राष्ट्रिय बाल दिवस, २०८० को शुभकामना सन्देश
राष्ट्रिय बाल दिवस, २०८० को अवसरमा समस्त नेपाली बालबालिका तथा अभिभावकहरूमा हार्दिक बधाई एवम् शुभकामना व्यक्त गर्दछु ।
हरेक वर्ष भाद्र २९ गते बालबालिकाको राष्ट्रिय पर्वको रूपमा राष्ट्रिय बाल दिवस धुमधामका साथ मनाइदै आइएको छ । यसै अनुरूप यस वर्ष ” बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी” भन्ने नाराका साथ मनाउन लागिएको छ ।
नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ । संविधानले गरेको मार्गदर्शनबमोजिम बालबालिका सम्बन्धी ऐन, २०७५ र बालबालिका नियमावली, २०७८ पनि जारी भई कार्यान्वयनको अवस्थामा रही बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण र संरक्षणजस्ता विषयहरूमा उल्लेखनीय कार्यहरू समेत हुँदै आएका छन् । बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न राज्यका तीनै तहलगायत सम्पूर्ण सरकारी/ गैरसरकारी निकाय, नागरिक समाज, अभिभावक, विद्यालय एवम् अन्य सरोकारवाला निकायहरूको एकीकृत र समन्वयात्मक भूमिकाको अहम् दायित्व हुन आएको छ ।
केही बालबालिकाहरू अझै पनि आफ्नो बालअधिकारबाट वञ्चित भएको अवस्था छ । बालबालिका भविष्यका कर्णधार हुन् । उनीहरूको उचित संरक्षण र रेखदेख सबैको कर्तव्य हो । उनीहरूको बाल्यकालको रेखदेखले नै मुलुकको भविष्यलाई प्रतिबिम्बित गर्दछ । तसर्थ, विभिन्न कारणहरूले बालबालिकामा पर्ने गम्भीर तथा बढ्दो असरतर्फ सबैको ध्यान आकृष्ट हुनु जरूरी छ । बालबालिकाको भविष्य सुनिश्चित गर्न सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू, बाल अधिकारकर्मी, सामाजिक संघसंस्था, नीजि क्षेत्र, नागरिक समाज तथा अभिभावकहरूले निर्वाह गर्दै आइरहनु भएको भूमिकाका लागि धन्यवाद दिन चाहन्छु ।
अन्तमा, बालबालिकाको संरक्षण र विकासमा आ -आफ्नो तर्फबाट भूमिका निभाउन म सम्वद्ध सबै पक्षको ध्यान आकृष्ट गर्दै पुनः राष्ट्रिय बाल दिवस, २०८० को शुभकामना व्यक्त गर्दछु ।
जय नेपाल ।
२०८० भदौ २९ गते शुक्रबार ।