सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सामुदायिक वन उपभोक्ता महासंघ, नेपालका पदाधिकारीहरूसँगको भेटघाट कार्यक्रममा गर्नुभएको सम्बोधन

सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष तथा पदाधिकारीहरू,

वन क्षेत्रका विज्ञहरू,

राष्ट्रसेवकहरू,

सञ्चारकर्मीहरू ।

सामुदायिक वनको दिगो उपयोग र व्यवस्थापनमा संलग्न पदाधिकारी तथा यस क्षेत्रका विज्ञहरूसँग छलफल गर्न आयोजित यस कार्यक्रममा सहभागी हुन पाउँदा मलाई खुसी लागेको छ । सामुदायिक वनको वर्तमान अवस्था, चुनौति र अवसरहरूबारेमा तपाईंहरूको प्रस्तुतिका लागि धन्यवाद व्यक्त गर्दछु ।

नेपाली संस्कृतिमा प्रकृतिसँग एकाकार भएर बाँच्ने, वन जङ्गल तथा विशेष प्रकृतिका रुख विरुवा एवं जीवजन्तुको पूजा अर्चना गर्ने लामो परम्परा रहिआएको छ । प्रकृति र मानिस बीचको पारस्परिक निर्भरताका कारण व्यक्ति‚ परिवार‚ समुदाय र राष्ट्रकै समृद्धिको निम्ति वन जङ्गल अति महत्वपूर्ण प्राकृतिक स्रोतका रूपमा रहेको छ । वर्तमान समयमा जलवायु परिवर्तनबाट उत्पन्न भएका दुष्प्रभावलाई रोक्न वन क्षेत्रले अतुलनीय भूमिका खेलिरहेको छ । भूस्खलन रोक्न तथा माटो संरक्षण गर्न समेत वन जङ्गल नै सवैभन्दा प्रभावकारी माध्यम बनेको छ ।

अनियन्त्रित वन विनाश र फँडानीलाई लाई रोकी वन जङ्गलको संरक्षण एवं दिगो व्यवस्थापन गर्न राज्यले विभिन्न संवैधानिक‚ नीतिगत एवं कानुनी व्यवस्थाहरू गर्दै आएको छ । यसै सन्दर्भमा वनको संरक्षण गरी त्यसको सदुपयोग मार्फत स्थानीय समुदायको जीवन स्तरमा सुधार गर्ने उद्देश्य लिएर सामुदायिक वनको अवधारणा अभ्यासमा आएको समेत केही दशक पूरा भइसकेको छ ।

जागरुक नागरिकहरूले स्वस्फूर्त रूपमा सिन्धुपाल्चोक जिल्लाबाट सुरु गरेको सामुदायिक वनको अभ्यास आज देशव्यापी रूपमा सफलतापूर्वक लागू भई अन्तर्राष्ट्रिय जगतमा समेत असल अभ्यासको रूपमा स्थापित हुनु हामी सबैका लागि गौरवको विषय हो । आज नेपालका सामुदायिक वनहरूले हाम्रा मैदान, चुरे क्षेत्र र पहाडहरूलाई हरियालीमा रूपान्तरण गरिरहेका छन् । वनलाई नागरिकको जीवनयापनसँग एकाकार गरी हरित अर्थतन्त्रतर्फ पाइला चाल्नमा पनि सामुदायिक वनहरूले नेतृत्व गरिरहेको देखिन्छ ।

वातावरणको दिगो व्यवस्थापन एवं संरक्षण गर्दै मानवीय आवश्यकता र प्रकृतिको स्वाभाविक गतिका बीचमा सन्तुलन कायम गरी आर्थिक वृद्धिको बाटो पहिल्याउनु नै हरित अर्थतन्त्र हो । हामीले अभ्यास गर्दै आएको सामुदायिक वन कार्यक्रमबाट कैयौं विद्यालयहरू, आमा समूह, खानेपानी, स्वास्थ्य चौकी, मठ मन्दिर र पाटी पौवाहरू लाभान्वित भएका छन् । सामुदायिक वनमा आधारित जीविकोपार्जन कार्यक्रमका माध्यमबाट समाजको किनारामा रहेको वर्गको आर्थिक प्रगति तथा नेतृत्व विकासको आधार निर्माण गर्न मद्दत पुगेको छ ।

