११३औँ अन्तर्राष्ट्रिय महिला दिवस (आठ मार्च) को सन्देश
११३औँ अन्तर्राष्ट्रिय महिला दिवस (आठ मार्च)को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु ।
अन्तर्राष्ट्रिय महिला दिवसले विश्व महिला आन्दोलनको आरम्भलाई स्मरण गर्दै महिलाको न्यायपूर्ण हक र अधिकारका क्षेत्रमा हालसम्म प्राप्त उपलब्धीहरू संस्थागत गर्न हामीलाई अभिप्रेरित गर्दछ । विज्ञान र प्रविधिको क्षेत्रमा महिलाको पहुँच स्थापित गर्ने उद्देश्यले यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा नेपालले ‘लैङ्गिक समानताको बलियो आधार: सृजनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय सङ्कल्प निर्धारण गरेको छ ।
यस वर्षको राष्ट्रिय सङ्कल्पले एकातिर सूचना तथा सञ्चार प्रविधिको विकास र विस्तारबाट प्राप्त अवसरहरूमा महिलाको सहभागिता अभिवृद्धि गर्न जोड दिएको छ भने अर्कोतिर पछिल्लो समयमा बढ्दै गएको प्रविधिको दुरुपयोगबाट महिलाविरुद्ध हुने हिंसालाई नियन्त्रण गर्न समेत सम्बद्ध पक्षको ध्यानाकर्षण गरेको छ । डिजिटल प्रविधिको उपयोगमा महिलाको पहुँच मार्फत सार्वजनिक सेवा प्रवाह, उत्पादन र उत्पादकत्व अभिबृद्धि गर्न गुणात्मक प्रगति हासिल गर्न सकिन्छ । नव प्रवर्तन तथा प्रविधिको विकासमा महिलाको योगदानलाई कदर गर्दै, सामाजिक तथा संरचनात्मक रुपान्तरणद्वारा मुलुकको समृद्धि र दिगो विकासतर्फ अग्रसर रहनका निम्ति यसबाट हामीलाई थप प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गर्दछु ।
महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धीहरू विश्व महिला आन्दोलनकै निम्ति विशिष्ट छन् । यद्यपि महिलाको नेतृत्व विकास‚ अवसरहरूको समतामूलक उपलब्धता र वितरण तथा आर्थिक प्रगतिका क्षेत्रमा तय गर्नुपर्ने लामो यात्रा बाँकी नै छ । यस सन्दर्भमा महिलाको सहभागिता र प्रतिनिधित्व गर्न संविधानमार्फत हामीले व्यवस्था गरेका संरचनात्मक आधारहरूले सकारात्मक परिणाम ल्याउन थालेको पक्षलाई हृदयङ्गम गर्नु सान्दर्भिक हुन्छ । यसको फलस्वरुप मुलुकका तीनै तहका सरकार, संसद र नीति निर्माणका निकायमा महिलाको भूमिका सुदृढ हुँदै गएको छ । यसबाट नेपाली महिलाहरूको प्रतिष्ठा क्रमश: अभिवृद्धि हुँदै गएको छ भन्ने मलाई लाग्दछ ।
महिला सशक्तीकरण, प्रतिनिधित्व र सहभागितालाई लैङगिक समानता हासिल गर्ने प्रमुख माध्यमका रूपमा लिइन्छ । राष्ट्र‚ समाज र परिवारप्रतिको अधिकार एवं दायित्वलाई महिला र पुरुष दुवैमा बराबर वितरण हुने परिवेशको निर्माण गर्नु लैङ्गिक समानताको अभिप्राय हो । त्यसकारण महिला र पुरुष दुवैको साझा सरोकारको विषय भएको हुनाले महिला सशक्तीकरणका निम्ति दुवैको समान र सक्रिय भूमिका आवश्यक रहेकोतर्फ म विशेष जोड दिन चाहन्छु ।
अन्तमा‚ अन्तर्राष्ट्रिय महिला दिवसले महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा‚ विभेद‚ उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चत गर्न हामी सबैमा थप उर्जा र उत्साह प्राप्त हुने विश्वास सहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।
२०७९ फागुन २४ गते बुधबार ।