सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट “विश्व मजदुर दिवस, २०१९ (मे १)” का अवसरमा व्यक्त शुभकामना सन्देश

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट विश्व मजदुर दिवस, २०१९ (मे १) का अवसरमा व्यक्त शुभकामना सन्देश

विश्व मजदुर दिवस, २०१९ (मे १) को शुभकामना सन्देश

विश्वका प्रत्येक मजदुरको हक अधिकार स्थापित भएको दिनको स्मरण र सम्मान स्वरूप हरेक वर्ष मे १ का दिन मनाईने विश्व मजदुर दिवस अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा विश्वभरका सम्पूर्ण मजदुर दिदीबहिनी दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवम् अधिकार सुनिश्चितताको शुभकामना व्यक्त गर्दछु ।

श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १९८६ मा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरको लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ को नाराले सार्थकता पाएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । यस दिवसले श्रमिक हकअधिकारको रक्षार्थ विश्वभरीका श्रमजीविलाई एकताको सुत्रमा बाँध्न सहयोग गर्ने विश्वास लिएको छु । यस दिवसलाई विश्वका मजदुरले विशेष पर्वका रूपमा मनाउँदै गुणस्तरीय जीवन बिताउन आफ्ना सुविधाहरूको समयानुकूल बढोत्तरीका लागि सरकार र रोजगारदाताको ध्यानाकर्षण गराउने कार्यक्रमहरू हुँदै आएका छन् ।

नेपालको संवैधानिक प्रावधान र भावना अनुसार श्रमिक हितमा काम हुने साथै योगदानमा आधारित सामाजिक सुरक्षा कोष, नयाँ श्रम ऐन र रोजगारीको हक सम्बन्धि ऐनको कार्यान्वयन भई नेपाली मजदुरको अवस्थामा महत्वपूर्ण सुधार आउनेछ र श्रमिकहरू विदेश पलायन हुने दरमा कमी आउने अपेक्षा मैले लिएको छु । सुदृढ अर्थतन्त्रको मेरुदण्ड र समाजवादउन्मुख अर्थ व्यवस्थाको आधारस्तम्भ श्रमिक मजदुर भएको प्रसंगमा सम्बद्ध सबै पक्षबाट श्रमको सम्मान र मर्यादा हुनु पर्दछ । सरकारले लिएको सामाजिक न्याय र समानतामा आधारित समृद्ध नेपालको साझा सङ्कल्प सार्थक तुल्याउन श्रम क्षेत्र सुधारका दिशामा सरोकारवाला पक्षहरू केन्द्रित हुनेमा म विश्वस्त छु । यस अवसरमा संघीयता कार्यान्वयनमा श्रमिकले खेल्दै आएको अहम् भूमिकाको लागि हार्दिक धन्यवाद दिन चाहन्छु ।

अन्तमा, १३० औँ अन्तर्राष्ट्रिय विश्व मजदुर दिवससँगै श्रमिकको हित अनुकूल श्रम वातावरण, न्यायोचित पारिश्रमिक एवम् सामाजिक सुरक्षा लगायतका श्रम अधिकार सुनिश्चित हुन सकून् भन्ने शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद ।

२०७६ वैशाख १८  बुधवार