सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट २५६४औं बुद्ध जयन्तीको अवसरमा स्वयम्भूनाथ तथा बौद्धनाथको दर्शन एवं दीप प्रज्वलन सम्पन्न

बैशाख २५, काठमाडौं ।
सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले २५६४ औं बुद्ध जयन्तीको अवसरमा आज नेपालका प्रमुख बौद्ध स्तुपहरूमध्ये काठमाडौँमा अवस्थित स्वयम्भूनाथ र बौद्ध स्तुपको दर्शन गर्नुुभयो । उहाँले उक्त दुवै प्रसिद्ध स्तुपहरूको परिक्रमा गर्नुका साथै दीप प्रज्वलन गरी विश्व शान्तिका अग्रदूत गौतम बुद्धप्रति श्रद्धा अर्पण गर्नुभयो ।

नेपाली भूमि लुम्बिनीमा राजकुमारका रूपमा जन्मेका शान्तिदूत गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमा तिथिमै परेको हुनाले यस दिनलाई नेपाल लगायत विश्वभर बुद्ध जयन्ती वा बुद्ध पूर्णिमाको रूपमा मनाइन्छ । गौतम बुद्धले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण गर्दै बुद्ध जयन्तीको दिनलाई सन् २००२ बाट संयुक्त राष्ट्रसंघ प्रणालीभित्र समेत ‘अन्तर्राष्ट्रिय बेसाक (बुद्ध पूर्णिमा) दिवस’ को रूपमा मनाउन सुरु गरिएको छ । यो विषय नेपाल र नेपाली जनताका निम्ति थप गौरवको विषयको रूपमा रहेको छ ।

बुद्ध जयन्तीको दिन नेपालसहित विश्वका बौद्धमार्गीहरूले बुद्धलाई श्रद्धा र भक्तिका साथ स्मरण गर्दै विभिन्न गुम्बा, चैत्य, मठ, मन्दिरमा धार्मिक र आध्यामिक अनुष्ठानहरू गर्ने गर्दछन् । यसैगरी सरकारी स्तरबाट पनि विभिन्न औपचारिक कार्यक्रमहरू आयोजना गरी बुद्धका शिक्षाहरूको स्मरण गर्ने र तिनको प्रवर्द्धन गर्ने सिर्जनात्मक कार्यहरू गरिन्छ । नेपालका राष्ट्र प्रमुखद्वारा बुद्ध जन्मस्थल लुम्बिनी, स्वयंभू, बौद्ध लगायतका प्रमुख बौद्ध तीर्थस्थलहरूमा दीप प्रज्वलन तथा पूजा अर्चना गर्ने चलन रहिआएको छ । तर विश्वव्यापी नोवल कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट बच्नका लागि मुलुक पूर्ण लकडाउनमा रहेकाले २५६४औं बुद्ध जयन्तीको अवसरमा अघिल्ला वर्षहरूमा झैं यसपटक औपचारिक कार्यक्रमहरू आयोजना हुन सकेनन् । यस वर्ष बौद्ध धर्मावलम्वीहरूले चैत्य, गुम्बालगायत पवित्र स्थलहरुमा सिमित संख्यामा लामा एवं बौद्ध धर्मगुरु उपस्थित भएर परम्परागत पूजाको समान्य विधिमात्र पूरा गर्नुपर्ने अवस्था उत्पन्न भयो ।
सम्मानीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले शुभकामना सन्देश मार्फत नेपाल तथा विश्वभरिका बौद्धमार्गीहरूलाई सुख, शान्ति र प्रगतिको कामना गर्नुभएको छ । नेपाल सरकारले आम नागरिकलाई बेलुकी घरमै दीपावली गरेर बुद्ध जयन्ती मनाउन आह्वान गरेको छ । यसै सन्दर्भमा आज साँझ राष्ट्रपति भवन शीतलनिवास परिसरमा सम्माननीय राष्ट्रपतिज्यूले दीप प्रज्ज्वलन गरी नेपाल राष्ट्रमा दिगो शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।

संसारमा दुःख छ, दुःखको कारण छ्, दुःखको अन्त्य सम्भव छ र प्रज्ञा, शील र समाधिको मार्ग मार्फत दुःखको अन्त्य गरी निर्वाण वा शान्ति प्राप्त गर्न सकिन्छ भन्ने चार आर्य सत्यको ज्ञान र प्राणी हिंसा नगर्नु, चोरी नगर्नु, व्यभिचार नगर्नु, झुटो नबोल्नु र लागु पदार्थ सेवन नगर्नु भन्ने पञ्चशीलका पाँचवटा शीलहरू बुद्धका मूल शिक्षाहरू हुन् । बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा आम मानिसलाई दिए । बुद्धका यी कालजयी उपदेशहरूको परिपालनाबाट सभ्य र सुसंस्कृत समाजको निर्माण गर्न सकिन्छ । समाज, राष्ट्र र विश्वमा शान्ति र सुव्यवस्था कायम गर्नका लागि यी पाँचवटा शीलहरूको पालना अपरिहार्य रहेको छ भन्ने सन्देश बुद्ध जयन्तीले दिएको छ ।