सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले कृष्णकुमार पाण्डेद्वारा लिखित ऐतिहासिक उपन्यास ‘डिभाइन ह्यान्ड्स्: अरनिको मोर देन अ गेष्ट अफ एन्सिएन्ट चाइना’ कृति समर्पण   समारोहमा गर्नु भएको सम्बोधन

आज सार्वजनिक भएको कृतिका लेखक श्री कृष्णकुमार पाण्डे,

ललितपुर महानगरका मेयर श्री चिरीबाबु महर्जन,

नेपाली सेनाका प्रधान सेनापति‚

राष्ट्रसेवकहरू‚

उपस्थित भद्र महिला तथा सज्जनवृन्द !

सर्वप्रथम राष्ट्रपति कार्यालयमा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछु ।

आज हामीले एउटा महत्वपूर्ण ऐतिहासिक तथा साहित्यिक कृति प्राप्त गरेका छौं । विविध विषयका आठवटा पुस्तकहरू अङ्ग्रेजी र नेपाली भाषामा प्रकाशन गरिसक्नुभएका लेखक कृष्णकुमार पाण्डेले राष्ट्रिय विभूति कलाकार अरनिकोलाई केन्द्रमा राखेर अङ्ग्रेजी भाषाका पाठकहरूसमक्ष नयाँ कृति प्रस्तुत गर्नुभएकोमा म लेखकलाई हार्दिक बधाई दिन चाहन्छु ।

यस ऐतिहासिक उपन्यासको माध्यमबाट ७०० वर्ष अघि तिब्बतको शाक्य गुम्बाभित्र अरनिकोद्वारा निर्मित स्वर्णिम चैत्य तथा चीनमा त्यसबखत तातु भनेर चिनिने हालको बेइजिङ सहरमा निर्मित श्वेत चैत्यबारे पाठकहरूलाई विस्तृत जानकारी प्राप्त हुनेछ भन्ने मलाई लागेको छ ।

इतिहासको एउटा युगलाई जीवन्त रूपले स्मरण गराउने श्वेत चैत्य आज पनि नेपाल र चीन बिच मित्रताको प्रतीक बनेर उभिएको छ । हाम्रो नजिकको छिमेकी मित्रराष्ट्रसँग सांस्कृतिक सम्बन्ध स्थापित र विस्तार गर्न कला क्षेत्रले खेलेको भूमिका ऐतिहासिक हुनुका साथै उच्च सम्मानयोग्य रहेको पनि यसबाट पुष्टि हुन्छ । नेपाल-चीन सम्बन्धको ऐतिहासिक धरोहर मानेर श्वेत चैत्यको संरक्षण गर्न चिनियाँ प्रधानमन्त्री चाउ एन लाईले आफैं अग्रसरता लिनुभएको स्मरण गर्दै उहाँको योगदानको समेत यस अवसरमा सराहना गर्दछु ।

चीनको राजधानी बेइजिङमा निर्मित श्वेत चैत्य ललितपुरका यलयबाबुले निर्माण गरेको हुनाले यो कृति उनकै वरपर केन्द्रित बन्नु स्वाभाविक हो । तत्कालीन चिनियाँ भाषामा पाहुनालाई आदरपूर्वक ‘अनिक’ भन्ने गरेको कारण पाटनका यलयबाबु नै ‘अरहनिको’ नामले चिनिएको विषय लेखकले आफ्नो अनुसन्धानबाट प्रष्ट्याउनु भएको छ । कला र संस्कृतिको जीवन्त सङ्ग्रहालयका रूपमा परिचित पाटन सहर हाम्रो सांस्कृतिक सामर्थ्य र पहिचानको सहरका रूपमा रहेको पनि यस कृतिबाट थप  स्पष्ट हुन आउँछ । यसकारण, आज सार्वजनिक भएको पुस्तक महान कलाकार अरनिको र ऐतिहासिक सहर पाटन दुवैप्रति समर्पित छ भन्ने मलाई लाग्दछ । अरनिको र पाटन सहरको सांस्कृतिक महत्वलाई उजागर गर्ने जिम्मेवारी हामी सबैको हो ।  यसमा पनि ललितपुर महानगरको काँधमा विशेष जिम्मेवारी रहेको छ ।  यस पुस्तकको भूमिका लेख्ने महानगरका वर्तमान प्रमुख चिरिबाबु महर्जनले महानगर कार्यालय परिसरमा सालिक निर्माण गरी अरनिकोको स्मृतिलाई अमर बनाउन खेल्नुभएको भूमिकाको समेत सराहना गर्दछु ।

