सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले उपेक्षित उष्णप्रदेशीय रोग (एनटीडी) सबद्ध गैरसरकारी संस्थाहरूको अन्तर्राष्ट्रिय सञ्जाल तथा लेप्रोसी मिशन नेपालद्वारा आयोजित ‘उपेक्षित ट्रोपिकल रोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’मा गर्नुभएको सम्बोधन

माननीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री,

उपेक्षित उष्णप्रदेशीय रोग सम्बद्ध गैरसरकारी संस्थाहरूको अन्तर्राष्ट्रिय सञ्जाल तथा लेप्रोसी मिशन नेपालका पदाधिकारीहरू‚

सम्मेलनमा भाग लिन स्वदेश तथा विदेशबाट आउनुभएका प्रतिनिधिहरू‚

राष्ट्रसेवकहरू,

सञ्चारकर्मीहरू,
भद्र महिला तथा सज्जनवृन्द ।

उपेक्षित उष्णप्रदेशीय रोग (एनटीडी) सम्बद्ध गैरसरकारी संस्थाहरूको अन्तर्राष्ट्रिय सञ्जाल (एनएनएन) तथा लेप्रोसी मिशन नेपालद्वारा आयोजित ‘उपेक्षित उष्णप्रदेशीय रोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी भएर यस प्रकारका रोगहरूको रोकथाम, निदान, उपचार एवं अनुसन्धानमा संलग्न चिकित्सक, जनस्वास्थ्य विज्ञ, नीति निर्माता, अनुसन्धाता एवं अन्य सरोकारवालाहरूसँग सात्क्षात्कार गर्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ । सम्मेलनमा भाग लिन स्वदेश तथा विदेशबाट आउनु भएका सम्मेलनका सम्पूर्ण सहभागीहरूलाई  म हार्दिक स्वागत गर्दछु ।

यस महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्मेलनको आतिथेय राष्ट्रको रूपमा नेपाललाई रोज्नुभएकोमा आयोजकहरूलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । यो सम्मेलन उपेक्षित उष्णप्रदेशीय रोगहरूको निवारणको क्षेत्रमा हासिल भएका उपलब्धी तथा प्राप्त अनुभवको आदानप्रदान गर्दै यस सम्बन्धमा देखिएका साझा चुनौतीहरूलाई सामना गर्नका लागि आवश्यक उपायहरूको खोजी गर्ने कार्यमा सफल हुनेछ भन्ने मैले विश्‍वास लिएको छु ।

विश्‍व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा उपेक्षित उष्णप्रदेशीय रोगहरूको सूचीमा सूचिकृत कुष्टरोग, रेबिज, हात्तिपाइले, कालाजार, ट्रकोमा (खस्रे रोग) लगायतका रोगहरूको उन्मूलनका लागि नेपाल पनि लामो समयदेखि प्रयासरत रहेको छ । यसमा हामीले केही उल्लेखनीय सफलता समेत हासिल गरेका छौँ । उदाहरणका रूपमा, अन्धोपनको लागि एक प्रमुख कारकका रूपमा चिनिने आँखाको सरुवारोग ट्रकोमा (खस्रेरोग) उन्मूलन गर्न नेपाल सफल भएको छ । विश्‍व स्वास्थ्य संगठनले सन् २०१८ मा यसलाई प्रमाणीकरण समेत गरिसकेको छ ।  नेपाल विश्‍वभरिमा ट्रकोमा उन्मूलन गर्ने राष्ट्रहरूमध्ये छैठौँ र दक्षिणपूर्वी एसियामा पहिलो राष्ट्र बन्न सकेको कुरा तपाईँहरू समक्ष राख्न पाउँदा मलाई सन्तोष लागेको छ ।

यी सबै प्रयासहरू सफल हुनुका पछाडि नेपाल सरकारले अवलम्बन गरेका उपयुक्त जनस्वास्थ्यसम्बन्धी नीति, रणनीति‚ कार्यक्रम र एकीकृत अभियानका साथै तिनको कार्यान्वनका लागि आवश्यक स्रोत र साधनको समुचित परिचालन, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाका साथै दातृ निकायहरूसँगको निरन्तर सहकार्यको योगदान रहेको छ ।

उपेक्षित उष्ण प्रदेशीय रोगहरूको निवारणका क्षेत्रमा केही उपलब्धी हासिल भएतापनि हामीसामु अझै थुप्रै चुनौतिहरू विद्यमान छन् । कैयौँ नयाँ चुनौतिहरू समेत थपिएका छन् । कुनै समय नेपालमा नामै नसुनिएको डेँगु रोग हिजोआज देशव्यापी रूपमा फैलिएको छ । यस प्रकारका रोगको रोकथाम, निदान र उपचारका लागि आवश्यक पूर्वाधार, प्रविधि र दक्ष जनशक्तिको विकास र व्यवस्थापनमा सम्बद्ध निकायको म ध्यान आकर्षण गर्न चाहन्छु ।

उपेक्षित उष्णप्रदेशीय रोग निवारणका क्षेत्रमा हासिल भएका उपलब्धीहरूलाई निरन्तरता दिन र यस प्रकारका रोगहरूको रोकथामका लागि समुदाय स्तरमा जनचेतना अभिवृद्धि गर्न शैक्षिक क्षेत्र एवं सञ्चारकर्मीहरूसँग समेत सहकार्य गर्दै यसलाई स्वास्थ्य सेवासँगै एकिकृत गरिनु पर्दछ । यसरी नै स्थानीय तहका जनप्रतिनिधिहरू एवं स्वास्थ्यकर्मीहरूलाई थप सशक्तीकरण गर्दै सबै नेपालीहरूमा उपेक्षित उष्णप्रदेशीय रोगसम्बन्धी सेवाहरू पुर्‍याउने प्रयासमा आईपर्ने अवरोधहरूलाई हटाउन सकिन्छ भन्ने मलाई लाग्दछ ।

यस महत्वपूर्ण सम्मेलनमा सहभागिताको लागि निमन्त्रणाको लागि सम्मेलनका आयोजकहरू उपेक्षित उष्णप्रदेशीय रोग (एनटीडी) सम्बद्ध गैरसरकारी संस्थाहरूको अन्तर्राष्ट्रिय सञ्जाल (एनएनएन) तथा लेप्रोसी मिशन नेपाललाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

अन्तमा‚ सम्मेलनको पूर्ण सफलताको लागि शुभकामना दिँदै विभिन्न मुलुकहरूबाट सम्मेलनमा सहभागी हुन नेपाल आउनु भएका विदेशी पाहुनाहरूको काठमाडौँ बसाई सुखमय रहोस् भन्ने पनि कामना गर्दछु ।

धन्यवाद ।

२०७९ साल भाद्र २८ गते मङ्गलबार ।

होटल याक एण्ड यति, काठमाडौँ, नेपाल ।