सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले त्रिभुवन विश्वविद्यालय‚ चिकित्सा शास्त्र अध्ययन संस्थानको स्वर्ण जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई गर्नुभएको सम्बोधन

माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री‚

त्रिभुवन विश्वविद्यालयका उपकुलपति‚

चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन एवं अन्य पदाधिकारीहरू,

राष्ट्रसेवकहरू‚

सञ्चारकर्मीहरू‚

महिला तथा सज्जनवृन्द ।

त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान स्थापनाको ५० वर्ष पुगेको अवसरमा आयोजित यस स्वर्ण जयन्ती समारोहमा सहभागी भएर स्वास्थ्य शिक्षा तथा सेवामा समर्पित प्राज्ञिक व्यक्तित्व‚ डाक्टर‚ नर्स‚ स्वास्थ्यकर्मी एवं विद्यार्थीहरूसँग एक साथ उपस्थित हुन पाउँदा मलाई अत्यन्त खुसी लागेको छ । यस अवसरमा म यस संस्थानसँग सम्बद्ध पदाधिकारी, प्राविधिक तथा सम्पूर्ण कर्मचारीहरूलाई बधाई तथा शुभकामना दिन चाहन्छु ।

यस अध्ययन संस्थानलाई यहाँसम्म ल्याइपुर्‍याउन महत्त्वपूर्ण योगदान गर्नुभएका आज सम्मानित पूर्व डिनहरूलाई बधाई दिँदै सुस्वास्थ्य एवं दीर्घ जीवनको कामना गर्दछु ।

नेपालमा मेडिकल शिक्षाका साथै स्वास्थ्य सेवाको क्षेत्रमा समेत अग्रणी रहेको यस संस्थानले मुलुकको विकासमा पुर्‍याएको योगदान अतुलनीय छ । स्वास्थ्य क्षेत्रमा मुलुकलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनमा यस संस्थानको विशिष्ट भूमिका रहेको छ । यस संस्थानबाट उत्पादित जनशक्तिले देशमा मात्रै नभएर विदेशमा पनि नेपाललाई चिनाई राख्न ठूलो योगदान पुर्‍याएका छन् ।

यस संस्थानका संस्थापकहरूको दूरदृष्टि एवं अनवरत सामुहिक प्रयासको प्रतिफलस्वरूप आज संस्थानले स्वर्ण वर्षको कोसेढुङ्गा पार गर्न सफल भएको छ । यो हामी सबैका लागि गौरवको विषय हो ।

नेपालको संविधानले सम्पूर्ण नागरिकहरूका लागि स्वास्थ्य सेवामा पहुँचलाई मौलिक हकको रूपमा सुनिश्चित गर्दै स्तरीय स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्ने अधिकारको प्रत्याभूति गरेको छ । यस संवैधानिक प्रावधानलाई मूर्त रूप प्रदान गर्न स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने जनशक्तिको आवधिक प्रक्षेपणको आधारमा विशेषज्ञ डाक्टर, नर्स लगायत स्वास्थ्य प्राविधिकरूको उत्पादनका लागि राज्यद्वारा आवश्यक नीति, कार्यक्रम र योजना तर्जुमा गर्दै भौतिक एवं संस्थागत पूर्वाधारको व्यवस्था गरिनु पर्दछ ।

जनताको आकाङ्क्षा बमोजिम स्वास्थ्य शिक्षा तथा सेवामा सबैको पहुँच स्थापित गर्न स्वदेशमै मेडिकल शिक्षाको प्रवर्द्धन गरी स्वावलम्बी एवम् आत्मनिर्भर स्वास्थ्य प्रणालीको  विकास गर्नु अत्यावश्यक हुन्छ । राज्यको एक अग्रणी स्वास्थ्य संस्थाको रूपमा रहेको यस संस्थाले स्वास्थ्य शिक्षा तथा सेवाको क्षेत्रमा आवश्यक पर्ने जनशक्ति विकासका लागि निरन्तर नेतृत्वदायी भूमिका निभाउने मैले अपेक्षा गरेको छु । साथै‚ विशिष्टीकृत सेवाको लागि संस्थानको प्रयास‚ तयारी र योजनाको म प्रशंसा गर्न चाहन्छु । यसमा सबैको सहयोग अपेक्षित छ ।

