सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले फागुपूर्णिमा (होली) पर्व, २०७९ को अवसरमा दिनुभएको शुभकामना सन्देश

फागुपूर्णिमा (होली) पर्व, २०७९ को शुभकामना सन्देश

नेपालीहरूको महान् पर्व फागुपूर्णिमा (होली)को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।

हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेशका जिल्लाहरूमा वसन्त ऋतुका अनेक रङ्गहरूलाई प्रतिविम्बित गर्ने पर्वका रूपमा फागुपूर्णिमा (होली) पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।

असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मियताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एक–आपसमा अबिर तथा रङ्ग दलेर रमाइलो गर्ने परम्परा रहेको छ ।

नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा होलीमा खेलिने रङ्गहरू जस्तै विविधतापूर्ण छ । यो विविधता हाम्रो पहिचान र शक्ति दुवै हो । तसर्थ‚ फागुपूर्णिमा जस्ता पर्वहरूले सम्पूर्ण नेपालीहरूको बिचमा आपसी प्रेम, सद्‌भाव र आत्मियता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्‍वास मैले लिएको छु ।

अन्तमा, यस पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिहरूलाई निर्मूल गर्दै मौलिक संस्कृतिहरूको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद ।

२०७९ फागुन २२  गते सोमबार ।