सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले भूकम्पपश्चातको पुनर्निर्माणमा नेपालको अनुभवसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई  गर्नुभएको सम्बोधन

अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन समारोहका अध्यक्ष,

नेपाल सरकारका माननीय मन्त्रीहरू,

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतसहित प्राधिकरण परिवार,

नेपालस्थित विभिन्न मुलुकका महामहिम राजदूतहरू,

विभिन्न बहुपक्षीय एवं द्विपक्षीय दातृ निकायका प्रमुखहरू,

सञ्चारकर्मीहरू,

भौतिक तथा अनलाइन माध्यमबाट यस समारोहमा भाग लिइरहनु भएका विभिन्न मुलुकका मन्त्रीहरु,

सम्पूर्ण भद्रमहिला तथा सज्जनवृन्द !

वि.सं. २०७२ साल बैशाख १२ र २९ गतेका विनाशकारी भूकम्प र तत्पश्चातका परकम्पहरूका कारण जन–धनको ठूलो क्षति भएको आज साढे ६ वर्ष पूरा भैसकेको छ । उक्त भूकम्पका कारण करिब नौ हजार जनाको ज्यान गयो भने त्यसबाट हाम्रो कूल जनसंख्याको करिब एक तिहाई हिस्सा प्रभावित बन्न पुग्यो ।

भूकम्पपश्चातको पुनर्निर्माणसम्बन्धी हाम्रा अनुभवहरू साझा गर्ने आजको यस कार्यक्रममा सर्वप्रथम उक्त विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनु भएका सम्पूर्ण दाजुभाई तथा दिदिबहिनीहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु तथा उहाँका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।

संविधान सभाबाट नेपालको नयाँ संविधान निर्माण गर्ने ऐतिहासिक कार्यमा मुलुक जुटिरहेको अवस्थामा गएको उक्त भूकम्प हाम्रो पुस्ताले भोगेको सबैभन्दा ठूलो विपद थियो । त्यस्तो अवस्थामा नेपाली जनताले देखाएको अदम्य साहस, धैर्यता र सहयोगी भावना एवं अन्तर्राष्ट्रिय समुदायको साथ र सहयोगबाट हामीले भूकम्प पछिको उद्धार तथा राहत कार्यहरू प्रभावकारी ढंगले सम्पन्न गर्न सक्यौँ ।

मुलुकका सबै राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज र जनसमुदायको साथ लिँदै नेपाल सरकारले सञ्चालन गरेको उद्धार तथा राहत कार्य सर्वत्र प्रशंशित भयो ।

भूकम्पले हामीलाई ठूलो विपद्मा पा¥यो, तर त्यसले एकैपटक हामी सबैको आँखा खोलिदियो र ठूलो पाठ सिकायो ।

हाम्रो मुलुक भूकम्प धेरै आउने सम्भावना भएको भूगोलभित्र पर्दछ, जसलाई हामी बदल्न सक्तैनौँ । हामीले व्यहोर्नुपरेको जनधनको क्षति भूकम्पका कारण नभई हामीले निर्माण गरेका कमजोर संरचनाका कारण रहेछ भन्ने तथ्य झनै स्पष्ट हुन पुग्यो । तसर्थ हामीले हाम्रा भौतिक संरचनाहरूलाई बलिया र भूकम्प प्रतिरोधी बनाउन सकेमा भूकम्पका कारण हुने क्षतिको न्यूनीकरण गर्न सकिन्छ ।

अनि हामीले अठोट ग¥यौं– हामी यस विनाशलाई अवसरमा बदल्ने छौँ, हाम्रा क्षतिग्रस्त निजी आवास, विद्यालय, स्वास्थ्य संस्था, साँस्कृतिक सम्पदा तथा अन्य पूर्वाधार एवं संरचनाहरूलाई अब कहिल्यै नढल्ने गरी भूकम्प तथा विपद प्रतिरोधी बनाउनेछौँ । हामीले संकल्प ग¥यौं—ती संरचना तथा पूर्वाधारहरू हाम्रा भावी पुस्तालाई समेत उपयोगी हुनेगरी अझ सुविधा सम्पन्न र राम्रा बनाउने छौँ ।

यिनै अठोटका साथ हामीले अन्तर्राष्ट्रिय समुदायको समेत सहयोग लिएर भूकम्प पछिको करिब दुई महिनाभित्रै हाम्रो क्षतिको आँकलन गर्न सक्यौं, पिडिएनए प्रतिवेदन तयार पा¥यौँ र २०७२ आषाढ १४ एवं १५ गते काठमाडौँमा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना ग¥यौं ।