मुलुकमा मेडिकल शिक्षाको विस्तारका बारेमा चर्चा गर्दा हामीले सबै प्रदेश, भूगोल र क्षेत्रहरूमा शिक्षा र सेवाको अवसरलाई विकेन्द्रित गर्नु अत्यावश्यक छ । रोगहरूको उपचार गर्न ठूला सहर, राजाधानी र विदेश धाउनुपर्ने परिस्थितिको अन्त्य गरी जनतालाई पायक पर्ने स्थानमै आधारभूत तथा विशेषज्ञ स्वास्थ्य सेवा सहज बनाउन हाम्रो ध्यान केन्द्रित हुनुपर्दछ ।

यस सन्दर्भमा, केही महिनाअघि मात्र जुम्ला  सदरमुकाम स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस तहको पढाई सुरुवात भएको  अवसरमा म आफैं  उपस्थित भएको आज स्मरण गर्न चाहन्छु ।

यस अध्ययन संस्थानबाट अध्ययन पूरा गरेका डाक्टर‚ नर्स तथा प्राविधिकहरूले मुलुकको दूरदराजका क्षेत्रहरूमा समेत सेवा पुर्‍याउदै आउनुभएको छ । भविष्यमा पनि तपाईँहरूले यस सत्कर्मको बाटोमा आफ्नो यात्रा जारी राख्नुहुनेछ भन्ने मलाई विश्वास छ ।

स्वास्थ्य सेवा जनताको जीवनसँग प्रत्यक्ष जोडिएको हुन्छ भन्नेबारे हामी सबै जानकार नै छौं । रोग लागिसकेपछि गरिने उपचार मात्र स्वास्थ्य शिक्षा वा सेवाको विषय होइन । ‘रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु जाती’ भन्ने प्रचलित भनाईको आशय जस्तै यस क्षेत्रको जनशक्तिले स्वस्थ जीवनशैलीको समेत प्रवर्द्धन गरिरहेको छ । यसका लागि यस अध्ययन संस्थानले अवलम्बन  गर्दै आएको अध्यापन परम्पराको समेत म सराहना गर्दछु ।

विज्ञान र प्रविधिको क्षेत्रमा विश्‍वले आज तीव्र विकास गरिरहेको छ । मेडिकल शिक्षाका क्षेत्रमा यस्तो विकास अझ छिटो भैरहेको हुनाले त्यस अनुसारका अत्याधुनिक प्रविधि, उपकरण र अध्ययन पद्धति हामीले पनि उपयोग गर्नु पर्दछ ।

जनतालाई सेवा पुर्‍याउने मुलुककै ठूलो अस्पताल भएको हुनाले त्रिभुवन विश्‍वविद्यालय शिक्षण अस्पतालमा आउने विरामीहरूलाई त्यस्तो प्रविधि र पद्धति उपलब्ध गराई अस्पतालको सेवा र सुविधामा फड्को मार्नु अत्यावश्यक भएको छ । यसमा सरकारका तर्फबाट कुनै कसर बाँकी राखिनु हुँदैन भन्ने मलाई लागेको छ ।

उपचारलाई सहज बनाउन, विरामीलाई सकेसम्म छिटो आराम दिलाउन र हाम्रा डाक्टर‚ नर्स एवम् प्राविधिकहरूको व्यस्त जीवनलाई सजिलो बनाउन समेत आधुनिक प्रविधिले योगदान गर्दछ ।

अन्तमा‚ यस स्वर्ण महोत्सवको अवसरमा संस्थानका पदाधिकारी, प्राध्यापक, डाक्टर, नर्स, प्राविधिक लगायत सम्पूर्ण कर्मचारीहरूलाई पुन: बधाई दिँदै उत्तरोत्तर प्रगतिको हार्दिक  शुभकामना दिन चाहन्छु ।

धन्यवाद

२०७९ श्रावण १ गते आइतबार ।