सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले त्रिभुवन विश्वाविद्यालयको उनन्चासौँ दीक्षान्त समारोहमा गर्नु भएको सम्बोधन

त्रिभुवन विश्वविद्यालयका कुलपति तथा सम्माननीय प्रधानमन्त्रीज्यू,

त्रिभुवन विश्वविद्यालयका उपकुलपतिज्यू,

शिक्षाध्यक्ष एवम् रजिस्ट्रारज्यू,

आमन्त्रित महानुभावहरू,

अभिभावक तथा दीक्षित हुनुहुने छात्रछात्राहरू,

महिला तथा सज्जनवृन्द !

त्रिभुवन विश्वाविद्यालयको उनन्चासौँ दीक्षान्त समारोहमा उपस्थित हुन पाउँदा मलाई खुसी लागेको छ । यस गरिमामय समारोहमा आमन्त्रण गरी प्राज्ञिक वर्ग तथा देशको भविष्यका कर्णाधार प्रिय विद्यार्थी समुदायसँग अन्तरक्रिया गर्ने अवसर प्रदान गर्नुहुने विश्वविद्यालय परिवार धन्यवादका पात्र हुनुहुन्छ । आज दीक्षित हुन लाग्नुभएका तपाईँ सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै तपाईँहरूबाट वरद नेतृत्वमा देशले चौतर्फी उन्नति र प्रगतिको बाटोमा अगाढि बढोस् भन्ने सबैमा मेरो शुभकामना छ ।

राष्ट्र निर्माण र राष्ट्रिय समृद्धिका लागि उच्च शिक्षाको जननीका रूपमा विश्वविद्यालयजस्तो प्राज्ञिक संस्थाहरूको अहम् भूमिका रहने कुरा निर्विवाद छ । कुनै पनि राष्ट्रको समृद्धि त्यहाँको प्राकृतिक स्रोतमा मात्र निर्भर नभई त्यसको समुचित परिचालनका लागि आवश्यक ज्ञान, सीप र प्रविधिको विकास र प्राप्तिमा निर्भर हुन्छ । आफ्नो योजनाबद्ध विकासको अनुभवबाट संसारका विकसित र विकासशील मुलुकहरूले यो कुरा सिद्ध गरिसकेका छन् । यसलाई अझ प्रभावकारी, जीवनोपयोगी र मुलुकका लागि उपलब्धिमूलक बनाउन त्रिभुवन विश्वविद्यालयले प्रदान गर्ने उच्च शिक्षा समयसापेक्ष, बजारमुखी र विश्वबजारमा प्रतिस्पर्धी बनाउनेतर्फ समयसापेक्ष नीति अँगाल्नु जरुरी छ ।

राष्ट्रको इतिहास र संस्कृतिसँग सम्बन्धित विषयवस्तुलाई जोगाइराख्ने दायित्व पनि त्रिविलाई छ । अझै पनि राष्ट्रको करिब ८० प्रतिशत विद्यार्थी भार लिएर निरन्तर क्रियाशील रहनु त्रिवि सम्बद्ध सबैका लागि खुसीको विषय हो ।

शिक्षित हुनेलाई दीक्षित गर्ने विद्वान् र विदुषीहरूको यस जमघटमा राष्ट्रहितप्रतिको सुमार्ग निर्धारण होस् । आज हामी हाम्रो राष्ट्रलाई स्वतन्त्रता, समानता, न्याय र समृद्धिको प्रगतिशील मार्गमा अघि बढाउनका लागि हिँडेका छौँ । देश परिवर्तनको बाटोमा अघि बढ्दाका सङ्क्रमणकालीन चुनौती र विघ्नबाधाहरूको सामना पनि तपाईँ हामीहरूले नै गर्नुपरेको छ । नालन्दादेखि सुरु भई हालसम्मका प्रसिद्ध विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी र कर्मचारीका सामुन्ने हामीले हासिल गरेको ज्ञान प्रज्ञान, कला कौशल, सिप र क्षमताबाट हामीले लघुताबोध गर्नु हुँदैन भन्ने मेरो मान्यता छ । राष्ट्रिय सत्चरित्र निर्माणका माध्यमबाट राष्ट्र निर्माण र राष्ट्रहितप्रति समर्पित भई उपलब्धि हासिल गर्नुमा नै यस जेष्ठ विश्वविद्यालयको स्थापना र यसमा सञ्चालित प्राध्यापन र अध्ययनको औचित्य पुष्टि हुन्छ । विद्वान् सर्वत्र पुज्यते एवम् अप्प दीपो भव: का भावबाट प्रवृत्त भई गरिने हरेक कर्मबाट सिर्जित प्रतिफल नै अध्ययन-अध्यापनको मूल सार हो ।

उपस्थित प्राज्ञिक वर्ग एवम् प्रिय विद्यार्थीहरू,

तपाईँहरूलाई पनि जानकारी भएकै हो- लिग अफ नेसन्स -league of nations)     को असफलतापछि संयुक्त राष्ट्रसङ्घको जन्म भयो । द्वितीय विश्वयुद्धको समाप्तिपश्चात् व्यवहारमा आएको संयुक्त राष्ट्रले आज ७८ वर्ष पूरा गरेको छ । तर यताका दशकहरू अस्थिरता र द्वन्द्वउन्मुख देखिन्छन् । यस्तो सांसारिक पृष्ठभूमिमा हाम्रो देशमा नेपाली जनताको दु:ख र त्यागपश्चात् जनता सार्वभौम हुने लोकतान्त्रिक व्यवस्थाको स्थापना भएको छ । समावेशी विशेषतायुक्त यस व्यवस्था र अहिलेको संविधानले सामाजिक एकता र समानता नेपाली समाजमा लागू गर्ने क्रममा रहेको छ । हाम्रो राष्ट्रिय एकताका लागि यो अत्यन्तै महत्त्वपूर्ण पक्ष हो भनेर हामीले बुझ्न जरुरी छ ।

