सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले जिल्ला समन्वय समितिको सभाहल उद्घाटन कार्यक्रमको सम्बोधन

उपस्थित सम्पूर्ण तनहुँवासी दिदीबहिनी तथा दाजुभाइहरू !

सर्वप्रथम म यहाँ सम्पूर्ण तनहुँवासीहरूले जिल्लाबाट जनप्रतिनिधिका रूपमा निर्वाचित गराएर संविधानको पालक, संरक्षक र अभिभावकका रूपमा राष्ट्रको सर्वोच्च पद ́राष्ट्रपति́ सम्म पुग्न प्रकट गर्नुभएको शुभेच्छा, माया, सद्भाव र सहयोगका लागि हार्दिक आभार प्रकट गर्दछु । राष्ट्रकै अभिभावकको जिम्मेवारी पाउँदासम्म बेहोरेको दु:खकष्टमा साथ दिएको आफू जन्मेको यो माटोमा राष्ट्रको अभिभावकको जिम्मेवारी पाएपछि पहिलो पटक टेक्न पाउँंदा गर्वले भावविह्वल भएको छु ।

तपार्इँहरूले मेरो राजनीतिक सङ्घर्ष, योगदान र क्षमतालाई विश्वास र सम्मान गर्दै  पटकपटक जनप्रतिनिधिका रूपमा निर्वाचित गराएर देश र राष्ट्रिय तथा शासकीय राजनीतिको महत्त्वपूर्ण भूमिकामा काम गर्ने जुन मौका दिनुभयो त्यसप्रति पनि आजका दिनमा तपाईँहरूप्रति कृतज्ञतासहित धन्यवाद व्यक्त गर्दछु । मेरो राजनीतिक तथा सामाजिक व्यक्तित्व विकासमा तनहुँवासीले पुर्‍याउनुभएको योगदान मेरो मनसपटलमा अमिट छाप भएर सदा रहिरहनेछ ।

प्रतिबन्धित अवस्थामा पञ्चायतका कष्टपूर्ण दिनहरू छिचोल्दै सङ्घर्ष, जेलनेल, यातना र आन्दोलनमा अघि बढ्दै गर्दा २०४६ सालको सफल जनआन्दोलनपछि मैले २०४८ को निर्वाचनका क्रममा मैबलको विचारेडाँडा उक्लँदै गर्दा भनेको थिएँ, “गाउँबाट भागेको मनलाई सेवा र सुविधा पुर्‍याएर गाउँमा नै बसौँ-बसौँ बनाउन आज म राजनीतिमा लागेको हुँ ।” आज गाउँ र बस्ती रित्तिँदै सहरीकरण बढ्दो छ । रोजगारी र शिक्षाका लागि बिदेसिने क्रम बढ्दो छ ।

त्यसैले श्रम गर्ने संस्कृतिको सम्मान तथा ‘निमुखालाई न्याय र विपन्नलाई आय’ बढाउने गरी मानवस्रोतको विकास तथा कृषि, जलस्रोत, पर्यटन, उद्योगधन्दा र उत्पादन बढाएर स्वदेशी अर्थतन्त्रलाई मजबुत बनाई गाउँमा नै रोजगारी र आम्दानीको अवसर सिर्जना गर्न हाम्रो ध्यान जानुपर्दछ ।

यस जिल्लाको मात्र नभएर आज मुलुकको विकास, प्रगति र तरक्कीको खातिर संविधानले निर्दिष्ट गरेको राष्ट्रको अभिभावकीय र गुरुत्तर दायित्वको अवस्थामा म रहेको  छु । परन्तु, हिजो हामीले (मैले) देखेको विकासको खाका र सपना आज पनि मेरा आँखामा छचल्किरहन्छन् । मेरो मन र मुटु यही माटोको सुवासले आह्लादित हुन्छ ।

निर्माणाधीन बाटोको विस्तार र स्तरोन्नति, बुद्धसिंह, चन्द्रावती-मिर्लुङ भानु मार्ग, केशवटार, कालिका, छाब्दीमार्ग, शृङ्गपथ, किऊँ-भिरकोट मार्ग, क्यामिन मार्ग, मादी मस्र्याङ्दी मोटरमार्ग कालोपत्रे तथा विस्तार गरी यहाँको कृषि, शिक्षा, खानेपानीलगायतका विभिन्न क्षेत्रको सामूहिक प्रतिबद्धता, अठोट र हातेमालो गरी पूर्वाधार विकासलाई तीव्रता दिनुपर्नेछ ।

