सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सोनम ल्होसार २०७७ को अवसरमा दिनुभएको शुभकामना सन्देश

सोनम ल्होसार, २०७७ को शुभकामना सन्देश

तामाङ समुदायको नयाँ वर्षको रूपमा मनाइने सोनम ल्होसार पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

चन्द्र पात्रोअनुसार प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइने यस पर्वमा तामाङ समुदायले कूल पूजा, प्रकृति पूजा र बुद्ध शिक्षाको स्मरण गर्नुका साथै आफन्तजन भेला भई भोजन एवम् मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने प्रचलन रहिआएको छ । यो पर्व तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेश लगायत देशका विभिन्न भागमा बसोबास गर्ने तामाङ सहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङवा, भोटे, दुरा, लेप्चा आदि जातिहरूले आ-आफ्नै शैली र परम्पराअनुसार मनाउँदै आएको पाइन्छ ।

विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान र अमूल्य सम्पदा पनि हो । विविधतामा एकतामाथि गर्व गर्ने आधार हामीलाई यी चाडपर्वहरूले दिएका छन् । यस्ता पर्वहरूले हाम्रा मौलिक संस्कृति प्रवर्द्धन गर्न, सामुदायिक ऐक्यवद्धता एवं सामाजिक सद्‍भाव अभिवृद्धि गर्न र बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

अन्त्यमा, सोनम ल्होसार पर्वले सबै नेपाली बिचको एकतालाई अझ सुदृढ गर्दै देशमा शान्ति, सद्‍भाव र सहिष्णुता कायम गरी आर्थिक, सामाजिक र सांस्कृतिक रूपले समृद्ध नेपाल निर्माण गर्न सबैमा प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद ।

२०७७ साल माघ ३० गते, शुक्रबार ।