सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले माघे संक्रान्ति एवम् माघी पर्वको अवसरमा दिनुभएको शुभकामना सन्देश

माघे संक्रान्ति एवम् माघी पर्वको शुभकामना सन्देश

माघे संक्रान्ति एवम् माघी पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि शुभकामना व्यक्त गर्दछु ।

माघे संक्रान्ति वा मकर संक्रान्ति पर्वलाई नेपालका विभिन्न जातजातिले आ–आफ्नै ढङ्गले हर्षोल्लासपूर्वक मनाउने गर्दछन् । विशेष गरी‚ थारू समुदायमा माघी पर्वलाई नयाँ वर्षका रूपमा धुमधामसँग मनाइन्छ भने तराईबासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वको रूपमा मनाउने
गर्दछन् । आजको दिन पवित्र नदी एवम् त्रिवेणीहरूमा स्नान गरी मन्दिरमा पूजा अर्चना गरेपश्‍चात् घिउ, चाकु, तरुल, सेलरोटी, तिलको लड्डु, ढिक्री र खिचडी जस्ता परिकारहरू खाई रमाइलोसँग यो पर्व मनाउने प्रचलन रहिआएको छ ।

विशिष्ट मौलिक सांस्कृतिक सम्पदाको रूपमा रहेका यस्ता पर्वहरूले हाम्रो मुलुकलाई विश्‍वसामु परिचित गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । हाम्रा पर्वहरूले सांस्कृतिक र जातीय विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान निर्माण गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् भन्ने मलाई लाग्दछ ।

बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस प्रकारका चाडपर्वहरूले सम्पूर्ण नेपालीहरूको बीचमा बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुग्ने विश्‍वास लिएको छु ।

अन्तमा‚ माघे संक्रान्ति एवम् माघी पर्वबाट प्रकृति र संस्कृतिको संरक्षण गर्दै सभ्य‚ सुसंस्कृत र समतामूलक  समाजको निर्माण गर्न हामी सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।

धन्यवाद ।

२०७९ माघ १ गते आइतबार ।