सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले पर्वत जिल्ला, जलजला गाउँपालिका स्थित आदि बराह कुल मन्दिरको उद्‍घाटन समारोहमा गर्नुभएको सम्बोधन

राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष,

माननीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री,

गण्डकी प्रदेश सरकारका माननीय मन्त्री,

नेपाल सरकारका मुख्य सचिव,

जलजला गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष एवं स्थानीय जनप्रतिनिधिहरू,

बराहताल कुल मन्दिर पूजा व्यवस्थापन समितिका पदाधिकारीहरू,

राष्ट्रसेवकहरू,

सञ्चारकर्मीहरू,

भद्र महिला तथा सज्जनवृन्द ।

पर्वत जिल्लाको कालाञ्जर क्षेत्र अन्तर्गत हम्पाल पर्वतको काखमा रहेको प्रसिद्ध धार्मिक, ऐतिहासिक एवं पर्यटकीय स्थलको अवलोकनका साथै पुनर्निर्मित बराह कुल मन्दिरको उद्‌घाटन समारोहमा सहभागी भई तपाईहरूसँग सात्क्षात्कार गर्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ । यस पावन कार्यमा सहभागी हुने अवसर प्रदान गरेकोमा जलजला गाउँपालिका तथा बराह कुल मन्दिर पुनर्निर्माण समितिलाई हार्दिक धन्यवाद  दिन चाहन्छु ।

प्रशस्त सम्भावना हुँदाहुँदै पनि सार्वजनिक रूपमा ध्यान पुग्न नसकेका धेरै ऐतिहासिक मठ, मन्दिर र पर्यटकीय स्थलहरू हाम्रो मुलुकका विभिन्न स्थानहरूमा छरिएर रहेका छन् । स्थानीय र प्रदेश तहका सरकारहरूले अग्रसरता लिएर त्यस्ता ऐतिहासिक धरोहरहरूको संरक्षण, सम्बर्द्धन र  प्रचार भएको खण्डमा त्यसको प्रत्यक्ष लाभ स्थानीय समुदायलाई प्राप्त हुन सक्दछ ।

पर्वत जिल्लामा अवस्थित प्राकृतिक, ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक महत्वका स्थलहरूको पहिचान गरी व्यवस्थित रूपमा तिनको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्न सकेको खण्डमा पर्यापर्यटनको माध्यमबाट यस क्षेत्रका जनताको जीवनस्तर सुधार हुनाको साथै समग्र राष्ट्रकै विकास र समृद्धिमा महत्वपूर्ण योगदान पुग्न सक्दछ ।

यस पवित्र स्थलबाट यस्तो सम्भावनालाई  साकार तुल्याउन तपाईंहरूले  गर्नुभएको प्रयासको म सराहना गर्दछु ।

सात वर्ष अघिको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त हुन पुगेको यस क्षेत्रकै महत्वपूर्ण सांस्कृतिक सम्पदा बराह कुल मन्दिरको पुनर्निर्माणमा योगदान पुर्‍याउने विभिन्न संघसंस्था एवं व्यक्तित्वहरूप्रति धन्यवाद प्रकट गर्दछु । यस पवित्र मन्दिरमा यस क्षेत्रको  परम्परा, सामुदायिक आस्था र जनविश्वास प्रतिविम्बित भएको छ भन्ने मलाई लाग्दछ र यस सत्कर्मको प्रतिफल समाजले पाउने छ भन्ने मेरो विश्वास रहेको
छ । साथै, यहाँको प्राकृतिक सुन्दरता र जैविक विविधतालाई कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने प्रसिद्ध बराह तालको संरक्षणको लागि भएका  प्रयासका निम्ति पनि  म तपाईंहरूलाई धन्यवाद दिन चाहन्छु  ।

पर्वत जिल्लाका पर्यटकीय स्थलहरूको प्रचारप्रसार गरी आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटकहरूलाई आकर्षित गर्न सकिने प्रशस्त सम्भावना रहेको पक्ष आज मलाई प्रत्यक्ष अनुभूति भएको छ । नेपाल सरकारद्वारा तयार गरिएको ‘एक सय पर्यटकीय गन्तव्य’को सूचीमा पर्वत जिल्लाका गुप्तेश्वर गुफा, सेतीवेणी शिला र पञ्चासे जस्ता सुन्दर स्थलहरू समावेश छन् । यसैगरी, यहाँको कालञ्जर पहाड, ऐतिहासिक मल्लाज दरबार र फलामे डाँडा लगायतका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन र पूर्वाधार निर्माणमा सबद्ध पक्षको ध्यान जानु पर्दछ ।

विकासका पूर्वाधार र चेतना स्तरका हिसाबले अग्रणी रहेको पर्वत जिल्लालाई आर्थिक रूपमा समेत समृद्ध बनाउन यस जिल्लामा उपलब्ध प्राकृतिक स्रोत र साधनको दिगो उपयोग एवं परम्परागत जीविकोपार्जनमा आधारित कृषि प्रणालीलाई आधुनिकीकरण र व्यवसायीकरण गर्नु पर्दछ । कृषि, वन, जलस्रोत र पर्यटनमा आधारित उद्यमशीलताको माध्यमबाट स्वदेशी उत्पादनमा वृद्धि एवं रोजगारीको सिर्जना गर्दै स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न सकिन्छ ।

यस क्षेत्रका किसानहरूले उत्पादन गर्ने  फलफूल, तरकारी तथा अन्य नगदेबालीको मूल्य अभिवृद्धिका लागि आवश्यक पर्ने चिस्यान केन्द्र तथा प्रशोधन केन्द्रहरूको स्थापनाका साथै उचित बजार व्यवस्थापनको लागि सम्बद्ध निकायहरूले ध्यान पुर्‍याउनु पर्दछ ।

अन्तमा, पर्वत जिल्लाको धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थलहरूको अवलोकन तथा प्रसिद्ध बराह कुल मन्दिरको उद्‌घाटन समारोहमा सहभागी हुने अवसर प्रदान गर्नुभएकोमा आभार प्रकट गर्दछु ।

यस क्षेत्रको विकासका लागि यहाँहरूको प्रयासमा मेरो सदैव साथ रहने छ भन्ने विश्वास समेत दिलाउन चाहन्छु ।

धन्यवाद ।

२०७९ फागुन १० गते बुधबार ।

जलजला, पर्वत ।