प्रजातन्त्र दिवस, २०७४ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले दिनुभएको शुभकामना सन्देश

६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवस २०७४ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । आजको दिनले हामी सबैलाई प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसात् गर्दै अघि बढ्ने उत्प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।

२००७ साल फाल्गुण ७ गतेका दिन  निरङ्‌कुश जहानियाँ राणाशासनको अन्त्य भई जनताले राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष प्रजातन्त्र दिवसका रुपमा मनाउने गरेका छौं । प्रजातन्त्र बहाली र संस्थागत गर्ने क्रममा 2007 साल, २०४६ साल र २०६२-६३ सालमा सफल आन्दोलनहरु भए । ती सबै आन्दोलनका प्रतिबिम्बित जनइच्छा अनुसार नै आज हामी गर्वका साथ संघीय लोकतान्त्रिक संविधान सहितको गणतन्त्रात्मक शासन पद्धति अपनाइरहेका छौँ ।

हामीले प्राप्त गरेका उपलब्धीहरुको मूल्यांकन गर्दै त्यसबाट प्राप्त अनुभव तथा पाठबाट निर्देशित भएर सुशासन, शान्ति र सहमतिलाई आत्मसात् गरी अगाडि बढ्नु हाम्रो साझा जिम्मेवारी र दायित्व हो । हालै भएका विभिन्‍न चरणमा सम्पन्‍न निर्वाचन मार्फत प्राप्त जनादेश अनुरुप देशमा आर्थिक समृद्धि र सुशासन कायम गर्नु आजको आवश्यकता हो ।

अन्त्यमा, आज ६८ औँ प्रजातन्त्र दिवस मनाइरहँदा प्रजातन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात-अज्ञात शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै यस दिवसले प्रजातन्त्रलाई जीवनपद्धति बनाएर अगाडि बढ्ने प्रेरणा हामी सबै नेपालीमा दिन सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद !

२०७४ साल फागुन ७ गते सोमबार ।