नववर्ष २०७५ सालको शुभअवसरमा सम्माननीय राष्ट्रपतिज्यूले दिनुभएको शुभकामना सन्देश

नववर्ष २०७५ को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, भातृत्व, एकता एवम् समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

२०७४ हाम्रो देशको राजनीतिक इतिहासमा एउटा महत्वपूर्ण वर्ष रह्यो । नेपालको संविधानद्वारा निर्दिष्ट राज्य पुनःसंरचनाअन्तर्गतका संघीय संसद, प्रदेश सभा र स्थानीय तहका निर्वाचनहरु समावेशी र समानुपातिक सिद्धान्तका आधारमा शान्तिपूर्ण र उल्लासमय वातावरणमा सम्पन्न हुँदा सम्पूर्ण जनता हर्षित भएका छन् । विभिन्न तहका सरकार र संसदीय अभ्यासका अतिरिक्त स्थानीय तहमा न्यायिक समितिमार्फत न्याय निरुपणका प्रक्रियासमेत स्थानीयस्तरमै अघि बढेका छन् । यसबाट देशलाई लोकतान्त्रिक विधिबाट समृद्धिको दिशामा अघि बढ्ने ढोकालाई थप सृदृढ तुल्याएको छ। इतिहासमा पहिलोपटक भएका यसप्रकारका निर्वाचनहरुले संघीय लोकतान्त्रिक गणतन्त्रको जगलाई मजबूत बनाउन सफलता मिलेको छ । विभिन्न तहका जननिर्वाचित निकायहरुमा अभूतपूर्वरुपमा महिलाको प्रतिनिधित्व सुनिश्चित भएको छ ।

महत्वपूर्ण राजनैतिक एवं संवैधानिक परिवर्तनबाट अब देशलाई सामाजिक समानता एवम् आर्थिक समृद्धितर्फको यात्रा अगाडि बढाउने र संविधानले निर्दिष्ट गरेको समाजवादउन्मूख अर्थव्यवस्थासहित राष्ट्रलाई आत्मनिर्भर बनाउने अवसर प्राप्त भएको छ । फलतः समृद्ध नेपाल र सुखी नेपालीको जनआकांक्षालाई मूर्तरुप दिन सहजता उत्पन्न भएको छ । हाम्रो देशमा रहेका अथाह प्राकृतिक सम्पदा एवं मिहिनेती मानवीय संसाधनको समुचित र दीगो प्रयोग गर्दै आफ्नै पौरखले मुलुकलाई समृद्ध एवम् समुन्नत बनाउने दायित्व हाम्रो काँधमा रहेको छ ।

अन्तमा, समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा नववर्ष २०७५ ले खुशीको संचारसहित सुदृढ राष्ट्रिय एकता र आत्मीय सामाजिक सद्‍भावसहित आर्थिक समृद्धिको लागि नयाँ जोश, उमङ्ग र उत्साह पैदा गर्न सकोस् भन्ने शुभकामना प्रकट गर्दछु ।

धन्यवाद !

२०७५ साल वैशाख १ गते शनिबार ।