सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले ब्रम्हाजीको प्रतिमा अनावरण तथा ब्रम्हा पार्कको उद्घाटन समारोहमा गर्नुभएको सम्बोधन

माननीय प्रतिनिधिसभा सदस्य‚

स्थानीय तहका जनप्रतिनिधिहरू,

महादेव खोला‚ ब्रम्हायणी क्षेत्र उत्तरगया विकास समाजका अध्यक्ष तथा पदाधिकारीहरू‚

राष्ट्रसेवकहरू,

सञ्चारकर्मीहरू,

भद्र महिला तथा सज्जन वृन्द ।

महादेव खोला, ब्रम्हायणी क्षेत्र उत्तरगया विकास समाजद्वारा निर्मित ब्रम्हाजीको प्रतिमा अनावरण तथा ब्रम्हा पार्कको उद्घाटन समारोहमा उपस्थित भई तपाईंहरूसँग साक्षात्कार गर्ने अवसर प्राप्त भएकोमा मलाई खुसी लागेको छ । धार्मिक पर्यटन प्रवद्र्धन गर्न तथा यस क्षेत्रलाई आध्यात्मिक केन्द्रका रूपमा विकास गर्ने उद्देश्य सहित ब्रम्हाजीको प्रतिमायुक्त पार्कको निर्माण गर्ने सत्कार्यका लागि महादेव खोला, ब्रम्हायणी क्षेत्र उत्तरगया विकास समाजलाई म हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु ।

हाम्रो धर्मशास्त्रमा देवताहरूको कार्य विभाजनलाई आधार बनाई तेत्तीस कोटी देवता भएको तथ्य हाम्रा अनेक धर्मग्रन्थ, उपनिषद् र पुराणहरूमा उल्लेख गरिएको छ । यसमध्ये पनि तीन प्रमुख देवताहरूमा ब्रम्हाजीको स्थान हाम्रो जीवन र जगतको सृष्टिकर्ताका रूपमा सुरक्षित छ । पालनकर्ता विष्णु र प्रलयकर्ता शिवका अनेक स्वरूपका प्रतिमाहरू यत्रतत्र रहेको भएता पनि ब्रम्हाजीको प्रतिमा विरलै देख्न पाइन्छ । यस हिसाबले हाल निर्मित ब्रम्हाजीको प्रतिमा यहाँ स्थापना गर्नु खुसीको विषय हो ।

यहाँको सनातन समुदायको लागि यो प्रतिमा र पार्कसहितको क्षेत्र अत्यन्त महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थलको रूपमा रहने मैले विश्वास लिएको छु । प्राचीन सभ्यता र सनातन भूमिका रूपमा परिचित हाम्रो यो धर्ति सभ्यताको अद्वितीय संगमस्थलका रूपमा रहेको छ । जसरी भगवान बुद्धको जन्मस्थल लुम्बिनीले हामीलाई गौरवान्वित बनाएको छ, त्यसैगरी वैदिक सभ्यताको केन्द्रका रूपमा नेपालको चिनारीले विश्वमा हाम्रो विशिष्ट स्थान रहेको पक्षलाई समेत उजागर गर्दै लैजाने कार्यमा हामी सबैले यथोचित ध्यान दिनुपर्दछ ।

हाम्रो सभ्यता र संस्कृतिसँग अभिन्न रूपले जोडिएका मठ मन्दिर, धार्मिक क्षेत्र एवम् परम्पराहरू सयौं वर्षदेखि निरन्तर चलिआएका हुनाले हाम्रो मुलुक  प्रकृति र संस्कृतिको अतुलनीय संगम बनेको छ । समृद्ध इतिहास र परम्पराका जीवन्त पक्षलाई संरक्षण गरी समयानुकूल बनाउँदै भावी पुस्तालाई हाम्रो गौरवपूर्ण सभ्यता हस्तान्तरण गर्नुपर्दछ ।

नेपालको पर्यटन विकासका लागि काभ्रे जिल्लाको आफ्नै महत्व रहेको हुनाले नेपाल आउने पर्यटकहरूको बसाई लम्ब्याउन नयाँ क्षेत्रमा पर्यटकहरूलाई आकर्षित गर्नु आवश्यक छ । मनोरम प्राकृतिक सौन्दर्य, हिमालको दृश्यावलोकन, सूर्योदयको अनुभवका लागि चिनिएको काभ्रे, बनेपा र धुलिखेल क्षेत्रमा  मुलुकको एकमात्र ब्रम्हापार्कको निर्माणले यस जिल्ला र क्षेत्रको नयाँ परिचय निर्माण भएको छ । यसको थप प्रचारप्रसार गरी पर्यटकहरूको संख्या अझ बढाउन यहाँका जनता, स्थानीय सरकार, समाजसेवी र पर्यटन व्यवसायीहरूको साझा प्रयास रहने मैले विश्वास लिएको छु ।

समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न हामीले तीव्र विकास, स्वदेशमै रोजगारीको सिर्जना, उच्च आर्थिक वृद्धि जस्ता लक्ष्य हासिल गर्नुपरेको छ । आर्थिक परनिर्भरता घटाई स्वावलम्बी राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने कार्यमा पर्यटन क्षेत्रको विकास एउटा मुख्य आधार हुन सक्दछ । यसैगरी कृषि, वन पैदावार र जलविद्युतलाई पनि हाम्रो आर्थिक विकासको मेरुदण्डका रूपमा लिन सकिन्छ ।

समृद्ध नेपाल निर्माणको महाअभियानमा हामीले आफ्नो राष्ट्रिय क्षमताको पहिचान र उपयोग गर्न सक्नुपरेको छ । विभिन्न समयमा हुँदै आएका सार्वजनिक कार्यक्रम, भेटघाट र समारोहहरूमा मेरो आग्रह हुने गरेको छ– हामीले प्रकृतिलाई अझ सिंगारेर विकासका कार्यरू अगाडि बढाउनु पर्दछ । दैनन्दिनका क्रियाकलाप तथा सामाजिक व्यवहारका कार्यहरूमा वातावरणमैत्री सामग्रीको प्रयोगसहित वातावरणमैत्री विकास र जलवायु अनुकुलका कार्यबाट थप हरियाली प्रवद्र्धन गर्दै हामीले मानिस र प्रकृतिबीचमा निरन्तर सन्तुलन कायम राख्न सक्दछौँ ।

यस ब्रम्हापार्कको निर्माणलाई स्थानीय समुदायको पहलमा भएको एउटा यस्तै कार्य मान्न सकिन्छ र यसका लागि तपाईंहरू सबैलाई म हार्दिक बधाई दिन चाहन्छु । प्रतिमा निर्माण तथा पार्क निर्माणका लागि आवश्यक जग्गा तथा नगद चन्दा प्रदान गरी सहयोग गर्नुहुने दाताहरू धन्यवादका पात्र हुनुहुन्छ  ।

अन्तमा, यस पार्कको संरक्षण र विकासबाट काभ्रे जिल्लाका अन्य क्षेत्रमा पनि सामुदायिक भावनाको प्रवद्र्धनका लागि थप ऊर्जा मिल्ने विश्वास व्यक्त गर्दै तपाईंहरू सबैको सुख, शान्ति र उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

धन्यवाद ।

२०७९ पौष ३० गते, शनिबार ।

बनेपा–४‚ नाला‚ काभ्रेपलाञ्चोक