।