महिला हिंसा न्यूनीकरण गर्न छलफल कार्यक्रम

काठमाडौँ, ६ फागुन २०७७ ।
सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले महिलाविरुद्ध हुने हिंसाका घटना न्यूनीकरण गरी हिंसामुक्त समाजको निर्माण गर्न सबै पक्षको योगदान आवश्यक रहेको बताउनु भएको छ ।
राष्ट्रपति भवन, महाराजगञ्जमा विभिन्न संवैधानिक आयोगका अध्यक्ष तथा सदस्यहरू, विभिन्न मन्त्रालयका सचिवसहित नागरिक समाजका प्रतिनिधिसँग छलफल गर्न बिहीबार आयोजित कार्यक्रममा सम्मानीय राष्ट्रपतिज्यूले महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा न्यूनीकरण गर्नका लागि नीतिगत र कानुनी व्यवस्थाका साथै समाजको मानसिकतामा परिवर्तन ल्याउन पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
“हाम्रा राजनीतिक संघर्षहरूको परिणामस्वरुप संरचनामा परिवर्तन आएको छ”, राष्ट्रपतिज्यूले भन्नुभयो, “महिलालाई समाजले हेर्ने दृष्टिकोणमा अझ सकारात्मक परिवर्तन ल्याउन थप प्रयास जरुरी देखिएको छ ।” महिलालाई सम्मान दिने असल सामाजिक परम्परा पनि छन् । तिनको रक्षा गर्दै छुवाछुत, अन्धविश्वास र कुरीति हटाउने नयाँ सामाजिक अभियान सुरु गर्न उहाँले सम्बद्ध सबैलाई आह्वान गर्नुभयो ।


कार्यक्रममा आफ्नो विचार राख्दै माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्री जुलीकुमारी महतोले छलफलमा व्यक्त भएका सुझावहरूलाई मन्त्रालयले एकीकृत गरी नीतिगत सुधार र सामाजिक अभियानको नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
केही अघि कञ्चनपुर र हालसालै वैतडी जिल्लामा किशोरीहरूमाथि भएका जघन्य हिंसा र हत्याका घटनामा राष्ट्रपतिको चासो र चिन्ता रहेकाले नीतिगत, कानुनी र व्यवहारिक सुधारको पहल गर्न राष्ट्रपति कार्यालयले सरोकारवालाहरूसँग छलफलको आयोजना गरेको हो ।
उक्त कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष तथा सदस्यहरू, राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय दलित आयोग र राष्ट्रिय समावेशी आयोगका सदस्यहरू, संयुक्त राष्ट्रसंघीय सिड कमिटीका उपाध्यक्ष बन्दना राणा सहित महिला अधिकारकर्मी तथा क्रियाशील महिला सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।