नेपाली जनतालाई उक्त पीडाबाट बाहिर निकाल्न अन्तर्राष्ट्रिय समुदायले खुला हृदयका साथ हामीलाई करिब ४.१ अर्ब डलरको वित्तीय एवं अन्य प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त ग¥यो, जुन हामीले तय गरेको भूकम्प पछिको पुनर्निर्माण तथा पुर्नस्थापना कार्यको कार्यान्वयनका निम्ति कोशेढुंगा सावित भयो ।

अन्तर्राष्ट्रिय समुदायबाट प्रतिबद्धता अनुसारको अधिकांश सहयोग प्राप्त भैरहेको सुन्दा मलाई अत्यन्त खुशी लागेको छ । हाम्रो विकासमा साझेदार सम्पूर्ण मित्रराष्ट्र एवं अन्तर्राष्ट्रिय संघ संस्थाहरूप्रति म हार्दिक आभार प्रकट गर्दछु ।

भूकम्पबाट हामीले भोगेको क्षतिको आयाम अत्यन्त व्यापक हुनाले त्यसलाई प्रभावकारी सम्बोधन गर्न फरक प्रकारको तदारुकता जरुरी थियो । त्यसलाई मनन् गर्दै  भूकम्प पछिको ठूलो पुनर्निर्माण तथा पुर्नस्थापना कार्यका निम्ति हामीले एक स्वायत्त एवं अधिकारसम्पन्न छुट्टै निकायको आवश्यकता महशुश गरी व्यवस्थापिका संसदबाट पारित बिशेष ऐन बमोजिम वि.सं. २०७२ साल पौषमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको स्थापना ग¥यौं । प्राधिकरणले तत्काल सबैको साथ र सहयोगमा पुनर्निर्माण तथा पुर्नस्थापना कार्यलाई अघि बढायो ।

स्रोत साधनको सीमितता, जटिलतम भौगोलिक अवस्था, एकात्मक राज्य प्रणालीबाट संघात्मक राज्य प्रणालीमा प्रवेश गर्दै गरेको मुलुकको परिवेश आदि चुनौतीहरूको सामना गर्दै जनताका लाखौं निजी आवास लगायतका संरचनाहरूको पुनर्निर्माण तथा भूकम्प पीडित जनताको पुर्नस्थापना कार्य आफंैमा विशाल एवं गहन कार्य थियो । यसका लागि हामीले मुलुकका सबै राजनीतिक दल, नेपाल सरकारका सबै निकायहरू, प्रदेश सरकार र स्थानीय तहहरू, निजी क्षेत्र, भूकम्प प्रभावित क्षेत्रका सबै जनप्रतिनिधि एवं जनसमुदायहरूलाई राष्ट्रिय अभियानमा  एकैसाथ परिचालित गर्नुपर्ने थियो । यस सन्दर्भमा प्राधिकरण स्थापना भएको तीन हप्ता भित्रै नेपाल सरकारले मुख्य राजनीतिक दलका प्रमुखहरू एवं अन्तर्राष्ट्रिय समुदाय तथा अन्य सरोकारवाला निकायहरूको सहभागितामा २०७२ साल माघ २ गते सुरुवात गरेको ‘भूकम्प पछिको पुनर्निर्माण सम्बन्धी महाअभियान’ लाई स्मरण गर्नु म सान्दर्भिक ठान्दछु ।

उक्त महाअभियानका सन्दर्भमा भूकम्प पीडित जनता र मुलुक समक्ष हामीले गरेका बाचा पूरा गर्न स्मरण गराउनु र आफ्नो तहबाट आवश्यक सहजीकरण गर्नुपर्ने विषयलाई मैले आफ्नो कर्तव्य ठानेँ । यस अवधिमा राष्ट्रिय पुननिर्माण प्राधिकरण तथा मैदानमा अहोरात्र खटिनुभएका निर्माणकर्मीहरूसँग साक्षात्कार गर्ने र पुनर्निर्माण कार्यको स्थलगत अवलोकन गर्ने अवसर पनि मलाई मिलिरह्यो ।

