सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले बीपी कोइराला स्मृति क्यान्सर अस्पताल भरतपुरमा सेवा गर्न आएको चिनियाँ डाक्टरको टोलीलाई गर्नुभएको सम्बोधन

बीपी कोइराला क्यान्सर अस्पतालमा सेवा गर्न चीनको हुबेई प्रान्तबाट आउनुभएका तेह्रौं मेडिकल टीमका सम्पूर्ण सदस्यहरू सहित सबैलाई म राष्ट्रपति कार्यालयमा हार्दिक स्वागत गर्दछु । यस अवसरमा अस्पतालको उन्नति र प्रगतिमा समर्पित भई बिरामीको सेवामा सदैब खटिने अस्पताल परिवार र चिनियाँ मित्रहरूलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।

बीपी कोइराला स्मृति क्यान्सर अस्पताल मित्र राष्ट्र जनवादी गणतन्त्र चीन सरकारको पूर्ण आर्थिक तथा प्राविधिक सहयोगमा स्थापना भई क्यान्सरको उपचारमा विशिष्टीकृत सेवा प्रदान गर्दै आएको देशकै ठूलो र  महत्वपूर्ण अस्पताल हो । निर्माण कार्य पूरा भई करिब एक्काइस वर्षदेखि अस्पतालले निरन्तर सेवा दिदै आएको छ ।

वातावरण प्रदुषण, बिषादीयुक्त खाद्य पदार्थ, सुर्ती तथा मादकपदार्थ सेवन लगायतका अस्वस्थ जीवनशैलीका कारण क्यान्सर रोग आज मानव जीवनका लागि विश्वव्यापी चुनौतिको रूपमा देखा परेको छ । “रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु राम्रो” भन्ने उक्तिलार्इ आत्मसात गरेर यस अस्पतालले क्यान्सर रोगको निदान र उपचार सेवाका अतिरिक्त राष्ट्रिय क्यान्सर रोकथाम तथा नियन्त्रण कार्यक्रम अन्तरगत क्यान्सरको रोकथाम सहितका सेवाहरू उपलब्ध गराइरहेकोमा प्रशंसा गर्दछु ।

छिटो छरितो, सर्वसुलभ र गुणस्तरिय स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच अपरिहार्य हुन्छ । नेपाल जस्तो विकासशील राष्ट्रमा स्रोत साधन तथा सक्षम जनशक्ति प्राप्त गरी क्यान्सर बिरामीको लागि समर्पित गर्नु गराउनु अझै पनि चुनौतिको विषय भएको छ ।

यस परिवेशमा अस्पतालको स्थापनापश्चात् सेवा प्रारम्भ हुँदा क्यान्सर रोगको उपचार गर्न नेपालभित्र नै दक्ष जनशक्ति विकास गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै मित्रराष्ट्र चीन सरकारको सहयोगमा विशेषज्ञ चिनियाँ मेडिकल टिम अस्पतालमा नै उपस्थित भई नेपाली डाक्टर र नर्सिङ स्टाफलाई प्रशिक्षित गराउने कार्य शुरु भएको स्मरणीय छ । हाल तेह्रौं चिनियाँ मेडिकल टीमसम्म आइपुग्दा क्यान्सर रोगको उपचारका लागि आवश्यक स्वदेशी दक्ष जनशक्ति विकासमा उल्लेखनीय प्रगति भएको छ । चीन सरकारबाट विभिन्न समयमा उपलब्ध स्वास्थ्य उपकरणबाट अस्पतालको आफ्नै प्रविधि विकासका साथै चिनियाँ प्रविधि हस्तान्तरणमा समेत ठूलो योगदान पुगेको मलाई लागेको छ । यसबाट बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई राष्ट्रिय क्यान्सर प्रतिष्ठानको रूपमा विकास गर्ने अस्पतालको लक्ष्य प्राप्तिमा समेत सहयोग पुग्नेछ भन्ने मैले अपेक्षा गरेको छु ।

आज विदाई हुन गइरहेको तेर्हौं चिनियाँ मेडिकल टीममा विशेषज्ञ सदस्यका साथै सहयोगी समूहले कोभिड– १९ जस्तो महामारीको समयमा समेत नेपालमा रही अस्पतालको सञ्चालन र विकासमा गर्नुभएको योगदान अत्यन्तै प्रशंसनीय रहेको छ । म तपाईँहरूलाई पुन: एक पटक हार्दिक धन्यवाद दिंदै उहाँहरूको व्यावसायिक एवं व्यक्तिगत जीवनका लागि उत्तरोत्तर प्रगतिको कामना गर्दछु । यो कार्यक्रम आयोजना गर्नुभएकोमा बीपी कोइराला क्यान्सर अस्पताल परिवार तथा यहाँ उपस्थित चीनका महामहिम राजदूतप्रति धन्यवाद प्रकट गर्दछु !

धन्यवाद

सोमबार १८ असोज २०७८

राष्ट्रपति कार्यालय, महाराजगन्ज