सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानद्वारा आयोजित समारोहमा गर्नुभएको सम्बोधन

कार्यक्रमका अध्यक्ष,

पूर्वराष्ट्रपति डा. रामवरण यादवज्यू,

प्रतिष्ठानका मानार्थ अध्यक्ष विमलेन्द्रजी,

योगप्रसादजीलगायत पुरस्कृत व्यक्तित्वहरू,

अन्य विशिष्ट महानुभावहरू !

२००७ सालको क्रान्तिदेखि नै लोकतन्त्र स्थापना र पुनर्स्थापनाका आन्दोलनहरूमा अग्रपङ्क्तिमा रहेर सदैव सक्रिय रहनुभएका महेन्द्रनारायण निधि नेपालको लोकतान्त्रिक आन्दोलनका शीर्ष तथा गान्धीवादी नेता हुनुहुन्थ्यो । आज निधिजीको स्मृति दिवसका दिन म उहाँप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्न चाहन्छु ।

नेपाली काङ्ग्रेसको आह्वानमा भएको २००७ सालको क्रान्तिताका महोत्तरी क्षेत्रमा विद्रोहस्वरूप गठन भएको सरकारको उहाँलाई प्रधानमन्त्री घोषणा गरिएकोबाट बुझ्न सकिन्छ निधिजीको त्यसबेलादेखि कै योगदान । त्यतिबेलै योगप्रसाद उपाध्यायलाई मुख्य सचिव घोषणा गरिएको थियो । निधिजस्ता नेताहरूको लोकतन्त्रप्रतिको निरन्तर सङ्घर्ष, त्याग र निष्ठाले नै आज हामी मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएका हौँ ।

लोकतान्त्रिक मूल्यमान्यताका एक अविचलित योद्धा निधि यही मान्यताको शासन प्रणालीबाट मात्र मुलुकको विकास सम्भव छ भनेर यसका निम्ति जीवनपर्यन्त अथक र अविश्राम लागिरहनुभयो । त्यति मात्र होइन करिब पाँच दशक अहिंसा, शान्ति, लोकतन्त्र र सर्वसाधारण नागरिकसँग रहेर समुदायबीच सद्भावका पक्षमा, सामाजिक न्यायका पक्षमा निधिले गर्नुभएको काम हामी सबैका लागि सधैँ प्रेरणाको स्रोतका रूपमा रहिरहनेछ ।

नेपालको प्रथम आमनिर्वाचनपछि बनेको प्रथम संसद्को उपसभामुख हुनुभएका निधिले २०१७ सालको कूपछि विदेश निर्वासन र सशस्त्र आन्दोलनसँग असहमत भएर स्वदेशमा नै रहेर शान्तिपूर्ण आन्दोलनका क्रममा अनेक पटक जेल यातना भोग्नुभयो । शान्तिपूर्ण आन्दोलन र निर्वासनभन्दा कठोर यातना सहेर पनि स्वदेशमै आन्दोलन गर्ने निधिजीको अडानले उहाँलाई बेग्लै पहिचानसहितको नेताका रूपमा स्थापित गरेको छ । २०३६ को जनमतसङ्ग्रह, २०४२ को सत्याग्रह र २०४६ को जनआन्दोलनमा सक्रिय नेतृत्व गर्नुभएका निधिका राजनीतिमा सिद्धान्त तथा निष्ठाप्रतिको समर्पणभाव तथा व्यावहारिक जीवनमा सादगी र उच्च विचार अनुकरणीय र प्रेरणादायी पक्ष हुन् भन्ने मलाई लाग्दछ ।

यस्ता अग्रज र आदरणीय व्यक्तिको स्मृति र सम्मानमा स्थापित महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले उहाँको योगदानलाई चीरस्थायी र जीवन्त बनाउन रचनात्मक काम गर्नु सराहनीय विषय हो । खासगरी अहिंसा, शान्ति, सामाजिक न्याय, सद्भाव र लोकतन्त्रका लागि योगदान दिने व्यक्तिलाई महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार तथा उहाँकी धर्मपत्नी प्रेमसागरी निधिका नाममा स्थापित प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कार सामाजिक जागरणका अभियन्तालाई बर्सेनि प्रदान गर्दै आएको थाहा पाउँदा मलाई निकै खुसी लागेको छ ।

