सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालीहरूको महान् चाड बडा दसैँ, २०७७ का अवसरमा दिनुभएको शुभकामना सन्देश

नेपालीहरूको महान् चाड बडा दसैँ, २०७७ को शुभकामना सन्देश

नेपालीहरूको महान् चाड बडा दसैँ, २०७७ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

असत्यमाथि सत्य तथा अन्यायमाथि न्याय र अमानवीय तत्त्वमाथि मानवताको विजयको प्रतीकको रूपमा मनाइने यस पर्वमा घटस्थापनादेखि नवमीसम्म माता नवदुर्गाको पूजा गर्दै सप्तशती पाठ गरी विशेष अर्चना र आराधना गर्ने गरिन्छ । विजया दशमीको दिन भगवतीले सत्य हासिल गरेको उपलक्ष्यमा नवदुर्गा भवानीको प्रसादस्वरूप मान्यजनबाट टीका, जमरा, फूलपाती र प्रसादसहित आशिर्वाद ग्रहण गरिन्छ । यस पर्वले क्रोध, लोभ, अन्याय, अत्याचार, रोग, व्याधी तथा भोक र शोकले व्याप्त अनेक असत्यताको अन्त्य गर्दै सामाजिक एकता, आपसी सद्‌भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने विश्‍वास लिएको छु।

बडा दसैँ पर्वको आर्थिक र सामाजिक पक्ष पनि उत्तिकै महत्त्वपूर्ण छ । वर्षा ऋतुको कृषि कर्म सकिएपछि किसानले आराम र मनोरञ्‍जनसँगै सन्तुलित भोजन ग्रहण गर्ने पर्वका रूपमा दसैँको महत्त्व छ । के नजिक के टाढा भएका सबै आफन्तहरू भेला भई मान्यजनबाट टीका र जमरासहित आशिर्वाद लिने पर्वका रूपमा दसैँले हाम्रो असल सांस्कृतिक पहिचानलाई निरन्तरता दिएको छ ।

यसै समयमा नोबल कोरोनाभाइरस (कोभिड-१९) मानव जातिका निम्ति एउटा ठूलो स्वास्थ्य चुनौतीको रूपमा देखा परेको छ । यस भाइरसबाट हालसम्म विश्‍वमा करोडौँ मानिसहरू सङ्क्रमित भएका छन् भने लाखौँ मानिसहरूले मृत्युवरण गरिसकेका छन् । हाम्रो देशमा पनि यस भाइरसको सङ्क्रमण बढिरहेको छ । यस्तो अवस्थामा यस महामारीबाट जोगिन नेपाल सरकारले लागु गरेको स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न म सबैमा आग्रह गर्न चाहन्छु । आफू र आफ्नो परिवारसमेत सचेत र सजग हुँदै सुरक्षाका उपायहरू अवलम्वन गर्नु सबैको दायित्व हुन आएको छ । सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवम् संवर्द्धन गर्न सबैमा आव्हान गर्दछु ।

अन्तमा, विजयादशमी, २०७७ ले हामी सबैमा नयाँ उत्साह, उमङ्ग, जोश र जाँगर थप्ने विश्‍वासका साथ उत्तरोत्तर प्रगतिको कामना गर्दै मंगलमय शुभकामना व्यक्त गर्दछु।

धन्यवाद ।

२०७७ कात्तिक १० गते, सोमबार ।