सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट “शहीद दिवस २०७५” का अवसरमा व्यक्त शुभकामना सन्देश

शहीद दिवस, २०७५को शुभकामना सन्देश

सर्वप्रथम राष्ट्र, राष्ट्रियता, सम्प्रभुता, स्वतन्त्रता, समानता, राष्ट्रिय एकता, अखण्डता, लोकतन्त्र एवं मानवअधिकारका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने महान शहीदहरू शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्दलगायत सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

नेपाल र नेपालीको लागि शाहदत हासिल गरेका शहीदहरूलाई सम्मान गर्ने यो शहीद दिवसले सबै राष्ट्रप्रेमी नेपाली जनसमुदायमा राष्ट्रनिर्माणको महायज्ञमा स्वतःस्फूर्तरूपले समाहित हुन प्रेरणा प्रदान गर्दै शहीदहरूको सपना साकार पार्न मन, वचन  र कर्मले समर्पित हुने आँट र हौसला दिन सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

देश र जनताको लागि आफ्नो जीवनको आहुती दिने वीर शहीदहरूप्रति श्रद्धा, सम्मान र स्मरण स्वरूप विविध कार्यक्रमहरू गरी शहीद दिवस मनाइँदै आएको छ । विगतमा शहीदहरूले  गरेको योगदानको प्रतिफलस्वरूप नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको बलियो जग बसेको छ । नेपालको संविधान २०७२ बमोजिम पहिलोपटक स्थानीय तह, प्रदेश र संघको निर्वाचन सम्पन्न भर्इ प्राप्त ऐतिहासिक उलपब्धीलार्इ सुदृढ पार्ने प्रक्रियामा जननिर्वाचित संस्था र सरकार कटिबद्ध रहेका छन् । सोही महत्वपूर्ण आधार र प्राप्त उपलब्धिहरूको सदुपयोग गरी सामाजिक न्याय र समानतामा आधारित सामाजिक, आर्थिक  र साँस्कृतिक रूपले समृद्ध समाज निर्माण गर्न सकेमा शहीदहरूप्रति सच्चा सम्मान हुने विश्वास मैले लिएको छु।

अन्त्यमा, शहीदहरूको बलिदानबाट प्राप्त उपलब्धीहरूलार्इ सुदृढ पार्न सम्बद्ध सबैले आ-आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिका थप प्रभावकारी तुल्याउन सके शहीदहरूप्रति वास्तविक सम्मान हुने विश्वास लिएको छु।

 

धन्यवाद ।

२०७५ माघ १६ गते, बुधबार ।