सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनिर्मित भवन समुद्‌घाटन समारोहमा गर्नुभएको सम्बोधन

बागमती प्रदेशसभाका माननीय प्रदेश प्रमुख‚

बागमती प्रदेशका माननीय मुख्यमन्त्री तथा मन्त्रीहरू‚

संघीय संसदका माननीय सदस्यहरू‚

बागमती प्रदेशका पूर्व मुख्यमन्त्री‚

बागमती प्रदेश सभाका माननीय सदस्यहरू‚

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति तथा पदाधिकारीहरू‚

हेटौंडा अस्पतालका चिकित्सक‚ नर्स तथा स्वास्थ्यकर्मीहरू‚

विद्यार्थी भाइबहिनीहरू‚

राष्ट्रसेवकहरू‚

सञ्चारकर्मीहरू‚

भद्र महिला तथा सज्जनवृन्द ।  

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पतालको नवनिर्मित भवन समुद्‌घाटन समारोहमा उपस्थित भएर तपाईहरूसँग साक्षात्कार गर्न पाउँदा मलाई खुसी लागेको छ । यस अवसरमा म प्रतिष्ठानका चिकित्सक, प्राविधिक, कर्मचारी र विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

जनताको स्वास्थ्यका निम्ति आधारभूत एवं विशेषज्ञ सुविधाहरू सहजै उपलब्ध गराउन सकिने गरी मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान‚ हेटौंडा अस्पतालको भवन निर्माण मूलभूत रूपले सम्पन्न हुनु ठूलो सन्तोषको विषय हो । यस अवसरमा प्रतिष्ठानको स्थापना‚ विकास र प्रवर्द्धनमा योगदान पुर्‍याउने सबै निकाय‚ संघ संस्था एवं व्यक्तित्वहरूको निरन्तर परिश्रम र समर्पणका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

स्वास्थ्य विज्ञानको क्षेत्रमा अध्ययन, अध्यापन र अनुसन्धानको व्यवस्था गरी दक्ष जनशक्ति उत्पादनका साथै आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले जननेता मदन भण्डारीको स्मृतिमा यस प्रतिष्ठानको स्थापना भएको हो । नेपालको संविधानमा नागरिकका लागि सुनिश्चित गरिएका स्वास्थ्यसम्बन्धी हकको प्राप्तिमा यस प्रतिष्ठानले सघाउ पुर्‍याउनेमा म विश्वस्त छु ।

मानव जीवनको आधारभूत आवश्यकताका रूपमा रहेको स्वास्थ्य केवल रोग नलाग्नु मात्र होइन, बरु  शारीरिक एवं मानसिक रूपले समेत तन्दुरुस्त र सकारात्मक रहन सकिने अवस्था वास्तविक अर्थमा स्वास्थ्य हो । त्यसकारण, जनस्वास्थ्यको उच्चतम लक्ष्य हासिल गर्न जनताकै घरदैलोमा सामान्य औषधिमुलोदेखि आधुनिक प्रविधियुक्त विशेषज्ञ सेवा उपलब्ध गराउनु आवश्यक छ ।

स्वस्थ व्यक्तिबाट मात्र स्वस्थ समाज‚ सुदृढ अर्थतन्त्रको विकास र स्वाधीन, आत्मनिर्भर एवं सबल मुलुकको निर्माण हुन सक्दछ भन्ने यथार्थलाई कार्यरूप दिन नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकको रूपमा स्थापित गरेको छ । तसर्थ‚ गुणस्तरीय स्वास्थ्य सेवालाई सबै नागरिकको सुलभ पहुँचमा पुर्‍याउनु राज्यको महत्वपूर्ण दायित्व  बन्न गएको छ  ।

नेपालको एक महत्त्वपूण औद्योगिक केन्द्रका साथै बागमती प्रदेशको राजधानी समेत रहेको रमणीय हेटौंडा शहरमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना हुनुका अनेकौं आयाम छन् । यसले एकातिर नागरिकलाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्नेछ भने अर्कोतिर गुणस्तरीय स्वास्थ्य शिक्षाका माध्यमबाट जनतालाई माया र सम्मान गर्ने डाक्टर‚ नर्स तथा स्वास्थ्यकर्मी तयार गर्न योगदान गर्नेछ भन्ने मेरो विश्वास रहेको छ । यसैगरी, जनस्वास्थ्य कार्यक्रमलाई योजनाबद्ध ढङ्गले जनताको घरदैलोमा पुर्‍याउन, आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई स्थापित गर्न तथा स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाई लागू गर्न प्रतिष्ठानको ठूलो भूमिका रहन सक्दछ  ।