मन्जुश्री, बुद्धभद्र र भृकुटीले न्यानो बनाएको नेपाल र चीन बिचको मित्रता तथा बौद्ध दर्शनको विस्तारलाई नेपाली धर्तीपुत्र अरनिकोले थप उज्यालो तुल्याएको तथ्यलाई समेत नेपालबारे जानकारी राख्न चाहने विदेशी पाठकहरूका लागि लेखकले उजागर गर्नु भएको छ भन्ने मेरो विश्वास छ ।

साहित्य साधना एउटा कठोर तपस्या जस्तै हो भने उपन्यास साहित्यको एक लोकप्रिय विधा हो ।  ऐतिहासिक सत्य तथ्यलाई उपन्यासमा परिणत गरी पठनीय बनाउने काम सहज अवश्य पनि होइन । लामो अन्वेषण र विश्लेषणबाट प्राप्त तथ्यलाई पात्रहरूका माध्यमबाट रोचक सामग्री तयार गर्ने काम एक गम्भीर र सिर्जनशील रचनाकारबाट मात्र सम्भव छ । आफ्नो कृतिलाई जीवन्त बनाउन उपन्यासका रचनाकार सफल हुनु भएकोमा म बधाई दिन चाहन्छु ।

लेखक पाण्डेले यो रचना तयार गर्ने सिलसिलामा बौद्ध धर्म र दर्शनको गहिरो अध्ययन अनुसन्धानका साथै बेइजिङ स्थित श्वेत चैत्यको स्थलगत अध्ययन भ्रमण समेत गर्नुभएको जानकारी पाउँदा मलाई खुसी लागेको छ । अरनिको जस्ता महान विभूतिका बारेमा आफ्नो मुलुक नेपालले भने सात सय वर्षपछि वि.सं. २०२८ सालमा मात्र थाहा पाउनुले हाम्रो इतिहास अध्ययन, अन्वेषण र खोजलाई तीब्र बनाउनु पर्ने सन्देश समेत यस कृतिले दिएको छ । नेपालमा अरनिकोको चिनारीलाई फैलाउने आदरणीय संस्कृतिविद् सत्यमोहन जोशीप्रति यस अवसरमा विशेष आभार व्यक्त गर्दछु । प्रस्तुत पुस्तकका लेखक पाण्डेलाई सत्यमोहन जोशीबाटै प्रेरणा मिलेको थाहा पाउँदा मलाई अझ ठूलो प्रसन्नताको अनुभूति  भएको छ ।

अन्त्यमा, देशको गौरव बढाउने नेपालको कला, कृति, धर्म दर्शन र सभ्यतालाई उजागर गर्ने तथा मित्रराष्ट्रहरूसँगको ऐतिहासिक सम्बन्ध विकसित गर्ने जस्ता विषयमा नयाँ-नयाँ कृतिहरू रचना गर्न  लेखकलाई थप सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु र यस्तो महत्वपूर्ण कृतिका प्रकाशकलाई समेत हार्दिक धन्यवाद दिन चाहन्छु ।

धन्यवाद ।

२०७९ साल साउन २९ गते आइतबार ।

राष्ट्रपति भवन, महाराजगञ्ज, काठमाडौँ ।