सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले तिहार पर्व, २०८० को अवसरमा दिनुभएको सन्देश

तिहार पर्व, २०८० को शुभकामना सन्देश

नेपालीहरूको महान् चाड तिहार, २०८० को पावन अवसरमा विश्वभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक हो । नेपालमा मनाइने जात्रा पर्वले विविधतालाई एकतामा बाँध्ने काम गर्दै आएको छ । यस्ता पर्वहरू मध्ये दसैँ / तिहार हिन्दुहरूको महान् चाड पनि हो । यी चाडहरूले विभिन्न जातजाति, भाषाभाषि र संस्कृतिलाई एकतामा बाँध्ने गरेको छ । बडा दसैँमा शक्तिकी श्रोत देवीको पूजा आराधना गरी मनाइन्छ भने तिहारमा काग, कुकुर, गाई‍, गोरु, पर्वत, लक्ष्मी र दाजुभाइको पूजा तथा आराधना गरी मनाइने चलन छ ।

मानव र प्रकृतिबीच अन्योन्याश्रित सम्बन्धका स्वरूप  गोवर्द्धन  पर्वत, मानव र अन्य जनावरबीचको सुमधुर सम्बन्धलाई स्थापित गर्न गाई, कुकुर, कागलगायत जनावरको पूजा गरी अन्तिम दिन दिदीबहिनी र दाजुभाइबीचको अटुट सम्बन्धको प्रतीकका रूपमा भाइटीका लगाएर यो चाड समापन गरिन्छ । गाई पूजा गरी देउसी भैलो खेल्ने प्रचलनले मौलिक संस्कृति संरक्षण गर्ने अर्को महत्त्वपूर्ण कडिका रूपमा यो पर्वलाई हेरिन्छ । नेवार समुदायले म्हपूजा गरी आत्माशुद्धि गर्ने चलन पनि यसै पर्वको महत्त्वपूर्ण पक्ष हो ।

पौराणिक, व्यावहारिक, सांस्कृतिक, मनोवैज्ञानिक एवं वैज्ञानिक महत्त्व बोकेको तिहार उज्यालो र  प्रकाशको पर्व पनि हो ।  त्यसैले तिहारलाई हामी दीपावलीको नामबाट समेत जान्दछौँ । उज्यालो आफैमा प्रेरणाको विम्ब हो । तिहारका माध्यमबाट प्रकट हुने मानवीय उज्यालोले हाम्रो जीवनमा प्रकाश छरी हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन प्रेरित गरोस् भन्‍ने कामना गर्दछु ।

अन्तमा, तिहार पर्वले सम्पूर्ण नेपालीहरूबीच आपसी सद्‌भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्‍याउने विश्‍वासका साथ पुन: तिहार पर्व, २०८० को हार्दिक शुभकामना व्यक्त गर्दछु ।

जय नेपाल ।

२०८० साल कात्तिक २६ गते, आइतबार ।