सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित प्रज्ञा पुरस्कार तथा राष्ट्रिय कविता महोत्सव – २०७९ पुरस्कार समर्पण कार्यक्रममा गर्नुभएको सम्बोधन

माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री,

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति, उपकुलपति,

प्राज्ञ परिषद् एवं प्राज्ञ सभाका सदस्यहरू,

प्रज्ञा–प्रतिष्ठानका पूर्व पदाधिकारीहरू,

विभिन्न प्रज्ञा पुरस्कारबाट पुरस्कृत श्रष्टा एवं साधकहरू,

राष्ट्रिय कविता महोत्सव–२०७९ मा पुरस्कृत प्रतिभाहरू,

राष्ट्रसेवकहरू,

सञ्चारकर्मीहरू‚

भद्र महिला तथा सज्जनवृन्द ।

नेपाल प्रज्ञा प्रतिष्ठानले स्थापना गरेका विभिन्न प्रज्ञा पुरस्कार तथा राष्ट्रिय कविता महोत्सव २०७९ का विजेता कविहरूलाई पुरस्कार प्रदान गर्ने कार्यक्रममा सहभागी भई हाम्रो देशका मूर्धन्य प्राज्ञिक व्यक्तित्व एवं श्रष्टाहरूसँग सात्क्षात्कार गर्न पाएकोमा मलाई खुसी लागेको छ ।

नेपालका भाषा, साहित्य, संस्कृति, कला, दर्शन, सामाजिक शास्त्र, विज्ञान आदि विषयको अध्ययन, अनुसन्धान, संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले आजभन्दा ६५ वर्ष अगाडि स्थापित नेपाल प्रज्ञा–प्रतिष्ठान राष्ट्रको अत्यन्त गरिमामय प्राज्ञिक संस्था हो ।

नेपाली भूमि ज्ञानभूमि हो । यस भूमिमा लुकेर बसेको सांस्कृतिक वैभवलाई बाहिर निकालेर विश्‍वसामु चिनाउन अझ धेरै कामहरू गर्न बाँकी छ । यसै भूमिमा अनादि कालदेखि सिर्जना भएका अनेकौँ दर्शन, ज्ञानग्रन्थ र औषधविज्ञानको महत्त्वलाई उद्‍घाटन गर्नुपर्ने छ । नेपाली समाजमा युगौँदेखि जीवित रहँदै आएका लोकसाहित्य एवं सांस्कृतिक निधिहरूलाई सङ्कलन गरेर बाहिर ल्याउनुपर्ने छ र नेपाली सिर्जनाहरू पनि विश्‍व साहित्यको उत्कृष्ट कोटीमा पर्न सक्दछन् भन्ने कुरालाई अनुवादमार्फत विश्‍वसामु पुर्‍याएर प्रमाणित गर्नुपर्ने छ । यी सबै कुराको प्राज्ञिक विमर्श, अध्ययन, अनुसन्धान र प्रकाशन गरी नेपाल र नेपालीको बौद्धिक सम्पत्तिलाई विश्‍वसामु पस्कने कुरामा नेपाल प्रज्ञा प्रतिष्ठानले नेतृत्वदायी भूमिका खेल्ने छ भन्ने विश्वास लिएको छु ।

आजको सम्मान तथा पुरस्कार वितरण समारोहलाई मैले अग्रज पुस्तालाई सम्मान र अनुज पुस्तालाई प्रोत्साहन गर्ने हाम्रो परम्पराकै निरन्तरताका रूपमा लिएको छु । आज यस समारोहमा भारतको दार्जिलिङमा बसेर नेपाली भाषा र साहित्यको उन्नयनमा अनवरत लागिरहनुभएका वरिष्ठ साहित्यकार नरबहादुर दाहाललाई ‘भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार’ र नेपालमा बसेर अनुवादमार्फत नेपाली भाषा साहित्यलाई विश्‍वमा चिनाउने काम गर्नुभएका प्रा.डा. गोविन्दराज भट्टराईलाई ‘नेपाल प्रज्ञा अनुवाद पुरस्कार’ प्रदान गर्न पाउँदा मलाई साह्रै खुसी लागेको छ । यसरी नै प्राध्यापक विद्यानाथ उपाध्याय भट्ट, प्रा.डा. प्रेमकुमार खत्री, डा. नयनाथ पौडेल, वरिष्ठ कवि रामचन्द्र भट्टराई, खेन्पो डवाङ वोसेर लामा  र शर्मिलाकुमारी चौधरी जस्ता देशका विशिष्ट प्रतिभाहरूलाई विभिन्न पुरस्कारहरू प्रदान गर्न पाउँदा म हर्षित छु ।