‘अझ बलियो र राम्रो पुनर्निर्माण’ भन्ने अवधारणा आत्मसात गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्थापनाको ६ वर्ष भित्रमा सातलाख भन्दा बढी भूकम्प पीडित परिवारहरूका लागि आवासको व्यवस्था गर्नुका साथै भूकम्पबाट क्षतिग्रस्त अधिकांश विद्यालय, स्वास्थ्य संस्था र पुरातात्विक सम्पदाहरूको पुनर्निर्माण सम्पन्न गरेको छ ।

आज हामी गर्वका भन्न सक्छौं– भूकम्पले ढलेको धरहरा हामीले अझ बलियोसँग उठाएका छौं  । आज हामी भन्न सक्छौं– भूकम्पले सुकाएको रानीपोखरी फेरि गुल्जार भएको छ । त्यससँगै अवस्थित ऐतिहासिक दरवार हाइ स्कूल अझ सुन्दर र बलियो बनेको छ । र, आज हामी यो पनि भन्न सक्छौं– बारपाक र लाप्राकसहित प्रभावित क्षेत्रका जनता आफ्नै घरमा फर्कनुभएको छ । अहिले केहि प्रतिनिधि उदाहरणहरू मात्र मैले उल्लेख गरें । वास्तवमा पुनर्निर्माणको यस अभियानले हाम्रो अठोटलाई प्रतिबिम्बित गर्दछ ।

पुनर्निर्माण तथा पुनस्र्थापनाको यस कार्यलाई हिजो भन्दा अझ बलियो, भूकम्प प्रतिरोधी एवं हाम्रा भावी सन्ततीहरूले समेत उपभोग गर्न सक्ने गरी सम्पादन गर्न सफलता हासिल गरेकोमा म प्राधिकरणको नेतृत्व, सम्पूर्ण प्राधिकरण परिवार र उक्त कार्यमा सहयोग पु¥याउने तीनै तहका सरकार, जनप्रतिनिधिहरू, निजी क्षेत्र, सञ्चारकर्मीहरू, भूकम्प प्रभावित क्षेत्रका सम्पूर्ण जनसमुदाय एवं प्रत्यक्ष वा परोक्ष रूपले पुनर्निर्माण कार्यमा संलग्न हुनुभएका सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु  ।

 

साथै, दुःखको त्यस घडीमा हामीलाई साथ र सहयोग पु¥याउने अन्तर्राष्ट्रिय समुदायप्रति पुनः हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।

भूकम्प पछिको पुनर्निर्माण तथा पुर्नस्थापनाका क्रममा हामीले प्राप्त गरेका अनुभव तथा सिकाईहरू अन्तर्राष्ट्रिय समुदाय तथा हाम्रा भावी पुस्ताका लागि समेत अनुकरणीय हुनेछन् भन्ने मलाई लाग्दछ । यस सन्दर्भमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण कार्यसँग सम्बन्धित सबै पक्षलाई संलग्न गराई तयार पारेका दस्तावेजहरू विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा लाग्ने जो कसैका लागि महत्वपूर्ण ज्ञानका भण्डारका रूपमा रहनेछन् भन्ने मेरो विश्वास छ ।

हामीलाई दुःख परेका बखत साथ दिने अन्तर्राष्ट्रिय समुदायसँग हाम्रा अनुभव र सिकाईहरू साझा गर्ने, भविष्यमा सुधार गर्नुपर्ने क्षेत्रहरू पहिल्याउने र विशेष गरी हाम्रो मुलुकलाई विपद् जोखिमबाट सुरक्षित मुलुकका रूपमा उभ्याउनका लागि अवलम्बन गर्नुपर्ने मार्गचित्र समेत पहिल्याउने उद्देश्यले आयोजना हुन लागेको यो ‘अन्तर्राष्ट्रिय सम्मेलन’ अत्यन्त महत्वपूर्ण छ भन्ने मैले ठानेको छु ।

म यस सम्मेलनको पूर्ण सफलताको कामना गर्दछु ।

अन्तमा, भूकम्प पछिको पुनर्निर्माण तथा पुर्नस्थापना कार्यमा हामीले प्राप्त गरेका सफलता, सिकाई र अनुभवहरूको जगमा उभिएर हाम्रो मुलुकलाई सबै प्रकारका विपद् जोखिमबाट सुरक्षित मुलुक निर्माणतर्फ लाग्न म सबैमा हार्दिक आह्वान गर्दछु ।

धन्यवाद !

२०७८ साल मंसिर २२ गते बुधबार ।

होटल हायात रिजेन्सी, काठमाडौँ