यसपटक महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार वर्तमान संविधान निर्माणका क्रममा समन्वयकारी भूमिकाका निर्वाह तथा संविधानसभाबाट जनताले बनाएको संविधान जारी गर्ने सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवलाई प्रदान गरिनु निश्चय नै युक्तिसङ्गत र असल कामका लागि मानिसलाई उत्प्रेरित गर्ने उपयुक्त निर्णय हो भन्ने मलाई लागेको छ । त्यस्तै, लोकतान्त्रिक आन्दोलनका अग्रज योगप्रसाद उपाध्याय, जुझारु र सक्रिय समाजसेवी दुर्गा घिमिरे तथा सङ्गीतसाधक सरिता मिश्र पनि आज पुरस्कृत हुनुभएकोमा हार्दिक बधाई दिन चाहन्छु ।

राजनीति शासन र सुशासनलाई सुदृढ, व्यवस्थित र विधिसम्मत बनाउँदै देश, जनता र समाजको सर्वोत्तम हितमै केन्द्रित हुनुपर्दछ । परिवर्तनको अनुभूति वास्तविक रूपमा गरिब, पिछडिएका र आर्थिक अवस्था कमजोर भएका वर्गले पाउन नसक्दासम्म संविधान र गणतन्त्रले परिकल्पना गरेको लक्ष्य पूरा हुन सक्दैन । निधिजीजस्ता नेताहरू यही आदर्शका लागि जीवनभर लड्नुभएको थियो ।

तर सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले निर्दिष्ट गरेका कामप्रति हाम्रो ध्यान अझै जान नसक्दा कतै जनतामा निराशा आएको हो कि भनेर पनि यतिबेला चिन्ता प्रकट भइरहेको छ । कतिपय सन्दर्भमा कतै हाम्रा आफ्नै राजनीतिक र शासकीय कमजोरीले त यस्तो अवस्था आएको होइन ? कतै हाम्रा कमजोरीलाई व्यवस्थाका कमजोरी भनेर लोकतन्त्रको आदर्शलाई अपव्याख्या गर्ने काम त भइरहेको छैन ? मलाई लाग्छ- यसो हुनुमा निश्चय नै अनेक कारण छन् । तर हाम्रा कमजोरी पनि त्यसका कारण हुन् । अत: त्यसलाई हाम्रो राजनीतिक निष्ठाले जित्नुपर्छ र लोकतन्त्रको पवित्रतालाई स्थापित गर्दै यसलाई अझ परिणाममुखी बनाउन आवश्यक छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन र यसैका माध्यमबाट मुलुकसामु देखापर्ने यावत् समस्या समाधान गरी जनताले अपेक्षा गरेअनुरूप आर्थिक रूपमा समृद्ध नयाँ नेपालको निर्माण गर्न निधिजस्ता अग्रज नेताहरूको अटल विश्वास रहेको कल्याणकारी राज्य प्रणालीको अवधारणा, सिद्धान्त, मूल्य, मान्यता र आदर्श आज पनि उत्तिकै सान्दर्भिक छन् । उहाँहरूले देखाउनुभएको आदर्शमा हामी हिँड्न सकेमात्र निधिजीप्रति सच्चा श्रद्धाञ्जली हुन्छ भन्ने पनि म ठान्दछु ।

अन्त्यमा, यो कार्यक्रम आयोजना गरेकोमा प्रतिष्ठान परिवारलाई धन्यवाद दिन चाहन्छु र डा. यादवसहित पुरस्कृत सबैमा पुन : हार्दिक बधाई दिँदै आफ्नो भनाइ यहीँ टुङ्ग्याउँछु ।

 

जय नेपाल !

२०८० फागुन १३ गते