सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले ज्येष्ठ नागरिक दिवस (१ अक्टोबर) को अवसरमा आयोजित कार्यक्रममा गर्नुभएको सम्बोधन

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा स्वदेश तथा विदेशमा बसोवास गर्ने सम्पूर्ण ज्येष्ठ नागरिकहरूको सुस्वास्थ्य, सुख, शान्ति र सम्मानित जीवनको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

यस वर्षको अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा संयुक्त राष्ट्रले निर्धारण गरेको नारा समसामयिक छ । यस नारालाई सार्थक बनाउन हामीले सबै क्षेत्रमा ज्येष्ठ नागरिकको सम्मान गर्न जरूरी छ ।

सर्वप्रथम म ज्येष्ठ नागरिकको हक अधिकारका लागि अमूल्य योगदान दिने सबैलाई सम्मान अर्पण गर्दछु । 

यस दिवसको अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको संयुक्त संयोजनमा ज्येष्ठ नागरिकको संरक्षण र सम्बर्द्धन सम्बन्धी विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाउन लागेको जानकारी पाउँदा मलाई खुसी लागेको छ ।

जीवनको अधिकांश समय विभिन्न क्षेत्रमा क्रियाशील रही आफ्नो ज्ञान, सीप र अनुभवलाई समाज उपयोगी कार्यमा लगानी गर्नु भएका ज्येष्ठ नागरिकहरू निश्चय नै राष्ट्रका धरोहरका रूपमा आदरणीय हुनुहुन्छ ।

परिवारको लालनपालन, समाज सुधार र राष्ट्रोत्थानमा ज्येष्ठ नागरिकहरूले पुर्‍याउनु भएको योगदानको म उच्च मूल्यांकन गर्न चाहन्छु ।

अग्रज भनेका सिंगो राष्ट्रका अनुभवको जीउँदो प्रतिमूर्ति र इतिहास हुनुहुन्छ ।

ज्येष्ठ नागरिकहरुको अनुभवले आउने पुस्ता लाभान्वितहुने अवसर प्राप्त हुनेमा म विश्वस्त छु ।

ज्येष्ठ नागरिकको सम्मानमा नेपालको संविधानको मौलिक हकको व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्न नेपाल सरकार अग्रसर रहेकोमा खुशी लागेको छ ।

यो महत्वपूर्ण दायित्व हासिल गर्न सम्बद्ध सबै पक्षले सहयोग पुर्‍याउन आग्रह गर्दछु ।

हाम्रो साँस्कृतिक मूल्य, परम्परा र दर्शन मातृदेवो भवः पितृ देवो भवः बाट निर्देशित छ । हाम्रा मौलिक मान्यताहरु आमरूपमा ज्येष्ठ नागरिकहरूप्रति सम्बेदनशील र सम्मानजनक छन् ।

आफूभन्दा अग्रजहरूको सम्मान गर्नु, सेवा गर्नु र उहाँहरूबाट आशिर्वाद ग्रहण गर्नु हाम्रो संस्कृतिको अभिन्न अङ्गको रूपमा रहेको छ ।

हाम्रो पूर्वीय दर्शनमा आधारित परिवारको स्वरूपमा माता-पिता, छोरा-छोरी, हजुरबा-हजुरआमा सँगसँगै तीन/चार पुस्ता एउटै परिवारमा बस्ने परम्परालाई कायम राख्‍न सके ज्येष्ठ नागरिकको आत्मसम्मान, सुरक्षाको प्रत्याभूति र आत्मविश्वास बढाउन सकिन्छ । यस्ता कुराले सभ्य समाज निर्माण गर्न मद्दत पुग्दछ ।

नेपालमा वि.सं. २०५१ सालबाट सुरु गरेको वृद्ध भत्ता, सम्मान कार्यक्रम सामाजिक सुरक्षाको एउटा नमूना हो ।

जेष्ठ नागरिकहरूलाई राज्यले दिने सामाजिक सुरक्षा भत्ता एउटा प्रतिकात्मक पाटो मात्र हो ।

त्यसलाई पनि जीवन उपयोगी रूपमा विस्तारित गर्दै लैजान सम्बद्ध पक्षको ध्यानाकर्षण गराउन चाहन्छु ।

यस कदमले जेष्ठ नागरिकहरूप्रति राज्य, समाज र परिवारको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन र उहाँहरूको आत्मसम्मानमा वृद्धि गर्न ठूलो योगदान पुर्‍याउन सक्दछ भन्ने मेरो विश्वास छ ।

सार्वजनिक स्थल र सवारी साधनलगायत घरभित्रका संरचना सबै मानव जीवन चक्र उपयोगी  हुनुपर्दछ ।

मनोरञ्जन स्थल, स्वास्थ्य केन्द्र, सार्वजनिक उद्यान, बगैँचा जस्ता सबै संरचनाहररू ज्येष्ठ नागरिकले सरल रूपमा उपयोग गर्न सक्ने किसिमबाट निर्माण गरिनुपर्दछ ।

देखासिकि गरेर बालबालिकाहरूलाई आफ्ना अभिभावकबाट छुट्याएर आवासीय विद्यालयमा राख्‍ने र आदर सम्मान गर्नुपर्ने बृद्ध बृद्धाहरूलाई बृद्धाश्रममा राख्‍ने प्रचलनलाई समाप्त पार्नु पर्दछ भन्नेमा हामी सबै एकमत हुन जरूरी छ ।

अन्तमा, पुनः सम्पूर्ण जेष्ठ नागरिकहरूप्रति उच्च आदरभाव प्रकट गर्दै यस्तो महत्वपूर्ण कार्यक्रम आयोजना गर्ने आयोजकलाई धन्यवाद दिन चाहन्छु ।

२०७६ साल असोज १४ गते मंगलबार ।