उभौली पर्वको शुभकामना सन्देश
नेपालका आदिवासी किराँत समुदायको पवित्र एवम् महान् उभौली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण राई, लिम्बू, सुनुवार, याक्खा लगायत संपूर्ण किराँत दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
वसन्त ऋतुको आगमनसँगै बाली लगाउने समय सुरु हुने भएकाले प्रकृति र पितृपूजक किराँतीहरूले बालीनाली राम्रो होस्, प्राकृतिक प्रकोप तथा विपत्तिहरू नआउन् भनेर भूमि, बाली र पितृपूजा गर्नुका साथै विभिन्न परम्परागत नृत्य र मिष्ठान्न खानपीनका साथ आपसमा सुख, शान्ति र सुस्वास्थ्यको आदानप्रदान गर्दै रमाइलोसँग उभौली पर्व मनाउने परम्परा रहेको छ । यसरी प्राकृतिक ऋतुचक्रसँग तादात्म्यता कायम गरी मनाइने यस प्रकारका साँस्कृतिक पर्वहरूले प्रकृति र वातावरणको संरक्षण गर्दै दिगो विकासतर्फ अग्रसर हुन अभिप्रेरित गर्नुका साथै हाम्रो देशको साँस्कृतिक विविधतालाई कायम राख्दै समानता र सहअस्तित्वका आधारमा विभिन्न जातजाति र समुदाय बीच आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन मद्दत पुर्याउँछ भन्ने मैले विश्वास लिएको छु ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको नोवेल कोरोनाभाइरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणका लागि देश लकडाउनमा रहेको यस असहज परिस्थितिमा सरकारको आग्रह बमोजिम लकडाउनको पालना गर्दै सबैले सामाजिक तथा भौतिक दूरी कायम गरी आ-आफ्नो घरभित्रै रहेर यो पर्व मनाउनु हुनेछ भन्ने अपेक्षा गरेको छु ।
अन्तमा, यस उभौली पर्वले संपूर्ण नेपालीहरू बीचको सामाजिक-साँस्कृतिक ऐक्यबद्धतालाई सुदृढ गर्दै समृद्ध र सभ्य समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।
२०७७ साल वैशाख २५ गते, बिहीबार ।