सम्माननीय राष्ट्रपतिज्यूले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको सन्दर्भमा दिनुभएको शुभकामना सन्देश

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको शुभकामना सन्देश

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस १ अक्टोबर २०१९ (२०७६ साल असोज १४)  को अवसरमा राष्ट्रका सम्पूर्ण आदरणीय ज्येष्ठ नागरिकहरूको सुखी, स्वस्थ र सम्मानित जीवनको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

यस वर्षको ज्येष्ठ नागरिक दिवसको अवसरमा संयुक्त राष्ट्रसंघले “THE JOURNEY TO AGE EQUALITY” भन्ने अन्तर्राष्ट्रिय नारा निर्धारण गरेको छ । उक्त नाराले दिने सन्देशलाई सार्थक तुल्याउन हामीले सबै क्षेत्रमा ज्येष्ठ नागरिकको सम्मान गर्न जरूरी छ । यस अवसरमा म ज्येष्ठ नागरिकको हक अधिकारका लागि अमूल्य योगदान दिने सम्पूर्ण ज्येष्ठ नागरिक तथा अभियन्ताहरूलाई उच्च सम्मान र आदर व्यक्त गर्दछु । यस दिवसको अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र विभिन्न संघसंस्थाको संयोजनमा देशव्यापी रूपमा ज्येष्ठ नागरिकको संरक्षण र सम्बर्द्धन सम्बन्धी विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाउन लागेको जानकारी पाउँदा मलाई खुसी लागेको छ । ज्येष्ठ नागरिक ज्ञान र अनुभवका महत्वपूर्ण स्रोत भएकाले राज्यले उनीहरुको ज्ञान र अनुभवलाई समुचित उपयोग गर्न तर्फ ध्यान दिनु जरुरी छ ।

नेपालको संविधान, कानून र नीतिहरुले ज्येष्ठ नागरिकको हक अधिकारलाई संरक्षण गरेका छन् । जसलाई व्यवहारमा कार्यान्वयन गर्नु पर्ने आजको टड्कारो आवश्यकता भएको मैले महसुस गरेको छु । संविधानको भावना अनुरुप राज्यले सीमित स्रोतको बाबजुद पनि ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता र विभिन्‍न सेवा सुविधा प्रदान गर्दै आएको कुरा निश्चय नै खुशीको विषय हो ।

माया, ममता र करुणाका खानी रहेका ज्येष्ठ नागरिकहरुको संरक्षकत्व प्राप्त गरी हजुरबा, हजुरआमा, आमाबुवा, छोराछोरी र नातिनातिना एउटै परिवारमा अटाउने हाम्रो पूर्वीय दर्शनमा आधारित आदर्श परिवार बनाउन आजको दिनले सम्बद्ध सबैलाई प्रेरणा प्रदान गर्ने अपेक्षा सहित पुनः एकपटक आदरणीय ज्येष्ठ नागरिकहरूको जीवनलाई सम्मानित, मर्यादित र सुखमय बनाउन सबैसँग हार्दिक आव्हान गर्दछु ।

धन्यवाद ।

मितिः २०७६ साल असोज १४ गते मंगलबार ।