सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले संविधान तथा राष्ट्रिय दिवस २०८० को उपलक्ष्यमा असोज ३ गते आयोजित समारोहमा गर्नुभएको सम्बोधन

सम्माननीयज्यूहरू,

माननीयज्यूहरू,

उपस्थित महामहिम राजदूतज्यूहरू,

आदरणीय दिदीबहिनी दाजुभाइहरू !

आफूले निर्वाचित गरेका जनप्रतिनिधिमार्फत आफ्नो संविधान आफैँ लेख्ने नेपाली जनताको ७ दशकभन्दा बढी लामो आन्दोलन, त्याग र बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको आज आठ वर्ष पूरा भएको छ । यो गौरवमय क्षणमा म सबैभन्दा पहिले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो जीवन आहूति दिने सहिदहरूप्रति भावपूर्ण श्रद्वाञ्जली व्यक्त गर्दछु ।

आन्दोलनका क्रममा जेलनेल, निर्वासनसहित अनेकौँ यातना सहने र जस्तै कष्टमा पनि अविचलित भई परिवर्तनका पक्षमा क्रियाशील हुने लोकतन्त्रका योद्धाहरूलाई अपार सम्मानसहित हृदयबाट नै धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु । त्यस्तै, लोकतान्त्रिक आन्दोलनका अग्रज नेताहरूलाई यो अवसरमा सम्मानपूर्वक स्मरण गर्न चाहन्छु ।

हामी सबैले मिलेर लोकतान्त्रिक आन्दोलनको महत्त्वपूर्ण चरण पार गरेका छौँ । अहिले हामीसँग आफैँले बनाएको संविधान छ । वर्तमान संविधानले निरङ्कुश, केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाका सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गरेको मात्र होइन वास्तविक अर्थमा नेपाली जनतालाई राजकीय शक्तिको मालिक बनाएको छ ।

हाम्रो संविधानले निर्दिष्ट गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयको परिलक्ष्य राखेको हो । अधिकारका विभिन्न प्रकार उल्लेख गरे पनि ती सबै अधिकारले निमुखा जनतालाई निर्बाध स्वतन्त्रता उपभोग गर्ने र उनीहरूको जीवनस्तर उकास्ने अवसर प्रदान गर्ने विषय नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रले बोकेको दर्शनभित्रको अन्तर्य हो ।

तर यहाँ व्यवस्था त परिवर्तन भयो हाम्रो देश समाज र जनसामान्यको अवस्थामा भने अझै परिवर्तन हुन सकको छैन । हामीले प्रशासनिक रूपमा राज्यको पुनर्संरचना गर्‍यौँ। तल्लोभन्दा तल्लो तहमा रहेका जनताको पहुँचमा राज्यसत्ता पुगेको छ । तर राज्यको चरित्रको भने पुन: संरचना हुन अझै बाँकी छ ।

राजनीतिक रूपमा जनताको सर्वोत्तम उपलब्धि ‘गणतन्त्र’ हामीले प्राप्त गरेका छौँ । तर गणतन्त्रको वास्तविक अर्थ बुझ्न र त्यसलाई अनुभूत गर्न बाँकी नै छ जस्तो मलाई लाग्छ । गणतन्त्र भनेको शासनमा व्यक्तिको परिवर्तनमात्र होइन । यो त जनताको राजकीय शक्तिको प्रवाहमा सामेल हुन पाउने अधिकार हो । यो त संस्कार, संस्कृति, आनीबानी र व्यवहारमात्रै होइन आचरणमा परिवर्तन पनि हो भनेर हामीले बुझ्न बाँकी छ ।

लोकतान्त्रिक निर्वाचनका माध्यमबाट जनप्रतिनिधि छनोट भई अहिले संविधानत: तीनै तहका सरकारहरू बनेका छन् । यी निश्चय नै हाम्रा लागि धेरै ठूला र ऐतिहासिक उपलब्धि हुन् । यिनै उपलब्धिहरूका जगमा हाम्रो भविष्यको सुखद यात्रा प्रारम्भ भएको छ भन्ने मैले विश्वास लिएको छु ।

हाम्रो देशलाई नेपाली मौलिकतासहितको एक विशिष्ट र विश्वको उन्नत राष्ट्र बनाउने प्रचुर सम्भावना हाम्रो अगाडि छ । यो निकै महत्त्वपूर्ण अवसर हो । तर हामीले आफ्नो आचरण, चरित्रमा व्यापक सुधार गरेर लोकतान्त्रिक संस्कारको जग बसालेर कुशलतापूर्वक मेहनत गरेमा मात्र त्यो सम्भव छ ।

जय नेपाल !

२०८० असोज ३ गते