सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले बडा दशैं, २०८० को अवसरमा दिनुभएको सन्देश

बडा दसैँ, २०८० को शुभकामना सन्देश

नेपालीहरूको महान् चाड बडा दसैँ, २०८० को शुभ अवसरमा देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

शक्तिको प्रतीकका रूपमा मनाइने बडा दसैँ आश्विन महिनाको शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी सोही दिनदेखि सप्तमी, अष्टमी र नवमीसम्म निरन्तर शक्तिरूपी नवदुर्गा भवानीको पूजा आराधना गर्दै दशमीका दिन भवानीको प्रसाद स्वरूप मान्यजनहरूको हातबाट टीका, जमरा र आशिर्वाद ग्रहण गर्न तथा पूर्णिमासम्म विशेष रुपमा मनाउने गरिन्छ । विजया दशमीको दिन दुर्गा भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको धार्मिक तथा ऐतिहासिक कथनहरू छन् । बडा दसैँको उपलक्ष्यमा पारिवारिक जमघट एवम् पुनर्मिलन भई खुशीयाली र हार्दिकता साटासाट गरी मनाउने प्रचलन रही आएको छ । यो पर्व सत्यको विजय र असुरी चरित्रको पराजय, दुराचारमाथि सदाचारको जीत, आपसी सद्‌भाव, भ्रातृत्व र पुनर्मिलनको प्रतीक पनि हो । त्यसैले यो पर्वले विकृति, विसंगति अन्त्य गर्दै सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गर्न हामी सवैलाई प्रेरित गर्ने छ भन्ने मेरो विश्वास छ ।  यस पर्वले सबै नेपालीहरूलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको आर्थिक समृद्धि प्राप्त गर्ने सामर्थ्य प्रदान गरोस् भन्ने पनि कामना गर्दछु ।

बडा दसैँमा मान्यजनप्रति श्रद्धा र सम्मान स्वतःस्फूर्त अभिव्यक्त हुने प्रचलनले पनि यसको महत्त्व रहीआएको छ । हाम्रो मुलुकमा परम्परागतरुपमा हर्षोल्लासपूर्वक मनाउने गरिएका यस्ता चाडपर्वहरूले भौगोलिक, साँस्कृतिक र भाषिक विविधताबीच रहेको हाम्रो मौलिकतालाई थप सुदृढ गर्नुका साथै साँस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न पनि थप योगदान गरिरहेका छन् । बडा दसैँ पर्वको संरक्षण एवं संवर्द्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्न सक्दछ भन्ने मलाई लाग्दछ ।

अन्तमा, बडा दसैँ, २०८० ले हामी सबैमा नयाँ उत्साह, उमङ्ग, असल कामहरूलाई हौसला प्रदान गर्न र सकारात्मक उर्जा थप्न दुर्गा भवानीले आर्शिवाद दिऊन् भन्ने शुभकामना प्रकट गर्दछु ।

जय नेपाल ।

२०८० कात्तिक ४ गते शनिबार ।