सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले विश्व बाघ दिवस सन् २०२३ को अवसरमा दिनुभएको सन्देश

विश्व बाघ दिवस सन् २०२३ को शुभकामना सन्देश

आज जुलाई २९ तारिखलाई विश्व बाघ दिवसका रूपमा  विश्वभरि मनाइदैँछ । यस अवसरमा प्रकृतिको सुन्दर प्राणी बाघको संरक्षणका लागि सम्वद्ध सबैलाई थप प्रेरणा मिलोस् भन्ने कामनासहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।

सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनले हरेक वर्ष २९ जुलाईका दिनलाई अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने घोषणा गरेअनुरुप आज नेपालमा पनि यो दिवस मनाउन गइरहेका छौं । यसै सन्दर्भमा नेपालले पनि उक्त प्रतिवद्धता अनुरूप बाघको सङ्ख्या करिब तेब्बर वृद्धि गरी सन् २०२२ मा रुसकै भ्लादिभोस्तोक शहरमा भएको दोस्रो बाघ सम्मेलन मार्फत आफ्नो मुलुकको उपलब्धि अन्तर्राष्ट्रिय जगतमा प्रस्तुत गरेको थाहा पाउँदा मलाई  खुसी लागेको छ ।

बाघ संरक्षणका लागि भएका प्रयासका उपलब्धिस्वरूप नेपालमा बाघको सङ्ख्या वृद्धि हुदै गएकोमा संरक्षणकर्मीको मनोबल र हौसलाले उचाइ लिएको सहजै अनुमान लगाउन सकिन्छ । समुदाय र बस्तीस्तर विशेष गरी मध्यवर्ती क्षेत्रका मानिसहरूमा बाघको महत्त्व, बाघ र मानवको द्वन्द्व कम गर्ने उपायका विषयमा ज्ञानको विस्तार गरी संरक्षणका कार्यहरूलाई निरन्तरता दिनु आवश्यक छ । बाघको संरक्षण नेपालको पर्यटन प्रवर्द्धन र आर्थिक विकासका लागि पनि महत्त्वपूर्ण हुने तथ्यलाई मनन गरी संरक्षणको दिगो व्यवस्थापनमा खटिन सम्बद्ध निकाय, जनसमुदाय र संरक्षणकर्मीहरूलाई आह्वान गर्दछु । बाघको संरक्षणमा नेपालले संसारमा नै नेतृत्वदायी भूमिका निर्वाह गरेको हुँदा बाघ जोगाउन अथक प्रयास गर्ने संरक्षणकर्मी, सुरक्षाकर्मी, जनसहभागितामा जुट्ने स्थानीय बासिन्दा, सञ्चारकर्मी एवम् सहयोगी संस्थाहरूलाई विशेष धन्यवाद दिन चाहन्छु  ।

बाघको चोरी शिकारी तथा बाघका अङ्गहरूको अवैध व्यापार गर्ने ध्येयले गरिने आखेटोपहार ओसारपसार नियन्त्रणको लागि नेपालका सम्बद्ध निकायले निर्वाह गरेको भूमिकाले विश्वव्यापी बाघ संरक्षणको अभियानमा पुगेको पहलकदमी सार्थक भएका छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष क्षेत्रको विकासले बाघको बास स्थानलाई सुरक्षित बनाउन टेवा पुगेको छ । बाघ र मानव बीचको द्वन्द्व न्यूनीकरण गर्न र स्थानीय बासिन्दाको वन पैदावार माथिको निर्भरता कम गर्न जीविकोपार्जनका वैकल्पिक कार्यक्रमहरू सञ्चालनका लागि विशेष पहल गर्नु अत्यावश्यक रहेको छ भन्ने मलाई लाग्दछ ।

अन्तमा, आजको विश्व बाघ दिवस सन् २०२३ ले बाघको बास स्थान सुरक्षित राख्दै वन्यजन्तुमा आधारित पर्यटन विकासमार्फत आम्दानी वृद्धि गर्दैं स्थानीयस्तरमा हुने मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा सफलता प्राप्त गर्न सबैमा उत्प्रेरणा जगाओस् भन्ने कामना गर्दछु ।

जय नेपाल ।

मिति: २०८० साउन १३ गते शनिबार ।