दमौली अस्पताललगायत जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई चिकित्सा विश्वविद्यालय (शिक्षण अस्पताल) का रूपमा विकास गर्ने तथा आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदी रम्घालाई भानु साहित्यिक उद्यान बनाउनका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सहितको गुरुयोजना बनाएर उत्कृष्ट साहित्यिक एवम् पर्यटकीय तीर्थस्थलका रूपमा विकास गर्नुपर्दछ । साथै व्यास-परासर क्षेत्रको पनि यस्तै विकास गरी धार्मिक पर्यटनको गन्तव्य स्थल बनाउन जरुरी छ ।

यहीँ पारि निर्माण भइरहेको तनहुँ जलविद्युत् आयोजनाले पक्कै पनि तनहुँको विकास र आर्थिक सूचकाङ्कलाई उँचो पार्न सहयोग पुर्‍याएको छ भन्ने मेरो विश्वास छ । साथै, तल्लो तनहुँ सेती जलविद्युत् अयोजना निर्माणको चरणमा अघि बढेको छ ।

लामो प्रयत्न र प्रयासपछि एउटा सुविधासम्पन्न र आकर्षक भौतिक पूर्वाधारका रूपमा दमौली सभाहल निर्माण भएर आज उद्घाटन गर्ने सौभाग्य मिलेको छ । सभाहलको अधिकतम उपयोग, संरक्षण र सेवा विविधीकरणमा स्थानीय निकाय र जिल्लावासीले उचित ध्यान दिनुपर्नेछ । तीनै तहका सरकारका अङ्गहरूबीच आपसी समन्वय गरी नीति योजना निर्माण गर्नुपर्ने देखिन्छ भने स्थानीय तह र जिल्लावासीबाट जिल्लाभरिको साझा पुँजीका रूपमा यसको संरक्षण र उपयोग हुनेछ । नवीन प्रविधिको प्रयोग गरी सभाहललाई सुविधासम्पन्न र सेवामैत्री बनाउनुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।

साथै, यो बेलवृक्षमा आज नेपालको प्रजातान्त्रिक आन्दोलनका सैद्धान्तिक प्रणेता बीपी कोइरालाको सालिक अनावरण गर्न पाउँदा म अत्यन्तै उद्वेलित भएको छु । बीपी कोइरालाले जनमतसङ्ग्रहका बेला २०३६ साल असोज ६ गते यही चौताराबाट पहिलो पटक नेपालको एउटा आर्थिक समृद्धिको परिकल्पना सुनाउनुभएको थियो । उहाँले ‘‘सबै नेपालीको एउटा बस्ने घर होस्, सबैको घरमा एउटा दुहुनो गाई होस्, सबैले समयमा उपचार पाऊन् र सबैका बच्चाबच्चीले विद्यालय जाने वातावरण होस्’’ भन्नुभएको थियो । बीपी कोइरालाले आफ्नो १५ वर्षे आर्थिक विकासको खाका सुनाएको स्थानमा उहाँको सालिक अनावरण गर्ने मौका पाउँदा म आज उद्वेलित भएँ । बीपी कोइरालाको त्यो परिकल्पना अझै पूरा भइसकेको छैन । लामो समय व्यवस्थाका लागि लडाइँ गर्नुपरेकाले हामीले आर्थिक अवस्थाका बारेमा ध्यान दिन सकेनौँ । अब हामीले एउटा राजनीतिक व्यवस्थाको टुङ्गो लगाएकाले बीपीले भनेजस्तै आर्थिक उन्नतिको बाटो समात्न जरुरी छ ।

अन्त्यमा, तनहुँका विभिन्न विकास योजना छनोट र बजेट विनियोजनका लागि सरकारलाई धन्यवाद दिन चाहन्छु । योजना तथा आयोजनाहरूको व्यवस्थापनमा खटिएका कर्मचारी निर्माण व्यवसायीलाई पनि म धन्यवाद दिन चाहन्छु । यस्तै विभिन्न विकास आयोजनाहरूको रेखदेख गरी विकासका काम सम्पन्न गर्न सहयोग गर्ने तमाम जिल्लावासीलाई पनि धन्यवाद दिन चाहन्छु ।

जय नेपाल !

२०८० साल असोज ६ गते