सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले जनकपुरको नागरिक अभिनन्दन तथा महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रको उद्घाटन समारोहमा गर्नुभएको सम्बोधन

महान् मिथिला-सभ्यताका वन्दनीय सन्तति, दाजुभाइ, दिदीबहिनीहरू !

राजर्षि विदेह जनक र साक्षात् आदिशक्ति भूमिजा जानकीको प्राकट्यभूमि, याज्ञवल्क्य, अष्टावक्र, गार्गी र मैत्रेयीको ज्ञानदीप्त धरित्री, विश्वकै प्रथम ग्रन्थ ऋग्वेदको प्रथम मण्डलका मन्त्रद्रष्टा ऋषिको अवतरण भूमि, न्याय, वैशेषिक, साङ्ख्य, मीमांसाजस्ता गहन दर्शनको प्रतिपादन एवम् अष्टावक्र महागीता तथा बृहदारण्यक उपनिषद्जस्ता महान् ग्रन्थ-अन्तर्निहित तत्त्वविमर्शको परा-चिन्तन-भूमि, सृष्टिको रहस्यबीज गर्भित यस देवस्थलको पावन भूमिमा पाइला नटेकी शिरै टेकी हिँड्नुपर्ने ठाउँमा पाइला टेक्ता पनि पाप लागेको हो कि भन्ने अनुभूतिसहित म यस माटोको धूलोको चन्दन पटक-पटक आफ्नो शिरमा लगाउँछु । म यहाँहरूको हृदयमा विराजित भगवत-तत्त्वलाई पटक-पटक प्रणाम गर्दछु ।

मधेश प्रदेशअन्तर्गत रहेको भोजपुरा क्षेत्रको सभ्यता, भाषा, साहित्य, संस्कृति र कलाको गौरवमय, सुदीर्घ परम्परा रहेको छ । इस्लामी तहजिब र असनमा हामीलाई फख्र छ । धनुषाको जानकी मन्दिर, महोत्तरीको जलेश्वरनाथ मठ र रेजा मजार, सप्तरीको सखडा भगवती मन्दिर, सिरहाको सलहेस फूलबारी, रौतहटको वीरभूमि समनपुर, सर्लाहीको नारीमन ताल, बाराको गढीमाई मन्दिर, बाराकै सिम्रौनगढ, पर्साको राष्ट्रिय निकुञ्ज आदि धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलहरू पर्यटकीय दृष्टिले महत्त्वपूर्ण हुन् । सबैको सहयोगले पर्यटन केन्द्रका रूपमा यी स्थलहरूको विकास हुनुपर्दछ ।

नेपालको राजनीतिक इतिहासमा २००७ सालदेखि उठेका प्रत्येक लोकतान्त्रिक आन्दोलनहरूमा मधेश र खासगरी जनकपुरको अग्रणी भूमिका रहेको छ । यिनमा दुर्गानन्द झा, कामेश्वर-कुश्वेश्वरजस्ता अनेक ज्ञातअज्ञात दिव्यआत्माहरूले आफ्नो प्राणको आहूति दिएका छन् । म ती सबै सहिदहरूप्रति नमनसहित श्रद्धाञ्जली अर्पित गर्दछु । यस अवसरमा महान् लोकतान्त्रिक योद्धा, कीर्तिशेष, सर्वश्री महेन्द्रनारायण निधि, सरोज कोइराला, बोधप्रसाद उपाध्याय, रामनारायण मिश्र, सेख इद्रिस, तेजबहादुर अमात्य, गजेन्द्रनारायण सिंह, रामराजाप्रसाद सिंह, विष्णुबहादुर मानन्धर आदि सबै अग्रजको पावन स्मृतिमा उहाँहरूप्रति निष्ठाका शब्दपुष्प चढाउँछु।

देशमा आज हामी सबैले मिलेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका छौँ र आज हामी सबैले एकताबद्ध भई सामाजिक न्याय स्थापनाको जगमा उभिई भौतिक समृद्धिसँगै राष्ट्रिय जीवनका सबै आयाम राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, भौगोलिक, प्राज्ञिक, साहित्य, कलालगायतमा आएका स्खलनको पहिचान गरी राष्ट्रको सम्पूर्ण रूपान्तरणमा सक्दो सकारात्मक योगदान गर्नुपरेको छ ।

राष्ट्रिय एकता र रूपान्तरणमा मधेशको सबल भूमिका रहँदै आएको छ र सधैँ रहने कुरामा म विश्वस्त छु । नेपालको लोकतान्त्रिक आन्दोलनका सैद्धान्तिक प्रणेता बीपी कोइरालाले भने झैँ म नेपालको राष्ट्रियताको चुरो नै मधेशमा रहेको छ भन्नेमा सधैँ दृढ छु ।

नेपालको समथर फाँट रहेको अन्नभण्डार मधेश प्रदेशको समग्र विकास, उन्नति र राजकीय सत्तामा समाहित हुने समान अवसरले मात्रै नेपालको समग्र समृद्धि र राष्ट्रिय एकता सुदृढ हुने मेरो सधँैको अटल विश्वास हो । व्यक्तिगत स्वार्थभन्दा राष्ट्रिय स्वार्थ महान् हो भन्ने आत्मबोध अनुकूलको वैयक्तिक चेतनाको संस्कार विकास नै सम्पूर्ण रूपान्तरणको प्रस्थानविन्दु हो ।