वर्तमान युगमा शिक्षाबिनाको समाजको कल्पना पनि गर्न सकिँदैन । त्यसैले शिक्षा विकासका लागि पर्याप्त नभए पनि नेपाल सरकारले शिक्षा क्षेत्रमा ठूलो लगानी गर्दै आएको छ । त्यसैको प्रतिफल र तपाईँहरूको परिश्रमसमेतका कारण आज तपाईँहरू यो स्थानमा हुनुहुन्छ । तपाईँहरूमा हाम्रो मुलुकको भाग्य र भविष्य जोडिएको छ । राज्यको लगानी भन्नुको तात्पर्य जनताकै लगानी हो । यसर्थ यहाँहरूको राष्ट्र र जनताप्रति केही दायित्व, केही कर्तव्य छ । यो दायित्व र कर्तव्य निर्वाह गर्ने कुरामा यहाँहरू चुक्नु हुने छैन भन्नेमा पनि म आशावादी छु । साथै, तपाईँहरूले प्राप्त गर्नुभएको ज्ञान, सिप र प्रविधि राष्ट्र निर्माणका लागि उपयोगी हुनेछ र एउटा सक्षम, सबल तथा समृद्ध राष्ट्र निर्माणका लागि आज दीक्षित हुने तपाईँ छात्रछात्राहरूको भूमिका महत्त्वपूर्ण हुनेमा म विश्वस्त छु ।

प्रिय विद्यार्थीहरू,

आजको दिन तपाईँहरूका लागि अविस्मरणीय दिन हो । विद्यार्थी जीवनमा यस्तो दिन पटक-पटक पुनरावृत्ति हुँदैन । आज तपाईँहरूको अनुहारमा मैले नेपालको सुन्दर अनुहार प्रतिविम्बित भइरहेको पाएको छु । तपाईँहरूले प्राप्त गरेको ज्ञान र सिप र दक्षता बोकेर उत्पादनशील कार्यका लागि जाँदै हुनुहुन्छ । भोलि देशलाई कुन दिशामा लैजाने हो, त्यो तपाईँहरूकै हातमा छ । देशबाट मैले के पाएँ भन्दा पनि मैले देशलाई के दिएँ, के दिँदै छु वा भविष्यमा के योगदान गर्न सक्छु भन्ने कुराको सकारात्मक सोच तपाईँहामीमा आउन सकोस् । आजको पवित्र दिनले हामीलाई देश र जनताप्रति समर्पित  हुने भाव  पैदान गर्न प्रेरित गरोस् । म यही कामना गर्दछु ।

आजको यस प्रतिस्पर्धात्मक पर्यावरणमा तपाईँहरूले व्यहोर्नुपरेको चुनौतीप्रति राष्ट्र अनभिज्ञ छैन । एकातिर पढाइमा अब्बल बन्नुपर्ने दबाब अभिभावक र समाजबाट हुन्छ भने अर्कोतर्फ आकर्षक रोजगारी पाइन्छ कि पाइन्न भन्ने चिन्ता पनि रहिरहन्छ । यस प्रकारको अवस्थाले हाम्रा भविष्यका आशाहरू मानसिक तनावमा परिरहेका छन् । यस्तो अवस्थाको अन्त्य अत्यन्तै आवश्यक छ भन्ने मलाई लाग्दछ ।

नेपाल यस क्षेत्रकै सन्दर्भमा पनि सभ्यता र संस्कृतिको सङ्गमस्थलका रूपमा रहेको छ । यो हाम्रा लागि अवसरका साथै शक्ति पनि हो । बुद्ध र सीताको पवित्र यस भूमिलाई पदार्थवादी संस्कृतिमा डुबेको संसार अनुकूल बनाउन सक्नुपर्छ । सभ्यता र संस्कृतिको महत्त्वबारे कुरा गर्दा यससँग सम्बन्धित एउटा अर्को पक्षप्रति पनि तपाईँहरूको ध्यानाकर्षण गराउन चाहन्छु । नेपालको अन्तर्राष्ट्रिय पहिचान र हाम्रो जलवायुलाई स्थिर राख्ने कार्य नेपालका उच्च पहाड, खासगरी सगरमाथाले गरेको छ । तर विश्वको बढ्दो तापमानले गर्दा हाम्रो सभ्यताको प्रतीक हिमशिखर र सगरमाथा कालो पहाडका रूपमा परिणत हुँदैछन् । स्मरण रहोस्, नेपाल सरकारले न केवल पेरिस सम्झौता २०१५ अपितु २०४५ सम्ममा कार्बन उत्सर्जनलाई शून्य तहमा झर्ने प्रतिबद्धता राखेको छ । यसप्रति सबैको चासो र चिन्ता रहिरहन आवश्यक छ ।

अन्त्यमा, विश्वविद्यालयको यस उनन्चासौँ दीक्षान्त समारोहमा सहभागी छात्रछात्राहरूलाई पुन: एकपटक हार्दिक बधाई दिँदै सफल र सुखद र सफल भविष्यको कामना गर्दछु ।

जय नेपाल !

रामचन्द्र पौडेल

राष्ट्रपति

२०८० पुस ३ गते मङ्गलबार