सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल भाषा मंका खल यलद्वारा आयोजित ‘सत्यमोहन जोशी भाषा साहित्य पुरस्कार’ प्रदान गरिने कार्यक्रममा गर्नुभएको सम्बोधन

ललितपुर महानगरपालिकाका प्रमुख‚

नेपाल भाषा मंका खल यलका अध्यक्ष तथा पदाधिकारीहरू‚

स्वर्गीय सत्यमोहन जोशीका सुपुत्र‚

ललितपुर जिल्लाबाट स्थानीय तह‚ प्रदेशसभा र प्रतिनिधिसभामा नवनिर्वाचित जनप्रतिनिधिहरू

राष्ट्रसेवकहरू‚

सञ्चारकर्मीहरू‚

भद्र महिला तथा सज्जन वृन्द ।

नेपाल भाषा मंका खल यलद्वारा आयोजित ‘सत्यमोहन जोशी भाषा साहित्य पुरस्कार प्रदान कार्यक्रममा उपस्थित भएर नेवा संस्कृति‚ नेपालभाषा र साहित्यको क्षेत्रमा क्रियाशील विशिष्ट व्यक्तित्वहरूसँग सात्क्षाकार गर्ने अवसर पाउँदा मलाई खुसी लागेको छ । यहाँहरू सबैलाई राष्ट्रपति भवनमा म हार्दिक स्वागत गर्न चाहन्छु ।

वाङमय शताब्दी पुरुष डा. सत्यमोहन जोशीले नेपाली भाषा, साहित्य, कला र संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान गर्नुभएको छ । उहाँले आफ्नो १०३ वर्ष लामो जीवन नेपाली समाज र नेपाल राष्ट्रको उन्नयनको लागि अर्पण गर्नुभयो । जसका कारण उहाँ आफ्नो जीवनकालमै राज्य र जनस्तरबाट सर्वाधिक रूपमा मान–सम्मान प्राप्त गर्न सफल हुनुभयो ।

स्वर्गीय जोशीका योगदानलाई चिरस्थायी बनाउने उद्देश्यले नेपाल भाषा मंका खल यलले ‘सत्यमोहन जोशी भाषा साहित्य पुरस्कार’को स्थापना गरी नेपाल भाषा तथा साहित्यको क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई प्रदान गर्ने कामको थालनी गर्नु प्रशंसनीय कार्य हो ।

नेपालमा परापूर्वकालदेखि प्रचलित‚ नेवार समुदायको मातृभाषाको रूपमा रहेको नेपालभाषा एक समृद्ध एवं विशिष्ट भाषा हो । यसैगरी नेपालभाषाले प्रयोग गर्दैआएको रञ्जना लिपि पनि नेपालको एक मौलिक लिपिको रूपमा रहेको छ ।

नेपालको संविधानले नेपालमा बोलिने सम्पूर्ण मातृभाषाहरूलाई राष्ट्रभाषाको मान्यता प्रदान गरेको छ । तसर्थ नेपालका सबै जातजाति र समुदायले बोल्ने मातृभाषाका वाङ्मय हामी सबैको साझा सम्पदा हुन् । नेपालमा बोलिने हरेक मातृभाषाको संरक्षण र सम्बर्द्धनका लागि अवलम्बन गर्नुपर्ने उपायहरूको बारेमा नेपाल सरकार समक्ष सिफारिस गर्न भाषा आयोगको संवैधानिक व्यवस्था गरिएको छ । जसअनुसार भाषा आयोगले प्रदेश स्तरमा सरकारी कामकाजको भाषाको रूपमा प्रयोग गर्नका लागि मापदण्ड तय गरी विभिन्न ११ वटा भाषा सिफारिस समेत गरेको छ ।

विभिन्न समुदायले बोल्ने मातृभाषाको संरक्षण‚ संवर्द्धन र विकासका निम्ति सरकारी स्तरबाट गरिने प्रयत्न मात्र पर्याप्त हुदैन । यसका लागि सम्बन्धित समुदायको तर्फबाट गरिने पहल ज्यादै महत्वपूर्ण  रहन्छ । यस सन्दर्भमा‚ नेपालभाषाको संरक्षण‚ संवर्द्धन र विकासको लागि नेपाल भाषा मंका खलले खेल्दै आएको भूमिका प्रशंसनीय रहेको छ । ‘सत्यमोहन जोशी भाषा साहित्य पुरस्कार’ को स्थापनालाई यसैको एक महत्वपूर्ण कडीको रूपमा मैले लिएको छु ।

अन्तमा‚ सत्यमोहन जोशी भाषा साहित्य पुरस्कारबाट सम्मानित हुनु भएका व्यक्तित्व फणिन्द्र रत्न बज्राचार्यलाई म हार्दिक बधाई दिन चाहन्छु र उहाँको सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु । यसैगरी‚ पुरस्कार स्थापनामा महत्वपूर्ण योगदान गरेवापत सम्मानित हुनुहुने व्यक्तित्वहरू‚ नेपाल भाषा मंका खल यलद्वारा आयोजित खेलकुद प्रतियोगताका विजयी खेलाडीहरूलाई समेत म हार्दिक बधाई दिन चाहन्छु ।

धन्यवाद ।

२०७९ मङ्सिर २१ गते‚  बुधबार ।

राष्ट्रपति भवन‚ महाराजगञ्ज‚ काठमाडौँ ।