स्वास्थ्य सेवा र शिक्षाका अतिरिक्त स्वास्थ्य अनुसन्धानका क्षेत्रमा समेत नवीन कार्यहरू गर्दै जनस्वास्थ्यका क्षेत्रमा प्रगतिका सम्भावनाहरू खोजी गर्न सकेको खण्डमा जननेता मदन भण्डारीको नाममा स्थापित यस प्रतिष्ठानको उद्देश्य सार्थक हुनेछ भन्ने मलाई लागेको छ । ‘सेवा नै धर्म हो’ भन्ने हाम्रो सामाजिक मूल्यमा खरो उत्रदै जनतालाई सर्वसुलभ एवं गुणस्तरीय सेवा दिने र विद्यार्थीहरूलाई न्यूनतम शुल्कमा उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गर्नमा यस प्रतिष्ठानले अग्रणी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दछु ।

सङ्घीयताको अवधारणा अनुरूप मुलुकका सबै प्रदेशहरूलाई सुविधा सम्पन्न बनाउनुपर्ने आजको आवश्यकता रहेको छ । त्यसैअनुरूप बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडामा बढ्दो जनसङ्ख्या, आसपासका जिल्लाहरूबाट आउने बिरामी र अन्य जिल्लाहरूबाट आउने विद्यार्थीहरूलाई समेत मध्यनजर गरी स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षामा विशेष पहलको थालनी हुनु पर्दछ । यस प्रतिष्ठानले यस क्षेत्रको जनस्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा तथा स्वास्थ्य अनुसन्धानका कार्यमा आफूलाई केन्द्रित गर्दै जनतालाई सहज स्वास्थ्य सेवा तथा स्वास्थ्य शिक्षा उपलब्ध गराउन  अग्रसरता लिने मैले अपेक्षा गरेको छु ।

आधुनिक समयमा विस्तार हुँदै गएको उपभोक्तावाद, मानिसको बदलिँदो जीवनशैली तथा तीब्र वातावरण असन्तुलनका कारण सर्ने तथा नसर्ने रोगको प्रकोप फैलिँदै जानु चिन्ताको विषय हो ।  यस बाहेक, विभिन्न समयमा अचानक देखापर्ने कोभिड–१९ जस्ता नयाँ रोगका साथै डेंगु र हैजा जस्ता  महामारीहरूको सामना गर्न सक्षम हुनेगरी  सार्वजनिक स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन तीनै तहका सरकारले उचित ध्यान दिनु पर्दछ ।

स्वस्थ जीवनको मूलभूत मान्यतालाई ‘रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै बेस’ भन्ने हाम्रो लोकोक्तिले राम्रोसँग आत्मसात गरेको छ । यसलाई व्यवहारमा उतार्नका लागि विद्यालय तहदेखि नै बालबालिकालाई उचित हेरचाहसहित पोषणयुक्त खाना खुवाउनु पर्दछ । यसैगरी‚ स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाका लागि ठूलो मात्रामा विदेश पलायन भइरहेको पुँजीलाई रोक्न स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा तथा स्वास्थ्य शिक्षा उपलब्ध गराउने कार्यमा यस प्रतिष्ठानले महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ भन्ने मैले अपेक्षा गरेको छु ।

अन्तमा‚ बागमती प्रदेश सरकारबाट ऐन जारी भई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भएको हुँदा यस अवसरमा म बागमती प्रदेश सरकारलाई विशेष धन्यवाद दिन चाहन्छु । साथै‚ यस प्रतिष्ठानको स्थापना‚ विकास र प्रवर्द्धनमा योगदान पुर्‍याउने सबै निकाय‚ संघसंस्था एवं व्यक्तित्वहरूलाई हार्दिक धन्यवादसहित यहाँहरू सबैको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

धन्यवाद ।

२०७९ फागुन ९ गते मङ्गलबार ।

हेटौडा, मकवानपुर ।