सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले उधौली पर्व, २०७८ को अवसरमा दिनुभएको सन्देश

उधौली पर्व, २०७८ को शुभकामना सन्देश

किराँत समुदायको महान् पर्व उधौलीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

किराँत समुदायका मूलत: राई, लिम्बु, सुनुवार र याख्खाहरूको महान् चाड उधौली पर्व हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरू भई १५ दिनसम्म विभिन्न कार्यक्रमहरूसहित मनाउने गरिन्छ । हिउँद सुरू भएपछि जाडो छल्न मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट उँधो अर्थात् बेँसीतिर बसाइँ सर्ने समयमा मनाइने उधौली पर्वको अवसरमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृपूजा गरिनुका साथै राम्रो फसलको लागि भूमिप्रति आभार व्यक्त गर्दै अन्नको सह बसोस् भन्ने कामनासहित भूमिको पूजा गर्ने गरिन्छ । साथै यस अवसरमा किराँत युवायुवती र वृद्धवृद्धा समेत परम्परागत पहिरनमा ढोल र झ्याम्टाको तालमा सामुहिक रूपमा साकेला नृत्य गर्दै रमाइलो गर्ने गर्दछन् ।

ऋतु परिवर्तनको प्राकृतिक चक्रसँगसँगै आफ्नो जीवनचर्यालाई एकाकार बनाउन अभ्यस्त प्रकृति र पितृपूजक किराँत समुदायको यो चाडले हाम्रो मौलिक सांस्कृतिक परम्परालाई समृद्ध तुल्याएको छ । यस उधौली पर्वले मानव जीवन र प्रकृति बीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्दै मानव जातिको अस्तित्वको निरन्तरताका लागि प्रकृति र वातावरणको संरक्षण अपरिहार्य रहेको सन्देश समेत दिएको छ भन्ने मलाई लागेको छ ।

अन्तमा‚ यस पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्‌भाव तथा सहिष्णुता अभिवृद्धिका साथै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्‍वास सहित पुन: उधौली पर्वको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद ।

२०७८ पुस ४ गते आइतबार ।