यही कारण मैले पटकपटकका मधेश आन्दोलन र विद्रोहमा मधेशमै आएर शान्तिवार्ता गर्ने देखि लिएर यहाँ उठेका आवाजहरूलाई सम्बोधन गर्न २२ बुँदे सहमति गर्न अग्रसरता लिएको थिएँ । समग्र नेपाललाई खाद्यान्न आपूर्ति गर्ने अन्नभण्डारको उर्वर भूमि सिँचाइको बाँझो देखेर मेरो हृदय छियाछिया हुने गरेको थियो । त्यही भएर सरकारमा रहँदा होस् या संसद्मा समग्र मधेशको आधा हिस्सा सिञ्चित गर्न सकिने सुनकोशी-मरिन डाइभर्सनका लागि आवाज उठाउँदै आएको थिएँ। आज त्यो सफलतातर्फ उन्मुख हुँदा म खुसीले गदगद भएको छु । अब बाँकी हिस्साको सिँचाइका लागि सुनकोशी-तावा-कमला डाइभर्सनको काम थालिहाल्नुपर्छ भन्ने मेरो धारणा छ । यहाँ सिँचाइको सुप्रबन्ध गरेर कृषिको आधुनिकीकरणमार्फत कृषि क्रान्ति गर्ने हो भने मधेशले खाद्यान्न आपूर्तिमा सिङ्गो नेपाललाई एकैसाथ काँध हाल्न सक्छ भन्नेमा मलाई कुनै शङ्का छैन । अभाव र समस्यामा राष्ट्रियताको जगेर्ना हुन सक्दैन । त्यही भएर हामीले समग्र देशको समृद्धिका लागि हिमाल, पहाड र तराई मधेशको सन्तुलित र समग्र विकासमा अबको ध्यान केन्द्रित गर्न ढिला गर्न हुन्न ।

नेपाली नागरिक भएर पनि प्रमाणपत्र लिनबाट वञ्चित भएका आफ्नै देशका नागरिक आइरहेका लाखौँ नागरिकलाई सम्मानित नागरिक बनाउने नागरिकता विधेयकको प्रमाणीकरण गर्र्ने अवसर पाउनु मेरा लागि अविस्मरणीय रहनेछ । देशको कुनै जायज नागरिक नागरिकताविहीन नरहून् र देशको प्रत्येक नागरिकमा स्वतन्त्रता, समानता र बन्धुत्वको अनुभूति गराउने कानुनी राज्य र सामाजिक न्यायको भौतिक समृद्धिसँगै साहित्य, कला, क्रीडा, ज्ञानविज्ञान तथा प्रविधि आदि सबै क्षेत्रमा विश्वका सबै समुन्नत राष्टसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा पुगौँ भन्ने चाहना प्रत्येक नेपालीको हो । हाम्रो स्रोत र साधनको उचित र उच्चतम प्रयोग गरी हामी सबैले एकजुट भएर सामूहिक प्रयास गर्‍यौँ भने जतिसुकै चनौतीपूर्ण भए पनि हाम्रो सपना चाँडै विपनामा परिणत हुनेछ भन्ने कुरामा सन्देह छैन ।

लोकतान्त्रिक आन्दोलनका योद्धा, आदर्श र निष्ठाका पुञ्ज आदरणीय महेन्द्रनारायण निधिको नाममा स्थापित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रको नवनिर्मित भवनको उद्घाटन गर्ने अवसर पाउनु मेरा लागि गौरवको विषय हो । अहिंसात्मक आन्दोलनका पुजारी तथा समग्र नेपालको राष्ट्रिय एकताको पक्षमा सधैँ दृढ उभिएको नेपाली सपूत महेन्द्रनारायण निधिले देखाउनुभएको बाटो हाम्रा लागि सदा अनुकरणीय छ र रहनेछ ।

यति विशाल उपस्थितिमा मधेश प्रदेश र जनकपुरको मुटुको विशालता प्रतिविम्बित भएको छ । यहाँहरूले मेरा लागि अभिव्यक्त गर्नुभएका अपरिमेय अनुरागका शब्दहरूले मलाई अति भावुक तुल्याइदिएका छन् । सत्कार्यको कलम र सासको मसीले मातृभूमिको उज्ज्वल इतिहास रचेको म हेर्न चाहन्छु । म माता जानकी र जनकपुरवासीको आशीर्वाद चाहन्छु ।

आजको यो भव्य नागरिक अभिनन्दन जीवनभरि मेरो मानसपटलमा स्वर्ण अक्षरले लेखे झैँ अमिट र अटल रहनेछ । मेरा लागि उर्लेर आएका माया समुद्रका छालले मेरो हृदय निथु्रक्क भिजेको छ । म ऋणी थिएँ, छु र रहनेछु ।

जय माता जानकी !

जय नेपाल !!

२०८० साल असोज ८ गते