सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गुरुनानक जयन्तीको अवसरमा दिनुभएको शुभकामना सन्देश

गुरुनानक जयन्तीको शुभकामना सन्देश

सिख धर्मावलम्बीहरूको विशेष पर्व गुरुनानक जयन्तीको अवसरमा विश्वभर छरिएर रहनुभएका सम्पूर्ण सिख धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

हरेक वर्षको कार्तिक शुक्ल पूर्णिमाको दिन सिख धर्मावलम्बीहरूद्वारा आस्था र भक्तिभावका साथ सिख धर्मका प्रवर्तक तथा आदि गुरु गुरुनानकको जन्मजयन्ती मनाउने गरिन्छ । गुरुनानक एक समाज सुधारक धार्मिक गुरु हुनुहुन्थ्यो । उहाँले समाजमा विद्यमान जातीय एवं लैङ्गिक विभेदका साथै अन्धविश्वास र कुरीतिको विरूद्ध मानिसहरूलाई सचेत गराउने काम गर्नु भएको थियो । गुरुनानक जयन्तीको अवसरमा आयोजना गरिने विनाभेदभाव नि:शुल्क सामुहिक भोजन गर्न ‘लंगर परम्परा’ लाई यसैको एक कडीको रूपमा लिन सकिन्छ ।

गुरुनानकले समाजमा शान्ति, सद्‌भाव र लोककल्याणका लागि सबै धर्महरूका बिचमा सहिष्णुताका लागि गर्नुभएको मार्गदर्शनको परिपालना गर्न सकेमा सामाजिक तथा सांस्कृतिक विविधता बिच आपसी  सद्‍भाव कायम अभिवृद्धि भई राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउन सकिने विश्‍वास मैले लिएको छु ।

अन्तमा, समाजमा विद्यमान सबै प्रकारका विकृति‚ विसङ्गति एवं विभेदको अन्त्य गर्दै समतामूलक‚ सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन गुरुनानक जयन्तीबाट सबैलाई प्रेरणा मिल्नेछ भन्ने विश्‍वास लिएको छु ।

धन्यवाद ।

२०७९ साल कार्तिक २२ गते मंगलबार ।