२५६४ औं बुद्ध जयन्तीको शुभकामना सन्देश
बौद्ध दर्शनका प्रवर्तक तथा विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६४ औं जन्म जयन्तीको उपलक्ष्यमा विश्वभरका बौद्धमार्गी, स्वदेश तथा विदेशमा रहनु भएका शान्ति र अहिंसाप्रेमी सम्पूर्ण महानुभावहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण वैशाख पूर्णिमा कै तिथिमा परेकाले यस दिन नेपाल लगायत विश्वका बौद्ध धर्मावलम्वीहरूद्वारा बुद्धको अहिंसात्मक शान्ति सन्देश तथा उपदेशको प्रातः स्मरण गर्दै शान्तिका अग्रदूत गौतम बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिका साथ बुद्ध जयन्ती मनाउने गरिएको छ । आजको यस शुभ दिनले विविधता बीच एकताको खोजी गर्दै आपसी मेलमिलापका साथ शान्ति र प्रगतिको पथमा अघि बढ्न हामी सबैलाई उत्साह, उमङ्ग र प्रेरणा प्रदान गर्नेछ भन्ने अपेक्षा गरेको छु । शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधता बीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवम् सबल बनाउन सकिने विश्वास मैले लिएको छु ।
अन्तमा, विश्वव्यापी महामारीको रूपमा फैलिएको नोवेल कोरोनाभाइरस (कोभिड-१९) को महाविपत्तिबाट सम्पूर्ण विश्वले शीघ्रातिशीघ्र मुक्ति पाउनेछ भन्ने कामना गर्दै २५६४ औं बुद्ध जयन्तीको यस पावन अवसरमा एकता, सहिष्णुता, सद्भाव, अहिंसा र शान्तिको महान् अभियानमा लाग्न विश्वका सम्पूर्ण मानवलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु।
धन्यवाद ।
२०७७ साल वैशाख २५ गते, बिहीबार ।