सम्माननीय राष्ट्रपतिज्यूद्वारा शीतलहरका कारणबाट भएको मानवीय क्षतिप्रति दुख व्यक्त

सम्माननीय राष्ट्रपतिज्यूले विगत केही दिनदेखि देशमा चिसो वढेको र विशेषतः तराइ क्षेत्रमा लागेको बाक्लो हुस्सु र शीतलहर एवम् पश्‍चिम पहाडका केही क्षेत्रमा फैलिएको झाडापखाला र ज्वोरोका कारणबाट भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ । तराइ क्षेत्रलगायत देशभर वढेको चिसोले आमजनताको दैनिक जीवनयापनमा परेको कठिनाइप्रति सम्माननीय राष्ट्रपतिज्यूको गम्भीर ध्यानाकर्षण भएको छ । विगत वर्षहरुमा पनि यस किसिमका प्राकृतिक घटनाक्रमहरु हुने गरेको र यस वर्ष पनि पुनरावृत्ति भएकोले तिनीहरुको उचित र दीगो व्यवस्थापनको लागि उहाँले पूर्वतयारी हुनुपर्ने आवश्‍यकता ‍औंल्याउनु भएको छ ।

शीतलहर एवम् महामारीका कारण विशेषगरी वालवालिका, वृद्धवृद्धा, असहाय, गरीव र निमुखालाइ वढी प्रभावित पारेको कुराले सिंगो देशलाइ दुःखित र स्तब्ध तुल्याएको प्रसंगमा सम्माननीय राष्ट्रपतिज्यूले शीतलहर र प्रकोपबाट उत्पन्‍न परिस्थितिको उचित र व्यवस्थित समाधानका लागि नेपाल सरकारको ध्यानाकर्षण र गैरसरकारी संस्था, नागरिक समाज, निजीक्षेत्र र सर्वसाधारणलाई सरकारसंग हातेमालो गरी पिडीतको उद्धार एवम् राहतको उचित प्रवन्ध मिलाउन आव्हान गर्नुभएको छ ।

सम्माननीय राष्ट्रपतिज्यूले शीतलहर एवम् महामारीका कारणवाट अकालमा ज्यान गुमाएका मृतकका शोकसन्तप्त परिवारजनप्रति भावपूर्ण समवेदना तथा उपचारका क्रममा रहेकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्नुभएको छ ।

 

(कुलप्रसाद चुडाल)

प्रवक्ता