सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले २५६४ औं बुद्ध जयन्तीको अवसरमा दिनुभएको शुभकामना सन्देश

२५६४ औं बुद्ध जयन्तीको शुभकामना सन्देश

बौद्ध दर्शनका प्रवर्तक तथा विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६४ औं जन्म जयन्तीको उपलक्ष्यमा विश्वभरका बौद्धमार्गी, स्वदेश तथा विदेशमा रहनु भएका शान्ति र अहिंसाप्रेमी सम्पूर्ण महानुभावहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण वैशाख पूर्णिमा कै तिथिमा परेकाले यस दिन नेपाल लगायत विश्वका बौद्ध धर्मावलम्वीहरूद्वारा बुद्धको अहिंसात्मक शान्ति सन्देश तथा उपदेशको प्रातः स्मरण गर्दै शान्तिका अग्रदूत गौतम बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिका साथ बुद्ध जयन्ती मनाउने गरिएको छ । आजको यस शुभ दिनले विविधता बीच एकताको खोजी गर्दै आपसी मेलमिलापका साथ शान्ति र प्रगतिको पथमा अघि बढ्न हामी सबैलाई उत्साह, उमङ्ग र प्रेरणा प्रदान गर्नेछ भन्‍ने अपेक्षा गरेको छु । शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधता बीच  सहिष्णुता र आपसी सद्‌भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवम् सबल बनाउन सकिने विश्वास मैले लिएको छु ।

अन्तमा, विश्वव्यापी महामारीको रूपमा फैलिएको नोवेल कोरोनाभाइरस (कोभिड-१९)  को महाविपत्तिबाट सम्पूर्ण विश्वले शीघ्रातिशीघ्र मुक्ति पाउनेछ भन्‍ने कामना गर्दै २५६४ औं बुद्ध जयन्तीको यस पावन अवसरमा एकता, सहिष्णुता, सद्‌भाव, अहिंसा र शान्तिको महान् अभियानमा लाग्न विश्वका सम्पूर्ण मानवलाई प्रेरणा मिलोस् भन्‍ने शुभकामना व्यक्त गर्दछु।

धन्यवाद ।

२०७७ साल वैशाख २५ गते, बिहीबार ।