विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पदाधिकारीहरू‚
विद्यालयका प्रधानाध्यापक‚ शिक्षक एवं विद्यार्थी भाईबहिनीहरू‚
काठमाडौँ महानगरपालिकाका प्रमुख लगायत जनप्रतिनिधिहरू‚
राष्ट्रसेवकहरू,
सञ्चारकर्मीहरू,
भद्र महिला तथा सज्जनवृन्द ।
आजभन्दा करिब ६ दशकअघि स्थापना भई यस भेगका बालबालिकाहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बाँसबारी माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको सन्दर्भमा आयोजित यस कार्यक्रममा उपस्थित भएर तपाईँहरूसँग सात्क्षाकार गर्न पाउँदा मलाई खुसी लागेको छ । यस अवसरमा म विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, विद्यार्थी लगायत समस्त विद्यालय परिवारलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु ।
मुलुकको सर्वाङ्गीण विकासका लागि शिक्षालाई पूर्वाधारको पनि पूर्वाधारका रूपमा लिइने गरिएको छ । शिक्षाले हरेक नागरिकको व्यक्तित्व विकासमा योगदान गर्दै असल, योग्य, सक्षम, प्रतिस्पर्धी र उत्पादनमूलक जनशक्ति तयार गर्न मद्दत गर्दछ ।
यस विद्यालयले राष्ट्रलाई आवश्यक पर्ने शैक्षिक जनशक्ति उत्पादनमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दछु । साथै‚ आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने कार्यमा थप सफलता मिल्ने विश्वास व्यक्त गर्दछु ।
राष्ट्रको समृद्धि र विकासका निम्ति आवश्यक स्रोत र साधनहरूको पहिचान गरी तिनको दिगो उपयोग गर्न आवश्यक व्यवस्थापकीय क्षमताको विकास गर्नु नै हाम्रो शिक्षाको मूलभूत उद्देश्य हुनु पर्दछ । तसर्थ‚ हाम्रो मुलुकमा उपलब्ध प्राकृतिक स्रोत तथा सांस्कृतिक सम्पदाहरूमा आधारित उद्यमशिलता प्रवर्द्धन गर्नका लागि आवश्यक पर्ने दक्ष जनशक्ति विकास गर्नेतर्फ हाम्रा शैक्षिक गतिविधिहरू उन्मुख हुनु पर्दछ भन्ने मलाई लाग्दछ ।
विद्यालय तहको शिक्षालाई गुणस्तरीय बनाउन बालबालिकाको ठूलो हिस्सालाई शिक्षा प्रदान गर्दै आएका सामुदायिक विद्यालयहरूको भौतिक एवम् शैक्षिक पूर्वाधार विकासका निम्ति संघीय तथा प्रदेश सरकार र स्थानीय तहले यथेष्ट ध्यान दिन आवश्यक छ । साथै‚ गुणस्तरीय शिक्षाको खोजीमा विदेशिने युवा शक्तिलाई देशभित्रै प्राविधिक एवं व्यवहारिक शिक्षा प्रदान गरी हाम्रो जनशक्ति र पूँजीलाई राष्ट्रको सेवामा लगाउन सक्नु पर्दछ ।
सार्वजनिक शिक्षाको क्षेत्रमा राज्यद्वारा भइरहेको लगानीको अनुपातमा प्रतिफल हासिल गर्न सामुदायिक विद्यालयले गुणस्तरीय‚ जीवनोपयोगी र व्यवहारिक शिक्षा प्रदान गर्न सक्दछ भन्ने उदाहरण प्रस्तुत गर्नतर्फ यो विद्यालय अग्रसर रहनु पर्दछ । सामुदायिक विद्यालयको गुणस्तरमा सुधार ल्याउन अभिभावक, स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति, शिक्षक र विद्यार्थी सबैको सामुहिक प्रयास आवश्यक पर्दछ । विद्यालय व्यवस्थापन समिति, अभिभावक र प्रधानाध्यापकको समन्वयात्मक र सक्रिय सहभागिता हुन सकेमा मात्र पनि सामुदायिक विद्यालयमा प्रदान गरिने शिक्षामा गुणस्तर कायम गर्न सकिन्छ भन्ने मलाई लाग्दछ । यस सन्दर्भमा‚ यस बाँसबारी माध्यमिक विद्यालयलाई काठमाडौँ महानगरपालिकाले नमूना विद्यालयको रूपमा छनौट गरेको जानकारी पाउँदा मलाई खुसी लागेको छ ।
प्राचीन कालदेखि नै नेपालको एउटा परिचय ज्ञानभूमि र शान्तिभूमिका रूपमा स्थापित छ । हाम्रा वीर पुर्खाको ठूलो त्याग र बलिदानबाट मुलुकको एकता, सार्वभौमसत्ता र राष्ट्रियताको जगेर्ना हुँदै आएको इतिहासका बारेमा हामी सबै परिचित छौँ । हामीले आफ्नो त्यही महान् र गौरवपूर्ण इतिहासबाट शिक्षा लिँदै मुलुकको विकास र प्रगतिको यात्रालाई अगाडि बढाउनु पर्दछ ।
हाम्रा विद्यालयहरूले प्रदान गर्ने शिक्षा र सामाजिक चेतनामा राष्ट्र र राष्ट्रियता प्रतिको उच्चतम दायित्व बहन हुने छ भन्ने मैले अपेक्षा लिएको छु । राष्ट्रप्रेम र मुलुकप्रतिको अविचल निष्ठालाई जीवनको लक्ष्य बनाउने नागरिक तयार गर्न विद्यालय शिक्षाको अग्रणी भूमिका रहने विषयलाई म पुन: जोड दिन चाहन्छु ।
यस विद्यालयलाई स्थापनाकालदेखि हालको अवस्थासम्म ल्याइपुर्याउन आ–आफ्नो क्षेत्रबाट योगदान गर्ने विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू‚ प्रधानाध्यापक‚ शिक्षक वर्ग‚ अभिभावक तथा विद्यार्थीहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु । साथै, विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि सहयोग गर्ने विभिन्न संघ–संस्था एवं निकायहरूलाई पनि म धन्यवाद दिन चाहन्छु ।
अन्तमा‚ आज सम्मानित हुनुभएका विद्यालयका संस्थापक‚ अक्षयकोष दाता‚ पूर्व अध्यक्ष‚ पूर्व प्रधानाध्यापक‚ पूर्व निर्माण कमिटीका संयोजकहरूका साथै दीर्घ सेवा प्रमाण–पत्र प्राप्त गर्ने शिक्षक‚ कर्मचारी लगायत सबैमा हार्दिक बधाई दिन चाहन्छु ।
धन्यवाद ।
२०७९ मङ्सिर २७ गते मंगलबार ।
बाँसबारी‚ काठमाडौँ ।