सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८० को अवसरमा दिनुभएको शुभकामना सन्देश

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८० को शुभकामना सन्देश

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८० को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

सात दशक लामो जनताको आन्दोलन, त्याग र बलिदानबाट नेपालको संविधान जारी भएर आठ वर्ष पूरा भएको आजको यस सुखद अवसरमा म सबैभन्दा पहिले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो जीवन आहुति दिने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । त्यस्तै, मुलुकमा लोकतान्त्रिक प्रणाली स्थापनार्थ पथ प्रदर्शन गर्नुहुने सम्पूर्ण अग्रजहरूप्रति अपार सम्मान एवम् श्रद्धा प्रकट गर्दछु ।

वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा आवद्ध गरेको छ ।

नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने लक्ष्य राखेको छ । मौलिक हक, राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरूको दायरा फराकिलो बनाउँदै आर्थिक समृद्धिसहितको सामाजिक न्याय र समानता सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्त अवलम्बन गरिएको हो ।

सुदृढ तहगत अन्तरसम्बन्धको स्थापना र सबल संघीय शासन प्रणालीमार्फत समावेशी, समन्यायिक एवं सन्तुलित प्रादेशिक विकासको सुनिश्चितता हुन सकेन भने नेपाली जनताले चाहेको लोकतन्त्रको परिणाम प्राप्त हुँदैन । .उक्त लक्ष्य  हासिल गर्न मुलुकमा उपलब्ध प्राकृतिक स्रोत तथा साधनहरूको सदुपयोग गर्दै कृषिको आधुनिकीकरणसहित उद्यमशीलताको विकासमार्फत उत्पादन वृद्धि  गर्नुपर्दछ  । संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै आम नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्दछ ।

संविधान प्रदत्त मौलिक हकको प्रभावकारी कार्यान्वयन, आयातमुखी अर्थतन्त्रलाई विस्थापन गरी स्वदेशमै उद्योग, उत्पादन, रोजगारी बढाएर आफ्नै गाउँठाउँ र देशमा बस्ने वातावरणसहित राष्ट्रिय अर्थतन्त्रलाई दह्रो र सबल बनाउनु नै आजको मुख्य चुनौती र जिम्मेवारी हो । श्रमलाई सम्मान गर्ने संस्कृति, विपन्नलाई आय र निमुखालाई न्याय दिने प्रणालीलाई सबल र प्रभावकारी बनाउनुपर्नेछ ।

देश सामु विद्यमान चुनौती र जिम्मेवारीलाई पूरा गर्न हामीले विशेषत: राज्यको चरित्रलाई अझ लोकतान्त्रिक, पारदर्शी, जवाफदेही, सुशासित, न्यायपूर्ण र जनमुखी बनाउनु पर्दछ । खास गरी जनप्रतिनिधिहरू, सार्वजनिक निकायका पदाधिकारीहरू तथा राजनीतिक दलका नेता कार्यकर्ताहरूले लोकतन्त्रमा जनताले अपेक्षा गरेको आचरण र चरित्र देखाउन सक्नुपर्छ अनि मात्र सामाजिक न्याय र स्वाभिमानसहित समृद्धिको सपना साकार हुनेछ ।

राजनीतिक व्यवस्था र शासकीय संरचनामा आउने परिवर्तनले मात्र युगका अपेक्षा पूरा हुँदैनन् । अतः आजका दिनले हामी, हाम्रा राजनीतिक दल, नेतृत्व, सरकार र सम्पूर्ण राज्यसत्तालाई अझ लोकतान्त्रिक, न्यायपूर्ण र परिणाममुखी बनाउने दायित्व बोध गराउनेछ भन्ने विश्वास लिएको छु ।

अन्तमा, यस अवसरमा संविधानको मर्म र भावनालाई व्यवहारमा रुपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आ–आफ्नो तर्फबाट इमान्दार र प्रभावकारी प्रयास जारी राख्न सबैमा हार्दिक आव्हान गर्न चाहन्छु । संविधानको कार्यान्वयनमार्फत नागरिकको हक, हित र मुलुकको समृद्धि हासिल गर्न सकौं भनी पुनः एकपटक  संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८० को हार्दिक शुभकामना व्यक्त गर्दछु ।

जय नेपाल ।

२०८० साल असोज ३ गते बुधबार ।