प्रतिभाहरूको सम्मान उच्च चेतनाको सम्मान हो, कलाको सम्मान हो र अथक साधना, समर्पण, सङ्कल्प र योगदानको सम्मान हो । सत्पात्रलाई सम्मान गर्दा राष्ट्रको शिर पनि उँचो हुने गर्दछ । साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिक शास्त्रका क्षेत्रमा विशिष्ट योगदान गर्नुभएका साधकहरूलाई सम्मान गर्न पाउँदा आज मलाई गौरवबोध भइरहेको छ । यसका साथै‚ राष्ट्रिय कविता महोत्सव‚ २०७९ का विजयी कविहरूलाई पुरस्कृत गरिनु पनि प्रसन्नताको विषय हो । यसले एकातिर अन्तरपुस्तागत सम्बन्धलाई स्थापना गर्ने काम गरेको छ भने अर्कातिर नयाँ पुस्तालाई सिर्जना कर्ममा समर्पित हुने थप प्रेरणा पनि प्रदान गरेको छ । यसरी विभिन्न पुस्ताका विशिष्ट प्रतिभाहरूलाई एकै ठाउँमा उभ्याएर पुरस्कृत गर्ने अवसर प्रदान गरेकामा म नेपाल प्रज्ञा प्रतिष्ठानलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

नेपाल प्रज्ञा–प्रतिष्ठानले विगत वर्षमा नै ‘नेपाली बृहत् शब्दकोश’ को मोबाइल एप निर्माण गरी विश्वभर पुर्‍याउने काम गरिसकेको र आज एक लाख अट्ठाइस हजारभन्दा बढी शब्दहरू समाविष्ट ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ र तस्बिरमा नेपाल कृतिको अङ्ग्रेजी संस्करण ‘नेपाल इन इमेजेज्’ ग्रन्थको लोकार्पण पनि भएको छ । यी दुई ग्रन्थहरूले नेपाली भाषा र सम्पदाको श्रीवृद्धिमा अत्यन्त महत्त्व राख्दछन् भन्ने मलाई लागेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानले भाषा, व्याकरण र शब्दकोशसँग सम्बन्धित आधिकारिक ग्रन्थहरू तयार गरेको तथा  सनातन संस्कृति कोश, नेपाली दर्शन, लोकवार्ता कोश, नेपाली कविताको प्रादेशिक इतिहास, मातृभाषा र साहित्यका विविध कृतिको प्रकाशन लगायत ऐतिहासिक महत्त्व राख्ने कतिपय ग्रन्थहरूको प्रकाशन गरिसकेको र नयाँ पुराना अरू कतिपय कृतिको प्रकाशन भइरहेको जानकारी पाउँदा म हर्षित भएको छु । यसैगरी, प्रज्ञा प्रतिष्ठानले सिङ्गो नेपाललाई चिनाउने ‘नेपाल दर्पण’ नामक बृहत् ग्रन्थ लेखनको दीर्घकालीन अवधारणाका साथ कामको थालनी गरी सो अन्तर्गतको मधेस प्रदेशको परिचयात्मक ग्रन्थ तयार भई प्रकाशन भइरहेको सुन्दा मलाई थप खुसी लागेको छ । यसरी नै, महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयको निर्माण कार्य पूरा भएको र छिटै उद्‍घाटन हुने कुरा समेत मलाई जानकारी प्राप्त भएको छ । यी सबै कामका निम्ति म नेपाल प्रज्ञा प्रतिष्ठानलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

अन्त्यमा, नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रदान गरिने विभिन्न पुरस्कारहरूबाट आज पुरस्कृत हुनुभएका  सम्पूर्ण विशिष्ट साधकहरू एवं राष्ट्रिय कविता महोत्सव, २०७९ मा पुरस्कृत सम्पूर्ण कविहरूलाई पुनः हार्दिक बधाई दिँदै तपाईँहरूको सुस्वास्थ्य, दीर्घ जीवन र अनवरत साधना र सिर्जना यात्राको कामना गर्दछु ।

धन्यवाद ।

२०७९ भदौ  २७ गते सोमवार

नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँ ।