सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले उभौली पर्व, २०८० को अवसरमा दिनु भएको शुभकामना सन्देश

उभौली पर्व, २०८० को शुभकामना सन्देश

किराँत समुदायको महान् पर्व उभौलीको शुभ अवसरमा  स्वदेश तथा विदेशमा रहनु भएका राई, लिम्बू, याक्खा, सुनुवारलगायत सम्पूर्ण किराँत दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य एवं दीर्घायुको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

वसन्त ऋतुको आगमनसँगै बाली लगाउने समय सुरु हुने भएकोले प्रकृति र पितृपूजक किराँत समुदायले बालीनाली राम्रो होस्, प्राकृतिक प्रकोप तथा विपत्तिहरू नआउन् भनेर भूमि, बाली र पितृपूजा गर्ने गर्दछन् । यसका साथै विभिन्न परम्परागत नृत्य गर्दै र मिष्टान्न परिकार खाएर आपसमा सुख, शान्ति, सुस्वास्थ्यको आदानप्रदान गरी रमाइलोसँग उभौली पर्व मनाउने परम्परा रहेको छ ।

किराँत समुदायको बाहुल्यता भएको नेपालका पूर्वी जिल्लाहरू र उपत्यकामा बसोबास गर्दै आएका किराँत समुदायहरूमा यो पर्वलाई भव्यरूपमा मनाउने गरिन्छ । यस प्रकारको साँस्कृतिक पर्वले देशको सांस्कृतिक विविधतालाई कायम राख्दै नेपाली नेपालीबीचको एकतालाई थप बलियो बनाउने विश्वास लिएको छु ।

अन्तमा, उभौली पर्वले सबै समुदायका नेपालीहरू बीच राष्ट्रिय एकता, सहिष्णुता र सांस्कृतिक ऐक्यवद्धताको भावना थप सुदृढ पार्न अभिप्रेरित गर्दै सभ्य, समृद्ध र विकसित समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।

धन्यवाद ।

२०८० साल वैशाख २२ गते शुक्रबार ।