सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले वसन्त पञ्चमी तथा सरस्वती पूजा, २०८०को अवसरमा दिनुभएको शुभकामना सन्देश

वसन्त पञ्चमी तथा सरस्वती पूजा,२०८० को शुभकामना सन्देश

विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइने वसन्त पञ्चमी  तथा सरस्वती पूजाको अवसरमा स्वदेश एवम् विदेशमा रहनु भएका नेपाली दिदीबहिनी, दाजुभाइ तथा सम्पूर्ण बालबालिकाहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

सरस्वतीलाई शिक्षा,ज्ञान र संगीतकी देवीको रुपमा पुजिन्छ । आजको यस शुभ दिनमा  आफ्ना बालबालिकाहरूलाई विद्यालय भर्ना गरेर अक्षराम्भ गराउँदा विद्याकी देवी सरस्वतीको सदा कृपादृष्टि हुने जनविश्वास रहँदै आएको छ । संगीतका पारखीहरूका लागि सरस्वतीको साधना गर्ने प्रमुख दिन पनि वसन्त पञ्चमीलाई मानिदैँ आइएको छ । नवीन कार्यको प्रारम्भ गर्न चाहनेहरूले र लगनको साइत जुराउनु पर्ने शुभ कार्यका लागि यस दिनलाई रोजी विवाह, व्रतबन्ध आदि गर्ने प्रचलन पनि रहिआएको छ ।

आजको दिनलाई सरस्वती जन्मोत्सवको रुपमा पनि मनाइन्छ । वसन्त ऋतुको प्रारम्भ हुने र सूर्य उत्तरायण हुँदै जाँदा दिन लामो र रात छोटो हुँदै जाडोबाट क्रमश: न्यानो हुँदै जाने हुनाले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई दर्शाउँछ । साथै, विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका रूपमा आजको दिनले प्रेरणा प्रदान गर्दछ भन्ने मलाई लागेको छ ।

अन्त्यमा, आजको दिन गरिने वसन्त श्रवण र सरस्वतीपूजा केवल औपचारिकता मात्र होइन, हाम्रो जीवनलाई सदैव उर्जाशील बनाइराख्ने र नविन खोजतर्फ प्रेरित गरिरहने पर्व पनि हो । यस पर्वले मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबीच एकता कायम गरी मौलिक धार्मिक संस्कृतिको संरक्षण एवम् सम्वर्द्धन गर्दै सबै नेपालीहरूमा विद्याकी देवी सरस्वतीको कृपा रहिरहोस् भनी पुन:हार्दिक शुभकामना  व्यक्त गर्दछु ।

जय नेपाल !

२०८०, फागुन २ गते बुधबार