सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले विश्‍व पानी दिवस, २०२२ (२२ मार्च) को अवसरमा दिनुभएको सन्देश

विश्‍व पानी दिवस, २०२२ (२२ मार्च) को सन्देश

विश्व पानी दिवस, २०२२ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा पानीका स्रोतको संरक्षण गर्दै पर्यावरण सन्तुलनमा योगदान गर्न प्रेरणा मिलोस् भनी कामना गर्दछु ।

समस्त जीवन र जगत्‌को अस्तित्व रक्षा गर्ने प्रकृतिप्रदत्त वरदानका रूपमा रहेको पानीको महत्त्व‚ संरक्षण र दिगो प्रयोगका बारेमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९३ देखि हरेक वर्ष मार्च २२ लाई विश्व समुदायले पानी दिवसका रूपमा मनाउँदै आएको छ । नेपालमा यस वर्ष ‘भूमिगत जलस्रोतको महत्त्व बुझौँ‚ सबै मिली संरक्षण गरौँ’ भन्ने राष्ट्रिय संकल्पका साथ विभिन्न जनचेतनामूलक कार्यक्रमसहित विश्व पानी दिवस मनाइरहेका छौँ ।

पानी र प्रकृतिसँग प्राणी जगत्‌को अस्तित्व गाँसिएको छ । पृथ्वीमा जीवको उत्पत्ति नै पानीभित्र भयो । प्राचीन मानव सभ्यताहरू नदीकिनारमा विकास भए । वर्तमान अवस्थामा आइपुग्दा जीवनको अस्तित्व जोगाउन प्रकृति र पानीको संरक्षण गर्नु मानव सभ्यताकै निमित्त चुनौति भएको छ ।

भूमिगत जलस्रोत महत्त्वपूर्ण प्राकृतिक सम्पदा हो‚ जसले पारिस्थितिक प्रणालीलाई दिगो राख्न‚ नदीहरूको बहावलाई व्यवस्थित गर्न‚ जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न र सुरक्षित पिउने पानी परिपूर्ति गर्न मद्दत गर्दछ । बढ्दो शहरीकरण र भौतिक पूर्वाधार निर्माणका क्रममा भएका प्राकृतिक विनाश एवं प्रदूषणका कारण यस्ता स्रोतहरू नष्ट भइरहेका छन् ।

भूमिगत जलस्रोतको अतिदोहन र शहरी क्षेत्रमा निर्माण गरिएका पक्की संरचनाका कारण पुनर्भरणमा अवरोध उत्पन्न भएका कारण जमिनमुनिको पानीको सतह निरन्तर घटिरहेको छ । यसैगरी अव्यवस्थित मानव वस्ती र बढ्दो औद्योगीकरणका कारण भूमिगत जलस्रोत प्रदूषित हुँदै गएको छ । भविष्यमा आउनसक्ने जलसंकटको चुनौतिलाई मध्यनजर गर्दै भूमिगत जलस्रोतको पुनर्भरणका लागि जलाधार क्षेत्रहरूको संरक्षण गर्ने तथा ग्रामीण भेगहरूमा आहाल‚ पोखरी र तालतलैयाहरूको निर्माण गर्ने जस्ता परम्परागत विधिको संवर्द्धन गर्नु पर्दछ । शहरी क्षेत्रमा वर्षात्‌को पानीमार्फत् पुनर्भरणको विकल्प सहितका पूर्वाधार निर्माण गर्न सम्बद्ध सबैले अग्रसरता लिनुपर्दछ । साथै भूमिगत पानी पुनर्भरणमा सहयोग गर्ने विभिन्न प्रजातिका फलफूल तथा बोटविरुवा रोप्ने कार्यलाई देशव्यापि अभियानका रूपमा सञ्चालन गर्दै द्रुत जलप्रवाह हुने भूगोलमा ‘चेक ड्याम’ लगायतका नवीन प्रविधिको प्रयोगद्वारा भूमिगत पानीको पुनर्भरण कार्यलाई प्रोत्साहन गर्न सबैमा आह्वान गर्दछु ।

भूमिगत जलभण्डारणमा वृद्धि गरी हरेक नागरिकसम्म स्वच्छ पिउँने पानीको पहुँच विस्तार गर्न सकिन्छ ।  किसानहरूलाई सिंचाईको पहुँच उपलब्ध गराई कृषि उत्पादन वृद्धि गर्दै  खाद्य सुरक्षा सुनिश्चित गर्न सकिन्छ । पानीको संरक्षण र सदुपयोगमार्फत् दिगो विकासका लक्ष्य परिपूर्ति गर्दै समृद्ध नेपाल सुखी नेपालीको साझा राष्ट्रिय आकांक्षा हासिल गर्न विश्व पानी दिवसले प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्दछु ।

२०७८ साल चैत्र ८ गते मंगलबार ।