सामुदायिक वन उपभोक्ता समूहहरूमा महिलाको पचास प्रतिशत सहभागिताबाट लैङ्गिक समानताको हाम्रो यात्रामा ठूलो योगदान पुगेको छ । पर्या-पर्यटनका लागि नयाँ स्थान र उपायहरू सामुदायिक वनबाट प्राप्त भएका छन् । नेपालको हरियो वनले मुलुकलाई कार्बन व्यापारको माध्यम उपलब्ध गराएको छ । जलवायु अनुकूलनका कार्यक्रम लागू गर्न आवश्यक पर्ने आर्थिक स्रोत जुटाउन कार्बन व्यापारले हामीलाई नयाँ सम्भावनाको ढोका खोलिदिएको छ ।

यसरी सामुदायिक वनका माध्यमबाट आधारभूत तहदेखि अन्तर्राष्ट्रिय जगतसम्म पुग्ने हरित आर्थिक चक्र निर्माण भएकाले नेपालको हरियो वन  हाम्रो सामाजिक जीवनको एउटा महत्वपूर्ण पक्ष बनेको छ  । हाम्रो पुरानो भनाईलाई अब हामीले ‘नेपालको वन, हरित जीवन’ तर्फ रूपान्तरण गर्दै सोही अनुरूपको आचरण र व्यवहार प्रदर्शन गर्नुपरेको छ । सरकारी कामकाजदेखि जनताको भान्सासम्म नवीकरणीय ऊर्जाको प्रयोग बढाई अत्यधिक कार्बन उत्सर्जन गर्ने र महँगो डिजेल, पेट्रोल जस्ता जीवाश्म ऊर्जाको प्रयोगलाई कम गर्दै शून्यमा झार्ने लक्ष्य हासिल गर्न हामी सबैले योगदान गर्नुपर्दछ ।

सामुदायिक वन सहितको वन क्षेत्रले हाम्रो देशको ठूलो क्षेत्रफ़ल ढाकेको हुनाले राष्ट्रिय अर्थतन्त्रमा यस क्षेत्रको योगदान बढाउन अत्यन्त आवश्यक छ । सामुदायिक वनमा बहु-उपयोगी बोट विरुवाहरू, फलफूल, जडीबुटी आदिको खेतीलाई प्रोत्साहन गरी यसैमा आधारित उद्यमशीलताको विकास गर्ने कार्यको नेतृत्व लिन म सामुदायिक वन उपभोक्ता महासंघको ध्यानाकर्षण गर्दछु ।

वन पैदावारजन्य सामग्रीहरूको बढ्दो आयात मुलुकले हाल भोगिरहेको विकराल व्यापार घाटाको एउटा मुख्य कारण बनेको छ । स्वदेशी वन-पैदावारजन्य उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्न सके मात्र सबल राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न सकिन्छ । त्यसैगरी, पानीका मुहान जोगाउन तथा भूमिगत पानीको पुनर्भरण प्रक्रियालाई दिगो बनाउन हाम्रा पूर्वजहरूले अपनाएको पोखरी खन्ने र संरक्षण गर्ने उपायलाई नयाँ अभियानका रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको छ । हरेक सामुदायिक वनले कम्तीमा एउटा पोखरी निर्माण गर्ने अभियान चलाई सम्भाव्यता अनुसार कतिपय स्थानमा माछापालन लगायतका व्यवसाय समेत गर्न सकिनेतर्फ पनि म यहाँहरूको ध्यानाकर्षण गर्न चाहान्छु ।

अन्त्यमा, सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले आफ्ना उद्देश्यहरूमा निरन्तर समर्पित रहँदै नेपालको वन क्षेत्रको संरक्षण र व्यवस्थापन गर्ने कार्यमा सफलताको नयाँ उचाई प्राप्त गर्ने विश्वास व्यक्त गर्दछु ।

धन्यवाद ।

२०७९ असार १२ गते आइतबार ।

राष्ट्रपति भवन, महाराजगञ्ज, काठमाडौँ ।